मर्स्याङ्दी वारिपारि सल्ला, धुपी, काँडेजुही, भोजपत्रका बाक्ला रूखहरूको रजगज छ । त्योभन्दा मास्तिरको अन्नपूर्ण, गंगापूर्ण हुँदै नीलगिरिसम्मका लस्करे सेताम्य हिमालहरूले यात्रीहरूलाई आँखा झिमिक्क पार्नसमेत दिँदैन ।
मनाङ मसँग बोल्थ्यो, उसका मुसुक्क हाँस्ने हिमालहरू, नदीहरू अनि चिसो हावामार्फत । मलाई झन्डै एक दशकसम्म उसको आवाजले अविरल पछ्याइरह्यो । मनाङका ती पग्लिँदा हिउँ र शान्त रातहरू मेरो स्मृतिमा तरोताजा रहिरहे । दोस्रो पटक मनाङलाई फन्को मारेर काठमाडौं फर्केको दुई दिनपछि नै पिसाङ (३,२५० मिटर) भन्दा मास्तिर बाक्लो हिमपात सुरु भएको छ । सयौं पर्यटकलाई उद्धार नै गर्नुपरेको छ ।
केही समयअघि मात्रै हुम्डेमा स्थापना भएको सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा आएसँगै हिमपातमा परेका नागरिकहरूको उद्धारमा सहजता आएको छ । असोज–कात्तिक हिमाली जिल्ला घुम्ने उपयुक्त सिजन हुँदाहुँदै पनि जलवायु परिवर्तनको असरले होला, मौसमको धीरता देखिँदैन ।
मनाङको यात्रा मुग्लिङ (४०० मिटर) देखि नै थालनी हुन्छ, १७५ किलोमिटर लामो मर्स्याङ्दी नदीलाई पछ्याउँदै पाँच हजार मिटरमाथिको मुहानसम्म । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारबाट उत्तर लागेर भन्सार हुँदै पाउँदी पुगेपछि लमजुङ जिल्ला सुरु हुन्छ र बेसीसहर पुगिन्छ । करिब ४० किलोमिटरको यस दूरीमा मर्स्याङ्दी वारिपारि तनहुँ र गोरखाका खेतीयोग्य विशाल फाँटहरू उत्तर–दक्षिण लतमन्न पसारिएका छन् ।
बेसीसहरदेखि माथिल्लो मनाङसम्मको करिब सय किलोमिटरको अक्करे यात्रा छिचोल्न कुनै बेला निकै सकस थियो । एक दशकअघिसम्म पनि मनाङ पुग्नु आफैंमा एउटा साहसिक कार्य थियो । नाम मात्रको कच्ची बाटो र खोला तर्ने बेगन्ती कठिनाइहरूलाई धेरै हदसम्म सडक विस्तारले मोटरसाइकल र जिपहरूलाई राहत दिएको छ । यात्राको साहसिक पाटो घटे पनि सहजता भने बढेको छ । यस पटकको दसैं–तिहार बिदामा हूलका हूल सवारी देख्दा यसै अनुमान लगाउन सकिन्थ्यो ।
एक दशकअघि मैले बेसीसहरदेखि बोलेरो जिपको पछिल्लो भागमा उभिएरै जगत्, धारापानी हुँदै मध्यरातमा तिमाङसम्म निकै सकसपूर्ण यात्रा गरेको थिएँ । लमजुङ र मनाङको सिमानामा पर्ने म्यार्दी खोला पार गरेपछि करिब डेढ किलोमिटर लामो सिंगो विशाल चट्टानलाई खोपेर बनाइएको बाटोले जोकसैलाई त्रसित बनाउँछ । त्यो अक्करे भीर तुरेपछि मर्स्याङ्दी पारिको सानो र सुन्दर तालगाउँ बाटोबाटै सर्लक्कै स्क्यान गर्न सकिन्छ । लमजुङ हिमालको फेदीमा थपक्क बसेको खेतीयोग्य तिमाङ गाउँ (२,७५० मिटर) मा तल्लो भेगीय गुरुङ जातिको वर्चस्व छ । मनास्लु हिमाल दृश्यावलोकनका लागि यो उपयुक्त स्थान हो ।
मनाङको सदरमुकाम चामे (२,६७० मिटर) भने साँघुरो खोंचमा छ । छुट्किलो चामे बजार छिचोलेर मर्स्याङ्दीको पुल तरी पश्चिमोत्तर लाग्दै गर्दा भ्राताङको फाँटमा स्याउको विशाल बगान भेटिन्छ । बाटोको दुवैतर्फ स–सानो बोटमै पनि छपक्कै स्याउ फलेको देखिन्छ । मनाङ एग्रोको स्याउ बगान र वाइन उत्पादनले पर्यटकहरूलाई प्रत्यक्ष बोटबाटै टिपेर चाख्न उत्प्रेरित पार्छ । यस्तै प्रकारको पेय पर्यटनको भ्रमण मैले पाँच वर्ष पहिले जर्जियामा गरेको थिएँ, जहाँ बर्सेनि लाखौं पर्यटकले अंगुरका डुंगुर फार्म र वाइनको व्यापक उत्पादनलाई प्रत्यक्ष नियाल्न र सित्तैमा चाख्न पाइने अनुभव लिन पाउँछन् ।
यस स्याउ बगान रंगशाला स्वरूपको एउटा भीमकाय चिल्लो चट्टानको जगमा जोडिएको छ । स्थानीयहरू यस पहरालाई स्वर्ग जाने दुष्कर बाटो वा स्वर्गद्वारी पनि भन्ठान्छन् । घुमाउरो गरी चट्टान पार गरेपछि नपत्याउने गरी मनाङ अर्थात् न्येसाङ उपत्यका प्रवेश गरिन्छ । पुछारको पिसाङदेखि माथिल्लो मनाङको पूर्व–पश्चिम करिब २० किलोमिटर फैलावट फाँटको सरदर उचाइ ३,५०० मिटर रहेको छ । उच्च पर्वत श्रेणीको पठार भएर पनि हिमालको छेउछाउसम्म हरियाली रहनु मनाङको विशेषता हो । तिब्बतको तेन्गरबाट बसाइँ सरेर आएको र मनाङ्वा हुँदै मनाङे भएको वृत्तान्त हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा लेखेका छन् ।
पुर्ख्यौली पेसा नै व्यापार रहेकाले मनाङेहरू तिब्बततिर कम र दक्षिणतिर बढी विस्तार भएको इतिहास छ । अर्को आम्दानीको स्रोत भनेको कृषि कर्ममा जौ, फापर, आलु र पशुपालनमा चौंरी, भेडा, घोडा र च्याङ्ग्राका बथानहरू हुन् । नेपालभरिमै कम जनसंख्या र कम उब्जनी मनाङको अर्को पहिचान हो । माथिल्लो मनाङ क्षेत्र विशेषगरी तिब्बती बौद्ध धर्मसँग सम्बन्धित संस्कृति, वास्तुकला र परम्पराबाट प्रभावित छ भने सदरमुकाम चामेभन्दा मुन्तिर बौद्ध–हिन्दु मिश्रित गुरुङ समुदायको बाहुल्य देखिन्छ ।
कुनै बेलाको अनकन्टार र कठिन मार्ग रहेको मनाङ दिन–प्रतिदिन सहज बन्दै गर्दा आन्तरिक पर्यटकको चाप बढेको देखिन्छ । तर, विदेशी पदयात्रीहरू धुले सडकमै मुख छोपेर हिँड्नुपर्ने बाध्यता रहेको देख्दा मन रमाउँदैन । यसलाई सम्बन्धित निकायले ध्यान दिएको देखिँदैन । अधिकांश होटलले पहिलेको कठिन परिस्थितिमा जस्तै हिजोआज पनि पाहुनाहरूलाई उस्तै रकम असुलेको गुनासो सुन्नु पर्दा नयाँ पर्यटकहरूमा राम्रो सन्देश गएको पाइन्न । जतिबेला बेसीसहरदेखि घोडा र खच्चरमा लामो समय लगाएर अतिआवश्यक सामानको ढुवानी गरिन्थ्यो, त्यो आजको अवस्था पक्कै होइन ।
असली मनाङको स्वरूप देखिने भनेकै पुनः मर्स्याङ्दीको पुल तरेर पिसाङको जंगल र घुमाउने उकालो काटेपछि हो । मर्स्याङ्दीको वारिपारि सल्ला, धुपी, काँडेजुही, भोजपत्र लगायतका बाक्लो हरियो रुखहरूको रजगज छ । त्योभन्दा मास्तिरको अन्नपूर्ण, गंगापूर्ण हुँदै नीलगिरिसम्मका लस्करे सेताम्य हिमालहरूले यात्रीहरूलाई आँखा झिमिक्क पार्नसमेत दिँदैन । हिमाल र हरियाली, नदी र बस्ती । यस्तो सुन्दर संयोजनको नमुना संसारमा विरलै भेटिन्छ ।
मनाङमा हिजोआज तालतलैयाहरूको संरक्षण भएको रहेछ । तर, संरक्षणका नाममा कृत्रिमता झल्किनु प्राकृतिक सौन्दर्यमाथिको मानव दोहन हो । मर्स्याङ्दीपारिको पिसाङमा रहेको ग्रिन लेक सानो भए पनि सुन्दर र शान्त लाग्छ । तर, तालको आडैमा खुलेका होटल र कंक्रिटका भौतिक संरचनाहरूले प्रकृतिप्रेमीहरूको मनमा सन्तुष्टि दिँदैन ।
हुम्डे गाउँ र जहाजबिनाको विमानस्थल कटेपछि ढलानमार्ग नजिकै भेटिने ब्लु लेकको कथा बेग्लै छ । समथर भूभागमा जमिन र पानीको सतह धान खेतमा आली लगाएर बारिएको जस्तै लाग्छ । गोलाकार र तालबाहिर चारैतिर चौर भएकाले मानिसहरू सवारीसाधनले फन्को मारिरहेका देखिन्छन् । कतिपय पर्यटक त पौडिरहेको पनि देखियो । लाग्छ, यो कुनै तारे होटलको स्विमिङ पुल हो । ताल/तलाउ संरक्षण गर्ने निकायको उपस्थिति कतै नदेखिनु विचारणीय छ ।
करिब पाँच मिनेटको सवारीपश्चात् पुनः मर्स्याङ्दीलाई फन्को मारी टाँकिलो गाउँ मुङ्जी भेटिन्छ । बाटो छेउछाउमै भएकाले यहाँ पर्यटकहरूको चहलपहल नहुने कुरै भएन । तर, यहाँबाट ब्राका गाउँ र मुख्य मनाङ बजार नजिकै रहेकाले अधिकांश पर्यटक धेरैबेर रोकिँदैनन् । हिजोआज यसैको आडबाट उत्तरी डाँडो उक्लने नयाँ कच्ची मोटरमार्ग खुलेको छ । यसको शिरैमा छ, प्राचीन शेर गुम्बा, जहाँ आनीहरू तीन वर्ष, तीन महिना, तीन हप्ता बिना–बोली छाम बस्ने परम्परा छ । त्यसैले पनि शान्त लाग्छ गुम्बा मुन्तिरको मुङ्जी ।
असाध्यै उच्चस्थान, घुमाउरो र चट्टानयुक्त बाटोमा सवारी हाँक्न त्यति सहज छैन । त्यसैले अधिकांश यात्रु ब्राका र मनाङबाटै कम्मर कसेर पैताला नाप्दा रहेछन् । मैले भने जोखिम मोलेरै मोटरसाइकललाई सवारी बनाएँ । करिब ६ किलोमिटरको कठिन कच्ची सडक उक्लेपछि अचानक बाटो टुंगिन्छ । विकटतामा विकल्प भनेको पैदल नै हो । एकोहोरो उकालो, त्यो पनि चार हजार मिटरभन्दा माथिको । सामुन्नेको दक्षिणतिरबाट सेताम्मे अन्नपूर्ण तेस्रोले साथ दिन छोड्दैन, खर्कमा नपुगुन्जेल । अन्नपूर्णको कम्मरमा एकाध मसिना छ्योर्तेन र लुङ्दर देखिन्छन् । स्थानीय कर्मा भाइका अनुसार त्यहाँभित्र प्रसिद्ध मिलारेपा गुफा रहेको छ ।
डेढ–दुई घण्टाको पैदल प्रयासपछि सानो तलाउ भेटिन्छ । तलाउको कञ्चन पानीमा अन्नपूर्णको प्रतिच्छाया र चौतर्फी हिमालहरू । सानो पाटन र चरिरहेका ठेह (नाउर) का बथानहरू । त्यो कल्पनाभन्दा बाहिरको अत्यन्तै विहङ्गम परिदृश्य हो ।
वरैबाट करिब दुई सय मिटरजति माथिल्लो ढिस्कोमा टल्किएको देखिन्छ, सेतो र्छ्योतेन । त्यसको फेदैमा मौन र स्निग्ध रहेको छ, सुन्दर खिचो हिमताल (४,६२० मिटर) । जसलाई खैरेहरूले नाम दिए, आइस लेक । नभए त रारा, फेवा, गोसाइँकुण्ड र पाँचपोखरी जस्तै रैथाने नाम पो पाउने थियो कि ! यो ताल मनाङको शिर हो । त्यसैको मुन्तिरबाट दैनिक सयौं यात्रुको लस्कर लम्किरहँदासमेत नजिकै रहेको सुन्दर तालमा नजर नपर्नु सायद सुन्दरताको जगेर्नाकै लागि हो । गुनासो रत्तिभर छैन, मायालाग्दो खिचो तालको ।
मर्स्याङ्दी फाँटको उत्तरतर्फ मुङ्जी, ब्राका र मनाङ (३,५१९ मिटर) तीन भाइ लस्करै मिलेर बसेका देखिन्छन् । धर्म र संस्कृति एकै भए पनि यी तीनै पुराना बस्तीहरूका आ–आफ्नै पहिचान र अस्तित्व छन् । ब्राकाको पखेरापट्टि रहेको (स्थानीयका अनुसार नौ सय वर्ष पुरानो) काग्यु गुम्बाले पदयात्रीलाई केहीबेर कोरल्न बाध्य बनाउँछ । अप्ठ्यारो भूगोल, जटिल संरचना र धार्मिक वास्तुकलाले यस गुम्बाको महत्त्व उच्च छ ।
कहिले फुक्ने र कहिले सुक्ने गंगापूर्ण हिमतालको स्वरूप खिचोको खर्कदेखि छर्लङ्ग देखिन्छ । मनाङ बजारबाट ओर्लेर मर्स्याङ्दी तर्नासाथ फटाक पुगिन्छ, यो ताल । हिजोआज ताल छेउसम्मै मोटरमार्गको पहुँच र ढलाने बाँधले एक दशकअघिको जस्तो सुन्दरता देखिएन । यस्ता खाले भौतिक संरचनाको चापले भोलि आँखाअघिको नीलो गंगापूर्ण ताल अनि मास्तिर मुस्कुराइरहेको गंगापूर्ण हिमालको अस्तित्व नमेटिएला भन्न सकिँदैन ।
एउटा खुला संग्रहालयजस्तो लाग्छ माथ्लो मनाङ । आदिमता बोकेका ढुंगेगल्लीहरू छन्, गाउँभरि । गाउँभित्र छिर्ने अग्लो काठेद्वार अनि ढुंगा र काठबाट बनेका घरहरू । ठाउँठाउँमा मानेहरूको लस्कर । मनाङका बारेमा यथेष्ट व्याख्या गरेकी छन्, लेखक कुमारी लामाले पछिल्लो निबन्ध–किताब ‘दर्ज्यु संलाप’ मा । हुन पनि त्यस्तै लाग्छ, झुरुप्प परेका बस्तीहरूभित्रको संसार नियाल्दा । यसो भन्दैमा आधुनिकताको झल्को दिने होटल, रेस्टुरेन्ट लगायतको सुविधा नभएको पनि होइन मनाङमा । आदिमताका अगाडि कृत्रिमता फगत एक पर्दा न हो ।
मनाङभन्दा पर खोलापारि डाँडाको टुप्पामा रहेको निकै पुरानो मानिने भोजो गुम्बा (३,६५० मिटर) को आफ्नै महत्त्व रहेछ, बौद्ध धर्मावलम्बीहरूमाझ । त्यसलाई नियाल्दै हालसालै बनेको फराकिलो मोटरबाटो समाउँदा सिधै खाङसार पुगिन्छ भने मनाङको पश्चिमोत्तरको बाटोमाथि सानो गाउँ टाँकी छ, जहाँबाट थोरुङ ला (५,४१६ मिटर) पार गरी मुस्ताङपट्टिको दामोदर हिमालको काख हुँदै मुक्तिनाथ भएर कागबेनी झर्न सकिन्छ । मुक्तिनाथ पुग्न मैले ३५ वर्षअघि पोखराको फेदीदेखि ६ दिन खर्चेको थिएँ । हिजोआज भने मोटरबाटोबाट एकै दिनमा पुग्न सकिन्छ ।
टाँकी गाउँ नउक्ली ओरालो लागेर मर्स्याङ्दी र जार्गेङ खोलाको दोभानछेउ भएर पुनः उकालो लागेपछि सहजै खाङसार (३,७६० मिटर) पुगिन्छ । यो नै हालसम्मका लागि मनाङ मोटरबाटोको अन्तिम बिन्दु हो । मर्स्याङ्दीको मुहान भेट्न भने अझै १९ किलोमिटर उत्तरतिर उक्लनुपर्छ । करिब ५० घरधुरी रहेको खाङसारबाटै सुरु हुन्छ, तिलिचो तालसम्मको पदमार्ग ।
हुन त माथिल्लो पिसाङदेखि घना जंगलको बाटो श्रीखर्क भएर तिलिचो बेस क्याम्प पुग्न पनि सकिन्छ । तर्पायाँ उकालोले मेसो समाएसँगै हरिया बुट्यानहरूले साथ छोड्न थाल्छ भने चट्टानहरूको साम्राज्य सुरु हुन्छ । कठिन मानिने २२ घुम्ती र भिराला पखेराहरूको स्वरूप निकै परका डाँडाहरूदेखि सुन्दर स्केचझैं देखिए पनि खुइले चट्टानहरूमा पाइला चाल्नु निकै चुनौतीपूर्ण हुन्छ । सीमित मात्रामा रहेका होटलका कारण तिलिचो आधार शिविर (४,१५० मिटर) मा सुविधाजनक बसाइ नहुन सक्छ । त्यसैले पदयात्रीहरूले सीमितता र साझेदारीमा चित्त बुझाउनुपर्छ । खाङसारदेखि तिलिचो आधार शिविरसम्मको पदमार्गलाई अत्यन्तै जोखिमयुक्त मानिन्छ ।
विश्वमै अग्लो स्थानमा रहेको तिलिचो हिमताल (४,९१९ मिटर) प्राकृतिक सौन्दर्यका कारण पनि प्रसिद्ध छ, जहाँ पुगेपछि कष्टकर यात्राका सारा क्षणहरू तालको नीलो पानीभित्रै समाहित बन्न पुग्छ । यो स्थल पर्यटकका लागि हृदयपर्शी र तीर्थयात्रीका लागि पवित्र स्थान हो । यस तालको चाखलाग्दो विषय भनेको हिमताल भएर पनि नीलो रहनु अनि पानीको मुहान र निकास नदेखिनु हो । तिलिचोका मिथकीय किंवदन्तीहरू तिब्बती धर्मसँग सम्बन्धित रहेकाले तिलिचोलाई खासगरी तिब्बती बौद्ध धर्मावलम्बीबीच निकै महत्त्वले हेरिन्छ ।
हिजोआज विदेशी पर्यटकहरूका साथमा आन्तरिक पदयात्रीहरूको चाप बढ्नु सकारात्मक भए पनि यस क्षेत्रको पर्यावरणीय संरक्षणमा समेत ध्यान दिनु जरुरी देखिन्छ । चकलेट, चाउचाउ, बिस्कुटका खोलहरू बाटोभरि यत्रतत्र छरिनु त्यति शोभनीय लाग्दैन । तालको डिलैमा फलामे बारहरू लगाउनाले तिलिचो तालको सौन्दर्यलाई बढाएजस्तो लाग्दैन ।
आखिर गन्तव्यको पारदर्शिताले नै त यात्रुलाई मोहित पार्ने हो । मनाङ, हिउँले ढाकिएका पहाड र शान्तभूमि टाढा भए पनि यसको अनुभव अनन्तसम्म मनमा गुन्जिरहनेछ ।
