कञ्चनजंघा आधारशिविर जाने पर्यटकको संख्या बर्सेनि बढिरहेको छ । पूर्वाधार बन्दै छन्, पुराना गोठ होटलमा रूपान्तरण हुँदै छन्, अरू होटल पनि थपिँदै छन्, तर परम्परागत गाउँले जनजीवन बिथोलिएको छैन ।
घुन्सा खोलाको आवाजमा चराचुरुङ्गीका स्वर थपिन थालेपछि झ्याल खोलेर बाहिर हेरें । सिरेटोले गालामा हान्यो, पातहरू शीतले लतक्कै थिए । धेरै पर घामले पहाडको छाया परेको देखियो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सेकाथुम भन्ने ठाउँसम्म गाडीले छाडिदिएपछि अग्लो पहाडको खोचमा रहेको इटहरीटारमा बास बिसाएका थियौं । अब हिँड्नु थियो ।
अलैंची बगान, अनेकन बोटबिरुवा भएको जंगल तथा भिरालो ठाउँ हुँदै हामी हिँड्यौं । घुन्सा खोला पछ्याउँदै कञ्चनजंघा हिमालको उत्तरी बेसक्याम्प पुग्नु थियो । फिँज काढ्दै ससाना खोल्सी र झरना घुन्सा खोलामा मिसिएका थिए । लामाटारछेउमै अग्लो डाँडाबाट झरिरहेको झरना आकर्षक देखिन्थ्यो ।
बाटामा डोकामा भारी बोकेका अनिल राई भेटिए । भारी बिसाएर उनले पसिना पुछ्दै गर्दा हामीले पनि गफ मिसायौं । कञ्चनजंघा पदमार्गनजिकै घर भएका उनले यस रुटमा भारी बोकेको केही वर्ष भएको रहेछ । ‘यो त घुन्साका होटलवालाको भारी हो । प्रतिकेजी १ सय ५० दिन्छन् । ग्रुप (विदेशीको समूह) पाउँदा त राम्रै हुन्छ,’ उनले सुनाए, ‘भोलि बेलुका घुन्सा पुगिन्छ । बल भइन्जेल त होला नि सर भारी बोक्ने ?’
अम्जेलिसाको उकालो चढ्नुअघि फेदीको ‘टी–हाउस’ मा थकाइ मार्यौं । यस यात्राकै कठिन उकालो हो अम्जेलिसा । बाटामा होटल, लज र टी–हाउस भेटिन्छन् । गाउँमा मान्छे काम गर्दै थिए । कोही रक्सी पारिरहेका, कोही घाँस काट्दै गरेका देख्यौं । कोही मकै छोडाउँदै थिए । विदेशीले यी गतिविधि निकै चाख मानेर हेर्दा रहेछन् । बाटामा खाना खान, बस्न समस्या थिएन । कञ्चनजंघा संरक्षण परिषद्का अनुसार उत्तर र दक्षिण बेसक्याम्प क्षेत्रमा १ सय ७० भन्दा बढी होटल, लज र टी–हाउस छन् ।
ठ्याङ्गाम हुँदै २७३० मिटरको उचाइमा रहेको ग्याब्ला पुग्दा साँझ परेको थियो । हाम्रो बास त्यहीं हुने भयो । ग्याब्लाका पर्यटन व्यवसायी छवाङ शेर्पा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष पनि हुन् । अरू हिमाली क्षेत्रको तुलनामा कञ्चनजंघामा कम पर्यटक आउने गरेको उनले सुनाए । घुम्न आउनेका लागि सुविधा थपिँदै गएको पनि उनले जानकारी दिए । ‘हिमाली जनजीवन र भूगोलमा रमाउन हाम्रो ठाउँ विशेष छ तर अरू क्षेत्रमा जस्तो धेरै पर्यटक यहाँ आइपुगेका छैनन् । पर्यटकलाई आकर्षित गर्न हामी प्रयासरत छौं । यहाँको प्रकृति, जनजीवन र हिमाली क्षेत्र धेरैका लागि नयाँ छ,’ उनले भने, ‘भद्रपुर एयरपोर्ट अलि टाढा भयो । सुकेटार विमानस्थलमा नियमित उडान छैन । राजधानीदेखि टाढा छौं ।’
शेर्पाले भनेझैं कञ्चनजंघा बेसक्याम्प यात्राका क्रममा पर्यटक कमै भेटिन्छन् । गाउँले जनजीवन भने बिथोलिएको छैन । ग्याब्लाबाट हामी फलेतिर लाग्यौं । ढुंगैढुंगाले बनेको प्राकृतिक गेटले हामीलाई फलेमा स्वागत गर्यो । यहाँ ढोका पनि छ । चौंरीलगायतका पशु बाहिर ननिस्किऊन् र बाहिरका वन्यजन्तु नपसुन् भनेर गेट बनाइएको हो । खोंचको बाटो भएर फराकिलो चौरतिर निस्किँदै गर्दा चौंरीहरू चरिरहेका थिए । यहाँ विगतमा आलु खेती गरिन्थ्यो । तर अहिले धेरै जमिन बाँझै छ । फलेमा सानो बस्ती छ । घरहरू चिटिक्क परेका छन् ।
हामी घुन्सातिर लम्कियौं । घुन्सा हिमाली क्षेत्रको सुन्दर गाउँ हो । अग्ला–अग्ला पहाडमुनि उपत्यका जस्तो ठाउँमा बस्ती छ । यहाँ होटल र घरहरू छन् । यहाँ पुगेपछि फोन टिप्छ । बिजुलीको सुविधा पनि छ । विद्यालय, स्वास्थ्य केन्द्र र प्रहरी चौकी छ । घुन्साबाट सेलेले पास गरेर दक्षिणी बेसक्याम्प पनि जान सकिन्छ । त्यस दिनको हाम्रो बास घुन्सामै भयो ।
हिउँदमा बस्ने ठाउँलाई घुन्सा भनिएको स्थानीय हिमाली चुङ्दाले सुनाए । ‘पहिले हाम्रो खास बस्ने ठाउँ खम्बाचेन थियो । लोनकसम्मै गोठ थिए । हिउँदमा यहाँ आएर बस्ने गरिन्थ्यो । यहाँ आलु र तिते फापर खेती हुन्थ्यो,’ उनले भने, ‘अहिले यो कञ्चनजंघा क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय बस्ती बनेको छ ।’
यहाँ होटल, लज थपिँदै छन् । ‘घुम्न आउने नेपालीको संख्या बढ्दै गएको छ, यो औधी खुसीको कुरा हो,’ युवा व्यवसायी तेन्जिङ नुर्पुले खुसी साटे । कुसाङ (देउताका लागि बालिएको धूप) को सुगन्ध लिँदै बाहिर निस्किँदा हिउँ छरिएको डाँडा घामको प्रकाशले टलक्क टल्किएको देखियो । यस क्षेत्रमा टासी छोलिङ गुम्बा छ । यो निकै पुरानो मानिन्छ ।
खम्बाचेन पुगेपछि नजिकै कुम्भकर्ण हिमाल देखियो । लिम्बूहरूले फक्ताङलुङ भनेर यसलाई श्रद्धा गर्छन् । फक्ताङलुङको बेसक्याम्पमा बर्सेनि ठूलो संख्यामा तीर्थयात्री पुग्छन् । यस हिमाललाई अंग्रेजीमा जान्नु भनिन्छ । खम्बाचेनबाट फक्ताङलुङ हिमालको पूजापाठ गर्ने ठाउँसम्म पुगेर फर्कन सकिन्छ । कतिपय तीर्थयात्री माथि नै बस्छन् । यस हिमालको उचाइ ७ हजार ७ सय १० मिटर छ । मुन्धुममा वर्णित भएकाले यो हिमाल महत्त्वपूर्ण भएको अध्येता अर्जुनबाबु माबोहाङ बताउँछन् । खम्बाचेनमा हामीले रात बितायौं । भोलिपल्ट बिहान याक, चौंरीको चहलपहलले ब्युँझियौं । बाहिर निस्किँदा हिमालकै काखमा याक, चौंरी खोला तर्दै गरेको दृश्य देखियो । यहाँका गोठहरू होटलमा रूपान्तरण भएका छन् । यसमाथिका पुराना गोठ पनि होटलमा रूपान्तरण भएको खम्बाचेनका ग्याल्बु शेर्पाले बताए ।
हामी बेसक्याम्पतिर लम्कँदै गयौं । हिउँ भरिएका डाँडाहरू नजिक–नजिक देखिँदै थिए । एक ठाउँ पुगेपछि निकै टाढा बुद्धको जस्तो आकृति देखियो । साथी श्री थुलुङलाई सुनाएँ । उनले पनि त्यस्तै देखेका रहेछन् । केही घण्टा हिँडेपछि चट्टानको आकृति देखियो । हुन त यो शान्तिभूमि थियो, पूर्ण प्राकृतिक । सायद हिउँसँग नोकझोक, मायाप्रेमले यो आकृति बनेको होला ।
पाइला चाल्दै–चाल्दै फराकिलो चौरजस्तो लोनाक पुग्यौं । यहाँका होटल भरिभराउ थिए । ती होटलमा धेरै विदेशी थिए । वरिपरि हिमालले घेरिएको उपत्यका रहेछ । यहाँ नयाँ ताल बनेको रहेछ । व्यवसायी तेन्जिङ शेरापका अनुसार अहिले ताल भएको ठाउँमा पहिले चौंरी वारपार गर्थे ।
लोनाकमा बास बसेर अर्कोतिर बेसक्याम्प ताकेर हिँड्दै गर्दा बाटामा लस्करै नाउर चर्दै थिए । नाउरका लागि यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ । कञ्चनजंघा बेसक्याम्प क्षेत्रमा हिमचितुवा पनि पाइन्छ । विश्व वन्यजन्तु कोषका अनुसार नेपालको हिमालय क्षेत्रमा ३ सय ९७ हिमचितुवा रहेको अनुमान छ । तीमध्ये १३ वटा कञ्चनजंघा क्षेत्रमा रहेको अनुमान छ ।
जोरक्युस्थित ‘टी–हाउस’ की डिकी शेर्पाले हामीलाई चिया, सुप खाँदै बिस्तारै हिँड्न सुझाव दिएकी थिइन् । उनको सुझावलाई इमानदारपूर्वक पालना गर्दै हामी अघि बढ्यौं । ५ हजार १ सय ४२ मिटर उचाइमा रहेको कञ्चनजंघाको उत्तरी बेसक्याम्प पाङपे पुग्यौं ।
विश्वको तेश्रो अग्लो (८,५८६ मिटर) हिमाल कञ्चनजंघा आँखा अगाडि थियो । हिमालको दृश्य छेक्ने धर्सो पनि थिएन, आँखा र सिधै हिमाल । घामले यता शरीरलाई न्यानो दिइरहेको थियो भने उता हिमाल टलक्क पारेको थियो । अर्थात् हिमालसँगै म घाम तापिरहेको थिएँ । कञ्चनजंघासँगै लस्करै यालुङ, किरात चुली, पाथीभरा नेपाल पिकलगायत हिमाल छन् ।
कञ्चनजंघाका दुईवटा बेसक्याम्प छन् । दक्षिणी बेसक्याम्प ओक्ताङ ४ हजार ७ सय ५० मिटर उचाइमा छ । घुन्साबाट सेलेले पास भएर चेराम पुगिन्छ । चेरामबाट एक दिनमा रामजेर पुगिन्छ । रामजेरबाट दक्षिणी बेसक्याम्प पुगेर फेरि फर्कन सकिन्छ । याम्फुदिन हुँदै दक्षिणी बेसक्याम पुगेर सेलेले पास भएर उत्तरी बेसक्याम्प पनि पुग्न सकिन्छ । यस क्षेत्रमा आउने विदेशी पर्यटकको संख्या बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ हजार २ सय ४६, २०८०/८१ मा १ हजार १७ र २०७९/८० मा ६ सय ६१ विदेशी पर्यटक आएको तथ्यांक परिषद्सँग रहेको छ । यो क्षेत्र घुम्न असोज–कात्तिक र मंसिरको सुरुवाती हप्ता र फागुन–वैशाख उपयुक्त हुन्छ । उत्तरी बेसक्याम्प १२ देखि १४ दिन, दक्षिणी बेसक्याम्प ८ देखि १० दिन र सर्किट घुम्न २० देखि २२ दिन लाग्छ ।
२५ मे १९५५ मा जो ए ब्राउन र जर्ज ब्यान्डले पहिलोपल्ट यस हिमालको सफल आरोहण गरेका थिए । कञ्चनजंघा संरक्षण क्षेत्र समुदायमा आधारित हो । २ हजार ३५ वर्ग किलोमिटरको संरक्षण क्षेत्र २०६३ सालमा समुदायलाई हस्तान्तरण गरिएको थियो । संरक्षण क्षेत्र सिरिजङ्गा र फक्ताङलुङ गाउँपालिकामा पर्छ । ओलाङचुङगोला पनि यही संरक्षण क्षेत्रमा पर्छ । यहाँबाट नेपाल–चीन सिमाना टिप्ताला पुग्न सकिन्छ । सिजेङ्मा, साम्दो पोखरी पनि यही क्षेत्रमा पर्छन् । तपाईं पनि समय मिलाएर आउनुस् है कञ्चनजंघा क्षेत्र घुम्न ।
