वार्षिक ३० हजारदेखि ५५ हजार स्वदेशी–विदेशी पर्यटक पुग्छन्— खुम्बुमा । पर्यटकका लागि साहस, संस्कृति, प्रकृति र सपनाको संगम हो– खुम्बु ।
सामान्य ज्ञानमा ‘सगरमाथा’ केवल ‘विश्वको सर्वोच्च शिखर’ हो । तर कवि, सिनेमा लेखक, घुमन्ते, पदयात्री र आरोहीका आँखामा सगरमाथाको भौगोलिक उचाइ मिटरमा मापन गरिएको ‘हाइट’ भन्दा हजारौं गुणा अग्लो छ ।
खुम्बु क्षेत्रमा सगरमाथासँगै उभिएका ल्होत्से, नुप्से, चोयु, अमादब्लम, पुमरी, थाम्सेर्कु आदि हिमचुचुराका छाया, तिनका आधारशिविरबाट दक्षिणतिर बग्ने हरेक हिमनदीको संगीत, हरेक हिमाली गाउँ, सयौं वर्ष पुराना गुम्बा र वन्यजन्तुका कथा संसारकै उत्कृष्ट विश्वविद्यालयझैं अमूल्य छन् ।
१६ जेठ, २०१० सालमा तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारीले गरेको पहिलो सफल सगरमाथा आरोहणपछि यो विश्वकै अग्लो हिमचुचुरो मात्रै रहेन । यसलाई कतै तेस्रो ध्रुव भनियो, कतै संसारकै छानोको उपमा । साहस, संस्कृति, प्रकृति र मानव सपनाको अद्भुत संगम बनेर यसले एक शताब्दीयता हजारौं मानिसलाई आकर्षित गरिरहेको बताउँछन् १८ पटक सगरमाथा आरोहण गरिसकेका चर्चित आरोही तेन्डी शेर्पा । इन्टरनेसनल माउन्टेन गाइडसमेत रहेका मकालुका तेन्डी शेर्पा, सगरमाथाभन्दा होचा अनि अग्ला थुम्का चढ्ने संसारभरका अर्बौं मानिसको अन्तिम सपना सगरमाथा भएको बताउँछन् । संयुक्त राष्ट्रसंघअन्तर्गतका १ सय ९३ राष्ट्र अनि यी राष्ट्रमा बसोबास गर्ने ८ अर्ब मानिसका लागि सगरमाथा चुचुरो नेपाल र तिब्बततर्फबाट खुला छ ।
लाखौं मानिस यसको चुचुरोमा पाइला राखेर इतिहास लेख्न लालायित हुन्छन् । हरेक वर्ष हजारभन्दा धेरै मानिस सगमारथा आरोहण गर्न आधारशिविर पुग्छन् । तीमध्ये केही सयले मात्रै चुचुरोमा पुगेर साहसको कथा लेखाउँछन् । सगरमाथामा उक्लिँदा होस् वा ओर्लिंदा, हरेक कदम जीवन र मृत्युको दशगजामा राख्नुपर्छ । त्यसैले हरेक वर्षका आरोहण सिजनमा कोही न कोही सगरमाथामै अन्त्य हुन्छन् । अर्थात् यसको यात्रा मृत्युको नजिक भएर हुन्छ । जसरी एक शताब्दीअघि सगरमाथा शिखरमा पहिलो पटक पुग्ने प्रयास गर्दागर्दै ब्रिटिस पर्वतारोही जर्ज म्यालोरी र स्यान्डी भनिने प्रतिभाशाली इन्जिनियर एन्ड्रयु इरभाइन हराए ।
काठमाडौंमा हालै भएको जेन–जी आन्दोलनमा जसरी दैलेखका प्रकाश बोहराको जुत्ता आइकोनिक बन्यो, त्यसैगरी पर्वतारोहीको एक टोलीले सगरमाथाको उत्तरी मोहडामा सुरक्षित एक बुट फेला पार्यो । नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एडमन्ड हिलारीभन्दा अघि नै पहिलो सगरमाथा आरोहण भएको हुन सक्ने भन्दै अनुसन्धानमा लागिरहेका वैज्ञानिक र अन्वेषकका लागि तिब्बततर्फ फेला परेको त्यो बुट रहस्यमयी भइदिएको छ । नेसनल जियोग्राफिकको डकुमेन्ट्री बनाइरहेको टोलीले फेला पारेको त्यो बुटबारे ‘न्युयोर्क टाइम्स’ का पत्रकार ह्यांक स्यान्डर्सले गत वर्ष ‘एभरेस्टमा फेला परेको बुटले रहस्य सुल्झाउन सक्छ’ भनेर प्रिन्ट संस्करणमा एउटा सनसनीपूर्ण समाचार लेखेका छन् ।
विक्रम संवत् १९७८/१९७९ ताका तिब्बती मोहडाबाट संसारकै सबैभन्दा अग्लो पर्वतमा उक्लिने प्रयास गर्दा म्यालोरी र स्यान्डीको आरोहण दलले सफलता हात पारेन । उनीहरू चुचुरो पुगेको ठोस प्रमाण आजसम्म भेटिएको छैन । म्यालोरीले सगरमाथा आरोहण गर्न सकिने रहेछ भन्ने सन्देश दिएको २९ वर्षपछि दक्षिणतर्फको नेपाली मोहडाबाट ब्रिटिस सगरमाथा आरोहण दलका सदस्यहरू तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले १६ जेठ २०१० (अंग्रेजी वर्ष १९५३ मे २९) का दिन सगरमाथाको शिखरमा पाइला टेके । यो सगरमाथा आरोहणका लागि मानिसहरूले गरेको आठौं पटकको प्रयास थियो ।
तेन्जिङ र हिलारीले सगरमाथाको शिखरमा पाइला टेकेको त्यो क्षण त्यसताका केवल दुई आरोहीको मात्रै विजय थिएन । सारा मानव सभ्यताको इतिहासमै सुनौला अक्षरले अंकित हुने महान् क्षण बनेको थियो । दोस्रो विश्वयुद्धको विनाशपछि संसार निराशा र अस्थिरताबाट गुज्रिरहेका बेला हिलारी र शेर्पाले सारा मानिसहरूमा आशा, साहस र पुनर्जागरणको नयाँ ऊर्जा थपेका थिए ।
त्यसताका ‘मान्छेले सगरमाथा जित्यो’ शैलीका शीर्षकहरूले संसारभरका अखबारका पहिलो पृष्ठ कब्जा भए । विश्वकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको समाचारले विश्वलाई उत्साहले भरिदियो । उक्त आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पा (जो भर्खरै बिते) ले केही वर्षअघि ‘कान्तिपुर’ सँग गरेको कुराकानीमा भनेका थिए, ‘हिलारी र तेन्जिङको सफलता राष्ट्रिय गर्वको प्रतीक बनेको थियो । तेन्जिङ नोर्गे शेर्पाको नामले पहिलो पटक शेर्पा समुदायलाई विश्वमञ्चमा चिनाएको थियो ।’
प्रारम्भिक सर्वेक्षण काल हुँदै तेन्जिङ–हिलारीदेखि आज कामीरिता शेर्पाको समयसम्म डेढ शताब्दी लामो यात्रा पार गरेर आइपुग्दा सगरमाथाको इतिहास असाधारण मानव साहसको कथा भएर उभिएको छ । पर्यटन विभागका अनुसार, सगरमाथासँग नेपाली जोडिएको १९७८ सालको सर्भेदेखि नै हो । त्यो पहिलो सर्वेक्षण अभियानमा कर्नेल चार्ल्स केनेथ होवार्डको नेतृत्वको आरोहण अभियानमा नेपाली सर्वेक्षक लालवीर थापा साथै थिए । २०३२ जेठमा जापानी आरोही जुनको ताबेई सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेपछि हिमचुचुरा तथा पर्वतले लिंगभेद गर्दैनन् भन्ने अर्को समानताको सन्देश पनि सगरमाथाबाटै संसारभर फैलियो ।
२०५० वैशाख १० गते चौंरीखर्ककी पासाङ ल्हामु शेर्पाले सगरमाथा चुचुरोमा पाइला राखेपछि नेपाली भान्साको चौघेराभित्र सीमित पारिएका नेपाली महिलाका लागि पर्यटनका साथै अन्य अवसरका ढोका खुला भएको बताउँछिन ल्हाक्पा शेर्पा, जो अहिले संसारभरका महिलालाई ‘एनिमाउन्टेन’ नामको संस्थामार्फत हिमाल पुग्न प्रेरित गर्दै आइरहेकी छन् । सगरमाथासम्बन्धी अनलाइनहरूका अनुसार, हालसम्म करिब ७ हजार मानिसले कम्तीमा १२ हजार पटक सगरमाथा आरोहण गरेर विभिन्न रेकर्ड बनाइसकेका छन् । सफल आरोहणसँगै झन्डै ३ सय पर्वतारोहीले आरोहणका क्रममा ज्यान गुमाइसकेका छन् । विश्वभर ८ हजार मिटरभन्दा उचाइका १४ वटा हिमालमध्ये सगरमाथा आरोहण वा अवलोकन गर्न आधारशिविरसम्मको पदयात्राका लागि सर्वाधिक लोकप्रिय सूचीमा पर्छ ।
यी र यस्तै कथाले मानिसलाई सगरमाथाको फेद वा चुचुरोसम्म डोर्याउँदै आइरहेको बताउँछन् खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा । उनका अनुसार, खुम्बु क्षेत्रमा रहेका अरू पर्यटकीय गन्तव्यमध्ये पर्यटकका लागि सबैभन्दा बढी सगरमाथा आरोहण अनि आधारशिविरसम्मको पदयात्रा पर्छ । खुम्बु क्षेत्रमा वार्षिक ३० हजारदेखि ५५ हजार स्वदेशी–विदेशी पर्यटक पुग्ने गरेको सरकारी तथ्यांक छ । ‘आर्थिक वर्ष ०८०/८१ मा खुम्बु क्षेत्रमा नेपाली र विदेशी गरेर ५५ हजार ७ सय ६७ पर्यटक आएका थिए । तीमध्ये अधिकांश सगरमाथा आधारशिविरसम्मको पदयात्रा गर्न आएका थिए,’ अध्यक्ष शेर्पाले भने । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार, सर्वाधिक पर्यटक हिउँदयाम असोज, कात्तिक र मंसिर र वसन्तकालीनयाम फागुन, चैत र वैशाखमा पुग्छन् ।
गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार, खुम्बु क्षेत्र वरिपरि रहेका शिखरहरू अनि खुम्बु आइसफल पर्यटकमाझ विश्वप्रसिद्ध छ, जो हिमालयका रमणीय दृश्य अवलोकन गर्छन् । यस क्षेत्रका मुख्य बस्तीहरूमा खरिखोला, लुक्ला, फाक्दिनु मञ्जो, नाम्चेबजार, खुम्जुङ, खुन्डे, तेङबोचे, फोर्चे, पाङबोचे, फेरिचे, डिङबोचे, थामे, गोक्यो, लोबुचे, गोरक्षेप आदि पर्छन् । यी गाउँ पुग्ने प्रवेशद्वार हो लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थल । लुक्ला पुग्न काठमाडौं र रामेछापबाट दैनिक उडान हुन्छन् । यो रुटमा एकतर्फी हवाई भाडा काठमाडौं–लुक्लाको १० हजार ५ सय पर्छ । लुक्लादेखि माथि पहिलो गाउँ फाक्डिङ दूधकोशीको किनारमा छ । यसपछि सगरमाथा निकुञ्जको प्रवेशद्वार मोञ्जो, अनि नाम्चेबजार पदमार्गमा पर्छन् ।
सगरमाथा आधारशिविरसम्मको पदयात्राको समय ११ रात १२ दिनको हुने बताउँछन् पदयात्रा सम्बन्धित छाता संगठन टानका अध्यक्ष सागर पाण्डे । उनका अनुसार, एक्लो जाँदा प्रतिदिन ३ हजार रुपैयाँ खर्च भए पुग्छ भने समूहमा जाँदा थोरै सस्तो पर्छ । ‘नेपालीले एक दिनको न्यूनतम २ हजारदेखि ४ हजार रुपैयाँ खर्च गर्दा सगमाराथा आधारशिविरसम्मको पदयात्रा गर्न सकिन्छ ।’ उनी पदयात्रामा जानेलाई दर्ता भएको टुर कम्पनीबाट अनिवार्य गाइड र बिमा गरेर जान सुझाउँछन् । यसो गर्दा पदयात्रामा भैपरी आउने चुनौती सामना गर्न र उद्धार गराउन सजिलो हुने बताउँछन् ।
निकुञ्जको तथ्यांकअनुसार, यस क्षेत्रमा १६ सय १९ घरपरिवार छन्, जहाँ ७ हजार ७ सय ४५ जना बसोबास गर्छन् । खुम्बु क्षेत्रमा प्रमुख जाति शेर्पा र प्रमुख धर्म बौद्ध हो । यस क्षेत्रमा खुम्बु, इम्जा, न्गोजुम्पा र नाङपा हिमनदी छन् । पर्यटकहरूले पदमार्गमा हिमचितुवा, कस्तुरी, मृग, रेडपाण्डा, ३७ स्तनधारी जीव तथा डाँफे, मुनाल, कालिजलगायत २ सय बढी चरा अवलोकन गर्न सक्छन् ।
खुम्बु क्षेत्र केवल सगरमाथा शिखरले होइन, पर्यटकका लागि साहस, संस्कृति, प्रकृति र सपनाको संगम पनि बन्दै आएको छ । यहाँका हरेक गाउँ, हिमाली ट्रेल, यात्राले भ्रमणमा जाने पर्यटकका लागि नयाँ कथा लेखिदिन्छ । तीनका पाइलाले इतिहास बनाउँछ । सगरमाथामा पुग्ने जोकोहीको साधारण यात्रा असाधारण साहसको कथा हुने गर्छ । त्यसैले होला यस पटक काठमाडौंको जेन–जी आन्दोलनको दाँजोमा पहिलो सगरमाथा आरोहणका अन्तिम पात्र कान्छा शेर्पाको निधनको समाचार संसारैभरका सञ्चारमाध्यमले छापेका थिए । किनकि सगरमाथा अर्थात् एभरेस्ट न्युजमेकर डेस्टिनेसन पनि हो ।
यसको महत्त्व बढाउन तेन्जिङ नोर्गे शेर्पा, एडमन्ड हिलारी, ब्रिटिस पर्वतारोही जर्ज म्यालोरी र एन्ड्रयु इरभाइनको ठूलो देन छ । त्यसैले होला, नेपालमा उड्ने हेलिकोप्टरले अधिकाशं चार्टर उडान सगरमाथा क्षेत्रमै गर्दै आएका छन् । निकुञ्जको रेकर्डअनुसार, अघिल्लो वर्ष नेपालका १० वटा हेलिकोप्टर कम्पनीले ५४ सय ८५ वटा उडान खुम्बु क्षेत्रमै गरेका थिए ।
