खोलाको कलकल, चराको चिरबिर । सल्ली कुसुममा ठोक्किएको हावाको सुस्साहटसँगै मान्छेको कल्याङमल्याङ ।यहाँ जे सुनिन्छ त्यो संगीत जस्तै, यहाँ जे देखिन्छ त्यो चित्रकारको क्यानभास जस्तै ।
चारैतिर अग्ला पहाडले घेरिएको फराकिलो उपत्यका अनि यही उपत्यकाको मध्यभाग हुँदै बग्ने उत्तरगंगा नदी । कतै घना जंगल, कतै सुन्दर मानवबस्ती । बर्खामा कुहिरोको ओढ्नी ओढेर अनेकन् वनफूलसँगै हरित रङको रागमा रंगिने, हिउँदमा हिउँको पगरी गुथेर मोहकताको पर्याय बनिदिने । खोलाको कलकल, चराको चिरबिर । सिल्ली कुसुममा ठोक्किएको हावाको सुस्साहटसँगै मान्छेहरूको कल्याङमल्याङ । यहाँ जे सुनिन्छ त्यो संगीत जस्तै, यहाँ जे देखिन्छ त्यो चित्रकारको क्यानभास जस्तै । मुस्किलले बयान गर्न सकिने, दृश्यमा सायदै उतार्न सकिने, यो हो ढोरपाटन ।
नेपालको एकमात्र सिकार आरक्षका रूपमा रहेको यो राष्ट्रिय निकुञ्ज २०४४ सालमा स्थापना भएको हो । कुल १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षले रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लाका केही भूभाग ओगटेको छ । यहाँ सिकारीहरू आफ्नो सिकार ताक्न आउँछन् र पर्यटकहरू प्रकृतिको अपार सुन्दरतामा डुबुल्की मार्न पुग्छन् । यहाँ जो आउँछन्, तिनीहरूलाई राम्रोसँग थाहा छ, ढोरपाटनको प्राकृतिक आफ्नोपन ।
०००
उच्च पहाडी र हिमाली यो भेगमा तोकिएका वन्यजन्तुहरूको सिकार गर्नका लागि आरक्षले निर्धारण गरेका ७ वटा ब्लगमध्ये अधिकांश रुकुमपूर्वमा नै पर्दछन् । दुले, सुनदह, सेङ, दोगाडी र घुस्दुङको पूरा भूभाग रुकुममै पर्छ भने बाँकी दुईवटा फागुणे र सुर्तिबाङको पनि आधा–आधा भूभाग बागलुङ र रुकुमपूर्वभित्रै पर्दछ । यसकारण ढोरपाटनको सुन्दरता जति ढोरपाटन उपत्यका र आसपासमा छ त्यसको कयौं गुणा सुन्दर प्रकृति रुकुमपूर्वको क्षेत्रभित्र पर्ने यहाँको पुथाउत्तरगंगा गाउँपालिका–५ का वडा अध्यक्ष ठिकासाई घर्ती बताउँछन् ।
मान्छेका कथा र मिथक
ढोरपाटन उपत्यका पहिले–पहिले बागलुङकै बोबाङ र अधिकारीचौरतिरका गोठालाहरू आफ्ना बस्तुभाउ लिएर बुकीतिर जाने बेलामा विश्राम गर्ने स्थलका रूपमा रहेको स्थानीय ज्येष्ठ नागरिक जंगबहादुर अदै सम्झिन्छन् । ‘अनि ५५–५६ सालपछि भने यहाँ बिस्तारै गोठ र केहीले घर बनाउन थाले । हेर्दाहेर्दै ढोरपाटनमा त गावै बस्यो ।’ अदै थप्छन्, ‘घरगोठ बनाए पनि हिउँदमा तुसारो र हिउँ पर्ने भएकाले हामी फागुनदेखि असोजसम्म त्यही आठ महिनाजति यहाँ बसेर बाँकी चार महिना घरगोठ चौकीदारको जिम्मा छोडी औल (बेसी) झर्थ्यौं । अब त त्यो पनि गर्न छोडियो । अहिले हामी त्यही दुई सय घरजति बाह्रैमास यतै बसिन्छ । लेकबेसी गराउने बस्तुभाउ घटे अनि रासनपानी पनि गाडीले घरसम्मै ल्याइन्छ, यसकारण यही बस्न सजिलो लाग्छ ।’
यसका साथै ढोरपाटन क्षेत्रको विकास, परिवर्तन र पछिल्लो समय मान्छेका चहलपहल देखेर अदै जस्ता ज्येष्ठ नागरिकहरू दंग छन् । ‘यत्तिका वर्षमा समय मात्रै बितेन, धेरै कुरा फेरियो । बाँचियो र यतिका फेरबदल देख्न पाइयो,’ उनी भन्छन् ।
विभिन्न जनजाति, दलित र क्षत्री समुदायकाहरूको मुख्य बसोबास रहेको ढोरपाटनमा पुग्नेहरू प्रायः प्राकृतिक सम्पदामा रमाउन आउँछन् । बागलुङका विभिन्न स्थानबाट बसाइँ सरेर आएका मान्छेहरू यहाँ बस्ने भएकाले यहाँको रीति–संस्कृतिमा पनि विविधता पाइन्छ ।
झन्डै पाँच वर्षअघिसम्म यहाँको ढोरबराह मन्दिरमा जनैपूर्णिमाका बेला लाग्ने मेला भर्न बागलुङसँगै आसपासका जिल्लाबाट भक्तजनहरू मात्रै पुग्ने गरेको सम्झिँदै अर्का स्थानीय ज्येष्ठ नागरिक धनबहादुर अदै पनि पछिल्लो समय यहाँ घुम्न आउने मान्छेको ताँती र चहलपहल देखेर दंग छन् । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा विदेशी १ सय ६ र आन्तरिक १५ हजार ४ सय ६७ जना गरी कुल १५ हजार ५ सय ५३ जना पर्यटक घुम्न आएका थिए । आव २०८१/८२ मा उक्त संख्या बढेर विदेशी २ सय २५ र आन्तरिक २३ हजार ४ सय ६७ गरी कुल २३ हजार ६ सय ९२ पर्यटक आएको देखिन्छ । चालु आवको साउन र भदौसम्म जम्मा ६ हजार २ सय ८५ पर्यटक आइसकेका छन् । यसभन्दा अघिको तथ्यांक केलाउने हो भने ढोरपाटन घुम्न आउनेहरूको संख्या विगत पाँच वर्षयता बढ्दै गएको देखिन्छ ।
आरक्ष कार्यालयका संरक्षण अधिकृत पशुपति अधिकारीले यो तथ्यांक ढोरपाटनको देउराली चेक पोस्ट भएर आउनेहरूको मात्रै भएको र सिकार आरक्ष क्षेत्रभित्र अरू भागबाट खासगरी रुकुमपूर्व तर्फबाट पनि धेरै पर्यटकहरू भित्रिने भए पनि त्यसको रेकर्ड नभएको बताएका छन् । ‘आरक्षको क्षेत्रफल ठूलो भएको र सबै प्रवेश–नाकाहरूमा चेक पोस्ट राखेर आवश्यक तथ्यांक राख्ने काम गर्न सकिएको छैन ।’ उनले भने,
‘ढोरपाटन घुम्न आउने पर्यटकहरू यहाँको प्राकृतिक सुन्दरता देखेर गद्गद् हुने गरे पनि यहाँसम्म पुग्ने सडक र होटल–बासको अवस्था सन्तोषजनक नरहेको गुनासो गर्छन् । पोखराबाट ढोरपाटन घुमेर फर्केका अजय थापाले बुर्तिबाङबाट ढोरपाटनसम्म पुग्ने सडक र सार्वजनिक सवारी गतिलो नभएको टिप्पणी गरे । ‘मध्यपहाडी लोकमार्ग भएर बुर्तिबाङसम्म पुगेपछि त्यसभन्दा अगाडि करिब ३ देखि ४ घण्टा कच्ची बाटोमा यात्रा गर्नुपर्छ,’ उनले भने, ‘न बाटो राम्रो छ, न सार्वजनिक सवारीको यात्रा नै सुरक्षित । ढोरपाटनको सुन्दरताले यात्राको दुःख त बिर्साइदिन्छ । तर कुनै पनि गन्तव्यसम्म पुग्ने सडक राम्रो र सुरक्षित हुन जरुरी छ । यसका लागि सरोकारवालाले चासो नदिनु दुःखद् हो ।’
बुटवलबाट ढोरपाटन घुम्न पुगेका नागेन्द्रप्रसाद भुसालले आफू १५ वर्षअघि बुर्तिबाङबाट हिँडेरै ढोरपाटन पुगेको सम्झिँदै भन्छन्, ‘त्यो बेलाको समय नै त्यस्तै थियो र हिँडेरै पुग्दा पनि फुरुङ्ग भइएको थियो । यसपल्ट पुग्दा पनि चाहे जस्तो सुविधा त पाइएन तर त्यसबेलाभन्दा धेरै सहज र विकास भएको रहेछ ।’ यस विषयमा पर्यटनकर्मी तथा भ्लगर सिर्जना सिज्जुले ढोरपाटनमा घुम्न आउनेहरूको संख्या दिनानुदिन बढिरहेकाले अब यहाँसम्म आउने सडक सुधार हुनुपर्ने र आएपछि कहाँ, कसरी र किन घुम्ने भन्नेबारे स्पष्ट खाका/तालिका बनाइनुपर्ने बताइन् । भनिन्, ‘घुम्न भनेर आएपछि उसलाई घुमाउने गाइड चाहियो र उसको रुचिअनुसार रमाउने वातावरण हुनुपर्यो ।’
सबै पर्यटक प्रकृति मात्रै हेर्न नआउने भन्दै उनले कोही जनजीवन हेर्न, कोही रीति–संस्कृतिमा रमाउन र कोही चाहिँ अध्ययन–अनुसन्धान गर्न आउने भएकाले त्यसैअनुसारको व्यवस्था हुनुपर्ने बताउँछिन् । सिज्जु थप्छिन्, ‘यसका लागि त स्थानीय नागरिक, राज्य–सरकारका साथै पर्यटनमा चासो र चिन्ता राख्ने जिम्मेवारीमा रहेका सबैको साझेदारीमा काम गर्नुपर्यो । आएका मान्छे गणना गरेर र उनीहरूलाई दाल–भात खान दिएर मात्रै कहाँ हुन्छ ? पर्यटकको उद्देश्य पूरा भयो कि भएन भनेर हेर्न जरुरी छ । साथै एकपल्ट आएको पर्यटक अर्कोपल्ट दोहोरिने वातावरण पनि बनाउनुपर्छ ।’
साथै सिज्जुले निकुञ्ज कार्यालयले ढोरपाटन क्षेत्रलाई सिकार आरक्षका रूपमा मात्रै विकास गर्नेभन्दा पनि यहाँको समग्र पर्यटकीय सम्भावना बुझेर यसको विकासका लागि लाग्न कार्यालयको आवश्यक लचकता र सक्रियता हुनुपर्ने कुरामा जोड दिइन् । उनले यहाँ रहेका होटल/होम स्टेहरूले पनि आफ्नो सुविधाहरूलाई बढाउँदै लैजान सुझाइन् ।
ढोरपाटन उपत्यकामा हरेक वर्ष होटल र होम–स्टे (घरबास) हरू थपिने क्रम जारी छ । हालसम्म यहाँ होटल/होम–स्टे गरेर करिब ३५ वटामा खान–बस्न मिल्ने स्थानीय होटल व्यवसायी जीवन पुनले बताए । ‘हरेक वर्ष घुम्न आउनेहरूको संख्या बढिरहेको छ । सँगसँगै उनीहरूको अपेक्षा पनि बढ्दो छ । तर हाम्रो लगानी पुगिरहेको छैन,’ उनी भन्छन्, ‘हामीले सकेसम्म ग्राहकको माग, उनीहरूको सुरक्षा र सहजतालाई ध्यान दिइरहेका त छौं, तर पुगिरहेको छैन । यसका लागि लगानी बढाउने र व्यवसायीका बीचमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धालाई हटाएर काम गर्न जरुरी छ ।’ एकै पटकमा ५ देखि ७ सय जनासम्मलाई खानबस्न मिल्ने गरी ढोरपाटन उपत्यकामा होटल/होम–स्टे रहेको बताउँदै व्यवसायी पुनले बजारको माग र ग्राहकको चाहनाअनुसार विकास तथा विस्तार गर्न लागिपरेको बताएका छन् ।
कति दिनमा पुगिन्छ ? खर्च कति लाग्छ ?
ढोरपाटन पुग्ने सबैभन्दा सहज र सवारी साधनमा आउन सकिने एकमात्र रुट भनेको काठमाडौं–पोखरा र पश्चिमतर्फबाट बागलुङको बुर्तिबाङसम्म पक्की सडकमा र त्यसपछि ३ देखि ४ घण्टाको कच्ची सडकको यात्रापश्चात् पुगिने मार्ग हो । पैदल हिँड्न चाहनेका लागि करिब एक दिनको पदयात्रापश्चात् पूर्वतर्फबाट म्याग्दीको बेनी बजारदेखि गुर्जाखानी र जलजला हुँदै र पश्चिमतर्फबाट रुकुमपूर्वको तकसेरादेखि निसेलढोर भएर ढोरपाटन पुग्न सकिन्छ । साथै उत्तरतर्फबाट करिब २ दिनको पदयात्रा गरेर रुकुमपूर्वकै हुकाम, पेल्मा, ठाकुर हुँदै फागुणे धुरीबाट ढोरपाटन झर्न सकिन्छ ।
तकसेरा र निसेलढोर तथा गुर्जाखानी र जलजलालाई ढोरपाटनसँग सडक सञ्जालमा जोड्न काम भइरहे पनि यसले अपेक्षित गति लिन सकेको भने छैन । यी सडकको निर्माण कार्य सम्पन्न भएमा यो भेगको यात्रा थप सहज, छरितो र रोमाञ्चक हुनेछ ।
यस क्षेत्र घुम्न उति खर्च लाग्दैन । पर्यटक के–कसरी आउँछ भन्नेमा उसको खर्च निर्भर गर्ने भएकाले ढोरपाटनमा ३ देखि ४ दिनजति रहनका लागि प्रतिदिन सरदर १५ सयदेखि २ हजार खर्च लाग्ने बागलुङकै स्थानीय तथा पर्यटनकर्मी रमिता पुन मगरले बताइन् । ‘पोखरा–काठमाडौं वा अरू कुनै ठाउँबाट बुर्तिबाङसम्म पुगिसकेपछि त्यसभन्दा माथि सार्वजनिक सवारी र होटल/होम स्टेको गरी ४–५ दिनको प्याकेज बनाएर आउनेको न्यूनतम खर्च ८ हजारदेखि १० हजार रुपैयाँ लाग्छ,’ रमिताले थपिन्, ‘यहाँ धेरै खर्च गर्छु भने पनि गर्ने ठाउँ छैन । खर्च गर्नुमा भन्दा पनि ढोरपाटन पुग्ने रुचि र जाँगरको हो ।’
उपयुक्त मौसम कुन ?
ढोरपाटन बाह्रैमास घुम्न सकिन्छ । तर खासगरी बर्खायाममा यहाँको सुन्दरता गजबको हुन्छ । भ्लगर सिज्जुले यो विषय पर्यटकको रुचि–चाहनामा भर पर्ने बताउँछिन् । ‘गोठालाहरूको चहलपहलका साथै बुकी–पाटनहरूमा फूलहरूको सुन्दरता र हरियाली मन पराउनेका लागि असार दोस्रो सातादेखि असोज अन्तिमसम्मको मौसम ठीक हुन्छ भने हिउँ हेर्न चाहनेका लागि हिउँदको समय र पालुवामा रमाउनेका लागि वसन्तयाम उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘जे होस्, मौसमअनुसारको सुन्दरता हुने भएकाले यहाँ जहिले पुगे पनि मन चंगा हुन्छ ।’
ढोरपाटन आफैंमा एउटा बेस क्याम्प जस्तै भएको भन्दै सिज्जुले यहाँबाट करिब ३ देखि ४ दिनभित्र ढोरपाटन उपत्यकासँगै आसपासको गाउँ–ठाउँहरू निसेलढोर, छेन्तुङ, खाल्टाखुल्टी र जलजलासम्म घुम्न सुझाइन् । ‘साथै बर्खामा हो भने माथि बुकीतिर उक्लेर गर्पाछेडा, टीकाधारा र फागुणेतिर पनि रमाउन सकिन्छ । यसका लागि थप दुई दिन लाग्न सक्छ ।’
ढोरपाटनबाट खासगरी रुकुमपूर्व तर्फको पदयात्रा निकै रोमाञ्चक हुन सक्छ । साथै रुकुमपूर्वका सुन्दर बुकी पाटनहरू छिचोलेर यहाँबाट डोल्पासम्म पनि पुग्न सकिन्छ । तर यसका लागि यात्राबारे विस्तृत जानकारी र मौसमको अवस्था हेरेर अघि बढ्नुपर्छ ।
ढोरपाटनका वन्यजन्तु र सिकारको तथ्यांक
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वेबसाइटमा राखिएको जानकारीअनुसार यो निकुञ्जमा २३ प्रकारका स्तनधारी जनावर र १ सय ६४ प्रकारका चराहरू पाइन्छन् । प्रमुख जनावरहरूमा नाउर, झारल, थार र हिमाली भालु ढोरपाटन क्षेत्रमा रहेका छन् भने दुर्लभ एवम् संरक्षित पक्षीको सूचीमा परेका डाँफे, मुनाल र चिर लगायतका चराहरू पनि यहाँ पाइने बताइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समय–समयमा सिकार गरिने वन्यजन्तु नउर र झारलको गणना तथा अनुगमन गरेर वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाका आधारमा सिकार गराउने गर्छ । हरेक वर्ष चैत र वैशाख तथा असोज र कात्तिक गरी दुई सिजनमा यहाँ सिकार गरिन्छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङको तथ्यांकअनुसार आव २०८१/८२ मा २७ जना सिकारी पर्यटक पुगेको बताइएको छ । जसबाट आरक्षले कुल २ करोड ७५ लाख ६० हजार ४ सय राजस्व संकलन गरेको छ । विदेशी पर्यटकलाई मात्रै सिकार गर्न अनुमति दिइने कानुनी व्यवस्थाअनुसार यस वर्ष अमेरिका, स्पेन, मेक्सिको र अस्ट्रेलिया लगायतका देशबाट सिकारी पर्यटकहरू ढोरपाटन पुगेका थिए ।
चालु आवको पहिलो सिजन (असोज–कात्तिक) अहिले चलिरहेको छ । यो वर्ष पनि विभिन्न देशबाट सिकारी पर्यटक आएको बताइए पनि तथ्यांक आउन भने समय लाग्ने निकुञ्जका संरक्षण अधिकृत पशुपति अधिकारीले बताए ।
०००
घुमघामका लागि पोखरा अनि मनाङ–मुस्ताङ र आसपासमा रमाइरहेका पर्यटकहरूलाई ढोरपाटन पक्कै पनि एउटा गजबको गन्तव्य हुन सक्छ । यसका लागि यो ठाउँको प्रचारप्रसार तथा आवश्यक विकास र विस्तार गर्ने विषयमा सरकारले कुनै पनि प्रकारको बहाना बनाउनु हुँदैन । सिकार आरक्ष भएकाले निकुञ्ज कार्यालयको जोड सिकारीहरूमाथि केन्द्रित हुनु एक हदसम्म स्वाभाविक भए पनि अब यस भेगका घुम्न आउने पर्यटकका लागि पनि कार्यालयले आफ्ना गतिविधिहरूलाई अघि जरुरी रहेको पर्यटनकर्मी रमिता पुन मगरको जोड छ । यसका लागि सरोकारवाला सबैको हातेमाले हुनु जरुरी रहेको उनी बताउँछिन् ।
