मुस्ताङ : रोमाञ्चक र रहस्यमयी !

हजारौं वर्ष पहिलेको मान्छेको इतिहास कहीं देख्न सकिन्छ भने त्यो माथिल्लो मुस्ताङमै हो । भीर–पाखामा आदिमानव बसोबास गर्ने गुफाका दृश्य मुस्ताङमा नौला होइनन् ।

कार्तिक १५, २०८२

कुमार पौडेल

Mustang: Exciting and mysterious!

हिमालहरू सिर्फ हिउँले ढाकिएका चिसा पहाड मात्रै हुन् । त्यसलाई जीवन्त बनाउँछ त त्यहाँ वरपरका वनस्पति, जनावर, जनजीवन, संस्कृति र यसप्रतिको भावनाले ।

हिमालपारिको निर्जन मरुभूमितुल्य ठाउँ पनि कसरी त्यति धेरै जीवन्त हुन सक्छ भन्ने उदाहरण हो— मुस्ताङ ।

संसारका जोकोही, सके जत्ति नजिकबाट हिमाल हेर्न भुतुक्कै हुन्छन् । मेलवादेवीको गीतको एक अंश ‘झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै’ भनेझैं हिमाल धेरै टाढा भएकाले मात्रै सबैको प्रिय भएको भने होइन ।

धवलागिरि र अन्नपूर्णबीचको निकै गहिरो कालीगण्डकीको खोच काटेर हिमालपारि पुगेपछि दक्षिणतिर देखिने हिउँका डाँडाहरूमा भने खासै कसैको ध्यान जाँदैन ।

तर, हिमालको लहर नाघेर मुस्ताङ पुग्दा अगाडि देखिने होचा, नाङ्गा तर रहस्यमय लाग्ने रंगीन पहाडहरूमा हामीलाई उत्सुक बनाउने अनेकथोक छ । नबनाउन् पनि कसरी ! हिमालयपारि तिब्बती पठारको मरुभूमिजस्ता लाग्ने भू–परिधि नेपालमा अन्यत्र खासै देख्न पाइँदैन । नेपालको सुदूरउत्तर पश्चिमी क्षेत्रमा मात्रै यस किसिमको भौगोलिक बनावट छ ।

Mustang: Exciting and mysterious!

जोमसोम मुस्ताङको मुख्य प्रवेशद्वार नै हो । यहाँ पुगेपछि बल्ल मुस्ताङ पुगेको भान हुन्छ । तलतिर खोचमा लुकेको कालीगण्डकी हेर्दै बाटो काटेकाहरूलाई सोही नदीको माथितिर भने आँखाले नभ्याउने ठाउँसम्म पुग्ने गरी फैलिएका बगरले यस नदीको विशालता सम्झाइरहन्छन् । जोमसोम पुगेपछि सात हजार मिटर हाराहारीका अग्ला तिलिचो र नीलगिरि हिमालहरू दक्षिणतिर देखिन्छन् । नदेखिए पनि आठ हजार मिटरमाथिका अन्नपूर्ण र धवलागिरि हिमशृंखलाहरू सबै दक्षिणतिर नै पर्छन् ।

जोमसोमबाट कागबेनीसम्म हिँडेर ३ देखि ४ घण्टामा पुग्न सकिन्छ । अचेल मोटरबाटो राम्रो भएकाले धेरैजसो मानिस गाडीमै जाने गर्छन् । तर, त्यो बाटोमा नहिँड्दा मुस्ताङको एउटा अभूतपूर्व अनुभव मिल्दैन । दक्षिणतिर नजिकै देखिने हिमाल हेर्दै गर्दा बेलाबेला उडाउला जस्तो हावामा उचालिँदै बगरबाट उडाएर ल्याउने बालुवा मिसिएको धूलो छल्न आँखा चिम्सो पारेर मध्याह्नमा हिँड्नुको बेग्लै मज्जा छ । नेपालीहरूको जिब्रोमै झुन्डिएको नेपथ्य ब्यान्डको ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर..’ भन्ने गीतको हरफ लेखक रक्षा गुरुङले पक्कै यही ठाउँ कतै पुग्दा लेखेको हुनुपर्छ ।

कागबेनी हिन्दु धर्मावलम्बीहरूका लागि आफ्ना पुर्खाहरू सम्झेर पूजा अर्चना गर्ने पवित्र ठाउँ हो । कागबेनी पुगेपछि दुई बाटो आउँछन् । पूर्वतिर उकालो लागे मुक्तिनाथ पुगिन्छ । मुक्तिनाथ हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि धार्मिक स्थलका रूपमा परिचित छ भने पदयात्रीका लागि थोराङ ला हुँदै मनाङ पुग्ने मार्गका रूपमा । तिलिचो र मनाङ हुँदै मुस्ताङ फर्कन यही बाटो धेरैले प्रयोग गर्छन् ।

Mustang: Exciting and mysterious!

तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङको यकिन सीमा नभए पनि कागबेनी कटेपछि माथिल्लो मुस्ताङ सुरु भएको मानिन्छ । कागबेनीबाट कालीगण्डकीको तीरैतीर उत्तरतिर लागे माथिल्लो मुस्ताङ पुगिन्छ । हिँडेर पाँच दिन लाग्ने बाटो अहिले एकै दिनमा मोटरबाटो हुँदै पुग्न सकिन्छ । कागबेनीबाट ताङ्बे गाउँ हुँदै छुसाङ पुगेर उकालो बाटो सुरु हुन्छ । यो बाटोमा जीवाशेष भएको चट्टान धेरै भेटिन्छ, जसलाई शालिग्राम पनि भन्ने गरिन्छ । कालो चिल्लो गोलाकार ढुंगाबीच रेखा छन् भने त्यसभित्र जीवाश्म हुने सम्भावना हुन्छ ।

ती जीवाश्मले करोडौं वर्ष त्यहाँका हावापानी सहेका हुन्छन् । कति पुराना हुन् भन्ने त्यसभित्र कुन प्रजातिको अवशेष हो भन्नेमा भर पर्छ । सामुद्रिक प्राणीको अवशेष धेरै भेटिनुले त्यस क्षेत्रबाट हजारौं किलोमिटर टाढा पर्ने समुद्र र हिमालपारि तिब्बती पठारको कुनै समयकालको सम्बन्धबारे सोचमग्न बनाउँछ ।

छुसाङ पुगेर खोलापारि फर्केर हेर्दा कुनै कलाकारले बनाएको सुन्दर चित्रझैं लाग्ने सुनौलो भीर छ । अझ बिहानको घाम त्यहाँ पर्दा लाग्छ, त्यो सुनकै रास हो । छुसाङमा एक रात बास बसेर बिहानै त्यस भीर हेर्न छुटाउँदा धेरै कुरा छुट्छ । अझ भेडाको बथानले उडाएको धूलो कालीगण्डकीको किनारको हावामा बिस्तारै विलय नहुन्जेल आँखा पनि झिम्किन मान्दैन ।

छुसाङबाट कालीगण्डकी तरेर लोमान्थाङ उकालो लागेपछि चैले भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट दक्षिणतिर फर्केर हेर्दा तल पिँधमा घ्याकर गाउँबीच लहरै नापेरै रोपिएजस्ता काँडे बुट्यानका थुम्काले भरिएको पहाड र माथिल्लो भागमा सेता हिमालका पंक्तिहरू देखिन्छन् । ती सबै एकै ठाउँबाट यो यात्रामा विरलै देखिन्छ ।

Mustang: Exciting and mysterious!

समुद्री सतहबाट ३,००० मिटरभन्दा माथि उचाइमा वर्षको अधिक समय चिसो हुन्छ । खेतीपाती खासै हुँदैन । त्यो विषम मौसमी अवस्थामा पनि वर्षा सकिएर शरद ऋतुका बेला पुग्ने यात्रीले फापर बारीमा फूलले रौनकता छाएको देख्न पाउँछन् । चिसो ठाउँ भए पनि धेरै बादल नलाग्ने र पारिलो घाम भएकाले उवा, फापर र कतै कतै आलु खेती गर्न यो क्षेत्रमा सम्भव भएको हो । माथिल्लो मुस्ताङ पुगेर तलतिर हेर्दै मुस्ताङलाई कुनै आकृतिमा सम्झने हो भने लाग्छ— हिमालको शिर भएको स्याउघारीको शरीरमा, फापर बारीको बर्को ओडेको, खच्चरका बलिया गोडामा उभिएको कुनै पात्र हो मुस्ताङ ।

चैलेको डाँडादेखि लोमान्थाङसम्मको यात्रामा देखिने उजाड मरुभूमिझैं लाग्ने होचा डाँडा र गेगरको बगर आइरहन्छ । खोलाबिनाको बगर घिसिपिटी गर्दै तर्नु पनि एक नौलो अनुभव हो । नाङ्गा पहाडबीच अलिअलि पानी रसाएर स–साना पोखरी बनेका हुन्छन् । तिनै पोखरीको आसपासमा काँडे बुट्यान पनि खुसीले हलक्क परेको देखिन्छ । त्यस किसिमको ठाउँ त्यहाँका वन्यजन्तुको पानी र आहारका लागि निक्कै फलदायी हुन्छ । केही समय कुरेर बस्ने हो भने पोखरी वरिपरि नाउरको बथान वा हिमाली मार्मोटसमेत देख्न सकिन्छ । नाउर जंगली भेडाको एक प्रजाति र हिउँचितुवाको मुख्य आहार हो । फ्याउमुसो भनिने हिमाली मार्मोट हेर्दा ठूलो मुसो जस्तो देखिन्छ । समूहमा बस्ने ती साना सुन्दर जनावर जमिनमा लुकामारी गरेको दृश्य अलौकिक हुन्छ ।

त्यस क्षेत्रका अधिकांश घरका ढोकामा भोटे खरायोको टाउको झुन्ड्याएको देख्न सकिन्छ । ती ढोकामा टाँसिएका खरायोलाई स्थानीय भाषामा भोरुङ भनिन्छ । खरायोले बाघ, मुसा, गधालगायत विभिन्न नौ जनावरको प्रतिनिधित्व गर्ने र घरको सुरक्षा गर्ने विश्वासले ढोकामा टाँस्ने गरेको स्थानीयहरू बताउँछन् । चराङबाट थोरै अगाडि पुगेपछि कालीगण्डकीको किनार छोडेर लोमान्थाङको बाटो उत्तरतिर लाग्छ । तिब्बतबाट समेत आउने, लोमान्थाङ हुँदै बहने नदीमा धी गाउँनेर पूर्वतिरबाट आउने कालीगण्डकी मिसिएपछि नदीको नाम कालीगण्डकी बन्छ ।

अन्य क्षेत्रमा ४,००० मिटरको उचाइसम्म पुग्ने रुख–बुट्यानले पनि मुस्ताङलाई धेरै तलै छाडेको छ । वर्षा गराउने बादल हिमाल तरेर पारिसम्म पुग्न नसक्ने हुनाले ज्यादै कम मात्रा पानी पर्ने यस क्षेत्रमा रुखहरू त्यति हुर्कन सक्दैनन् । भोटे पीपल प्रजातिको रुखले भने यो कठिनताका बाबजुद माथिल्लो मुस्ताङमा अलिकति भए पनि हरियाली थपेको छ । थोरै पानीमा हुर्कन सक्ने यी रुख स्थानीय बासिन्दाका लागि वरदान नै हो । घरायसी प्रयोजनमा यही रुख प्रयोग हुन्छ । वसन्त ऋतुका बेला पात पहेंलो हुने हुनाले त्यस बखत त्यहाँ पुग्ने पर्यटक देख्छन्— भोटे पीपलका रुखहरूले रङ भरेको मुस्ताङ ।

आँखैअघि हजारौं वर्ष पहिलेको मान्छेको इतिहास कहीं देख्न सकिन्छ भने त्यो माथिल्लो मुस्ताङमै हो । वरपरका भीर–पाखामा आदिमानव बसोबास गर्ने गुफाका दृश्य मुस्ताङमा नौलो होइन । विभिन्न अध्ययन अनुसन्धानहरूले २,५०० वर्षभन्दा पुरानो मानव कंकाल यसै क्षेत्रमा फेला पारेको प्रमाणित छ । के कारण हजारौं वर्ष पहिले पनि मान्छेले त्यस कठिन ठाउँमा बसोबास गर्ने निर्णय गरे ? यो प्रश्नको उत्तर स्पष्ट छैन । पहाडभित्रै खोपिएका दरबार जति धेरै हेर्‍यो उत्ति रहस्यमय लाग्छ । लोमान्थाङबाट पैदलै केही घण्टामा छोसेर पुगेर ती गुफा छिर्नु मुस्ताङ नपुग्नुसरह हो ।

Mustang: Exciting and mysterious!

पछिल्ला केही सय वर्षमा आइपुग्दा, भारत–नेपाल–चीनको व्यापारिक नाकाका रूपमा मुस्ताङको बाटो प्रयोग हुन थालेपछि भने वरपरका धेरै राज्यले मुस्ताङ क्षेत्र आफ्नो नियन्त्रणमा राख्न प्रयत्न गरेको थाहा हुन्छ । लोमान्थाङ माथिल्लो मुस्ताङको केन्द्र हो । इतिहास भन्छ– यस क्षेत्र हजारौं वर्ष छुट्टै राज्यका रूपमा थियो । त्यो समय विश्वका अधिकांश ठाउँमा स–साना राज्यहरू हुने गर्थे । त्यो कठिन भूगोलमा उभिएको लोमान्थाङले पनि कहिले हिमालवारिका त कहिले हिमालपारिका तिब्बती राज्यसँगको लडाइँ, अधीन र स्वतन्त्रता सबैको अनुभव गरेको तथ्यहरू छन् । वरपरका डाँडाहरूमा रहेका जीर्ण गढी, तत्कालीन राजाको दरबार भएको गाउँ नै घेरिएको अग्ला पर्खालहरूले चुपचाप लोमान्थाङको असुरक्षित इतिहासबीचको प्रयास झल्काउँछ ।

झट्ट हेर्दा नाङ्गा मरुभूमिझैं लाग्ने माथिल्लो मुस्ताङ जति नियालेर हेर्‍यो उति भरिपूर्ण छ । मोटर चढेर कोराला नाकासम्म पुग्दा देखिने नौलो उजाड पहाडभन्दा वास्तविक मुस्ताङ भिन्न छ । सम्भव भए जोमसोमबाट पैदलै कोराला पुगे त्यो भरिपूर्ण मुस्ताङ महसुस गर्न सकिन्छ । कुनै एक प्रसंगमा आइन्स्टाइनले भनेका थिए– रहस्यमय हुनु नै सबै वास्तविक कला र विज्ञानको स्रोत हो र यो नै सबैभन्दा सुन्दर चिज हो, जसलाई हामी अनुभव गर्न सक्छौं । मुस्ताङ त्यस्तै नेपालको एक रहस्यमय ठाउँ हो, जहाँका सबै कथा गहिराइमा नबुझे पनि धेरैले अनुभव गर्न सक्छन् ।

कुमार लेखक वातावरण संरक्षण अनुसन्धानदाता हुन् ।

Link copied successfully