चुम–नुब्री : लुकेको स्वर्ग

दुवैतिर अग्ला डाँडा र हिमालले छेकेको, अलिकति दक्षिण छड्के परेर पूर्वपश्चिम फैलिएको यस उपत्यकाले आँखालाई मात्र होइन, मनलाई पनि शान्ति दिन्छ ।

कार्तिक १५, २०८२

मोहन मैनाली

Chum-Nubri: Hidden Paradise

उहिल्यै, निकै वर्ष पहिले तिब्बतमा ठिसोङ देउचेन नामका राजा थिए । त्यहाँ बौद्ध धर्म दह्रो गरी टेकाउन उनले त्यतिबेला नेपाल आइपुगेका गुरु पद्मसम्भवलाई तिब्बत बोलाए ।

उनीसँग कुराकानी हुँदा एक दिन राजाले पद्मसम्भवलाई सोधे, ‘भविष्यमा लडाइँ भएर कठिन परिस्थिति आयो भने धर्म गर्न कहाँ जानुपर्ला ?’

पद्मसम्भवले भने, ‘यतातिर पाँचवटा लुङ (उपत्यका) छन् । त्यहाँ कहिल्यै युद्ध हुँदैन । तिनै लुङमा जानुपर्छ ।’

यस्ता लुङ अर्थात् गोप्य निधिलाई बेयुल पनि भनिन्छ । यी बेयुल लडाइँका बेला होस् वा अरू बेला अध्यात्म साधना गर्न अत्यन्तै उपयुक्त हुन्छन् । किम्योलुङ नेपालमा रहेका पाँच लुङमध्ये एक हो । क्यिमोलुङभित्र सेराङ (शृङ्गी) हिमाल वरपरका चुम र कुताङ पर्छन् । आज यही लुङको अक्षर यात्रामा निस्कौं । यस यात्राको गाइडको काम म गर्छु ।

सजिलोका लागि सानो, तर बलियो गाडी भाडामा लिऔं । त्यसले गोरखाको आरुघाट बजार पुर्‍याउँछ । त्यहाँबाट बूढीगण्डकीको पश्चिमी किनार हुँदै त्यसको शिरतिर लागौं । शरद यामको आकाश यसै सफा छ । त्यसमाथि बंगालको खाडीबाट उघाएर प्रकृतिले ल्याएको पानीले पखालेर यसलाई अझ सफा र गाढा नीलो बनाइदिएको छ । तल जमिनमा हरिया वनस्पति ! दाहिनेतिर वेगले बगेको बूढीगण्डकी, छिनछिनमा आउने ठाडाखोला र दुवैतिरका पहाडबाट हल्का हावामा कावा खाँदै झरेका छहराको सेतो पानी !

 Chum-Nubri: Hidden Paradise

वसन्त ऋतुमा जाने भए यो ठाउँ नयाँ पालुवा र फूलले ढाकेका जंगल अनि वसन्त उत्सव गाइरहेका चराचुरुङ्गीको आवाजले गुञ्जायमान हुन्छ । छहरा गुप्तबास बसेका हुन्छन् । नदी र ठाडा खोला दुब्लाएका । पहिरोका घाउ अलिअलि खाटा बस्न लागेका । झुरुम्म बसेका स–साना गाउँ र ढुंगाले छाएका घर । गुरुङ गाउँ पार गर्दै अघि बढौं । दुईतिर अग्ला डाँडा भएको जगत् क्यिमोलुङ जाने ढोका हो । त्यता जाने अरू बाटा छैनन् । त्यसैले यहाँ बाटो ढुकेर सरकारले नुनदेखि सुनसम्मका वस्तुमा कर (जकात) उठाउन थाल्यो । अनि ठाउँको नाउँ नै जगत् हुन पुग्यो । अझ अगाडि सिर्दिबास गाउँ हुँदै र पारिपट्टि चुम–नुब्री गाउँपालिका, सुन्दर भवन भएको स्कुल, केही सरकारी कार्यालय भएको फिलिम गाउँलाई छाडेर पाङसिङ पुगेपछि गाडीको बाटो सकिन्छ । यहाँदेखि माथि लैजान र झोलुङ्गे पुल तारेर पारि एक्लेभट्टीसम्म पुर्‍याउन तयार भइबसेका मोटरसाइकल चढौं । मोटरसाइकल जाने ठाउँसम्म त्यसमा र त्यसपछि पैदल हिँडेर लोक्पा गाउँसम्म पुगौं ।

Chum-Nubri: Hidden Paradise

दोस्रो दिन बिहान तपाईं ब्युँझेको ओछ्यान गणेश र पाबिल हिमालभन्दा उत्तर पश्चिममा बसेको हुन्छ । अर्थात् आज हिमाल हेर्न तपाईंले उत्तर होइन, दक्षिण फर्कनुपर्छ । हामीले हेर्ने दृश्य पनि नयाँ छन् । लेकाली धुपको नयाँ सुगन्ध नाकमा ठोकिन्छ । यहाँका आँगनका ध्वजापताका फरफराएको आवाज कानभित्र पस्छ । यहाँका मानिसले बोल्ने भाषा (चुम–नुब्री) पनि तपाईंका लागि नयाँ हुन सक्छ ।

अब मेसिन चढेर हिँड्न पाइँदैन । आफ्नै खुट्टाले जति हिँड्यो त्यति हो । घोडा माथि लेकका चरनबाट तल झारेका रहेछन् भने घोडा चढ्न मिल्छ । तर हामी त्यसको कल्पना नगरौं किनभने हामी आफ्नै बलबुतामा हिँड्न आएका हौं ।

आज सबेरैदेखि भोट संस्कृति भएको ठाउँमा हिँड्छौं । नुन, घिउ र चिनियाँ चियापत्ती हालेर मथेको चियाबाट दिनको सुरुवात गरौं । यसअघि लेकतिर नगएकाहरूका लागि नयाँ खालको ‘ब्रेकफास्ट’ तयार गर्न लगाएको छु । त्यो हो चम्पा— अथवा लेकाली अन्नको सातु । बटुकामा सातु र अलिकति पानी हालेर आँटालाई झैं मुछेर डल्लो बनाउँदै, खाँदै गर्नुपर्छ । अडिलो हुन्छ, चाँडै भोक लाग्दैन । सुरुमा मीठो नलाग्न सक्छ, तर यहाँ रहुञ्जेल ब्रेकफास्ट यही हो । चम्पा खान सक्नुभएन भने अरू खालको ब्रेकफास्ट बनाउन लगाउँला ।

Chum-Nubri: Hidden Paradise

हामी बूढीगण्डकीको पूर्वी हाँगो अर्थात् स्यार खोला समातेर दाहिने लाग्छौं । ढुंगाको पर्खाल, काठको छानो भएका घर र बाटामा लाम लागेका छोर्तेन हेर्दै अगाडि बढ्छौं । यहाँ बस्ती बाक्ला छैनन् । जति छन्, तिनमा पनि घर धेरै छैनन् । अग्ला हिमाल, हिमालकै जस्तो त्रिकोणाकारका अग्ला सल्लाका रुखको पर्दाबाट अलिअलि देखिने हिमाल हेर्दै हिँड्दा चुम्लिङ पुगेको पत्तै पाइँदैन । बिहानको खाना खाने र केहीबेर थकाइ मार्ने ठाउँ हो यो ।

आज पैदलयात्राको पहिलो दिन । त्यसैले धेरै नहिँडौं, रेन्जममै बास बसौं । पाल र खानेकुरा बोकेर आएको भए अनि तपाईंहरू तीन–चार घण्टा उकालो हिँड्न सक्ने भएको भए म यहाँबाट दक्षिण हिँडाएर गणेश हिमालको बेसक्याम्पमा पुर्‍याउने थिएँ । तर, त्यो हिँडाइ अलि कडा हुन्छ । तेस्रो दिन बिहानै थोरै उकालो हिँडाउँछु । हिजो बास बसेको ठाउँ रेन्जमभन्दा ६०० मिटर जति उक्लिएपछि हामी एउटा उपत्यकाको पश्चिमी मुखमा पुग्छौं । अंग्रेजी अक्षर ‘भी’ आकारको खोंचबाट झट्ट ‘यू’ आकारको फराकिलो उपत्यकामा प्रवेश गर्दा नौलो अनुभूति हुन्छ । यतिबेलासम्म हामीले गाउँ आउनुअघि माने आउँछ भन्ने थाहा पाइसकेका हुन्छौं । कसैले भनेको सुनेका पनि हुन सक्छौं, ‘माने आयो कि गाउँ आयो ।’

खुट्टा दुखेजस्तो लाग्यो भने एउटा तथ्य सम्झिनुस् । खम्पा विद्रोहीलाई उकासेर तिब्बतमा चिनियाँ सेनामाथि हमला गरेको फिल्म खिच्ने टोलीलाई काठमाडौंबाट यहाँ आइपुग्न १८ दिन लागेको थियो । उनीहरूले काठमाडौंबाट त्रिशूली बजारसम्म मात्रै मोटरमा हिँड्न पाएका थिए । त्यहाँदेखि १७ दिन अप्ठ्यारो बाटो हिँडेका थिए । अहिले तपाईं काठमाडौं छाडेको तेस्रो र हिँड्न थालेको दोस्रो बिहानै यहाँ आइपुग्नुभएको छ । हामी यस उपत्यकाको पश्चिमी छेउमा पर्ने छेकम्पार गाउँदेखि पूर्वी छेउका बस्ती छुले र निले अनि सबैभन्दा अन्तिममा रहेको मुग गुम्बासम्मका मुख्य–मुख्य ठाउँ र तीर्थस्थल घुम्छौं ।

Chum-Nubri: Hidden Paradise

दुवैतिर अग्ला डाँडा र हिमालले छेकेको, अलिकति दक्षिण छड्के परेर पूर्वपश्चिम फैलिएको यस उपत्यकाले आँखालाई मात्र होइन, मनलाई पनि शान्ति दिन्छ किनभने यो पवित्र किम्योलुङको, लुकेको आनन्दमय ठाउँको, अरू सबै ठाउँ अशान्त हुँदा शान्त रहने बेयुलको मुख्य भागमध्येको हो । बौद्ध गुरु मिलारेपाले ध्यान गरेको ठाउँ हो । धर्मगुरु र मानिसले १०५ वर्षअघि यस ठाउँमा हिंसा हुन नदिने वाचा गरेका थिए । त्यसयता उनीहरूले कुनै जीव–जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासुका लागि बेच्न लागिएका जनावरलाई प्रवेश नदिने वाचा बारम्बार दोहोर्‍याउँदै आएका छन् । उनीहरूको यस्तो वाचालाई चुम–नुब्री गाउँपालिकाले मान्यता दिएको छ ।

यस उपत्यकाको मुखैमा यति सम्झिएपछि र त्यसको पालना गर्ने प्रण गरिसकेपछि कुनै होटलको आँगनमा बसौं, सुन्दर दृश्य हेरौं र खाना खाऔं । त्यसपछि उपत्यकाको शिरतिर रहेको ‘मु’ गुम्बालाई ताकेर पूर्वउत्तरतिर हिँडौं । बाटोमा पर्ने राछेन गुम्बामा रोकिऔं । यस गुम्बामा आनी अर्थात् भिक्षुणी मात्रै बस्छन् । यसको नेतृत्व भुटानका लामाले गर्छन् । त्यहाँ पूजाआज रहेछ भने त्यसमा सरिक होऔं । त्यसको सामुन्ने स्यारखोलाको दायाँपटिको भिरालोमा रहेको, मिलारेपाले ध्यान गरेको गुफा हेर्न मन भए त्यतातिर उक्लिउँ । राछेन गुम्बाबाट धेरै उकालो हिँड्नु पर्दैन । पाँच सय मिटर जति उकालो चढ्दा निले गाउँ पुगिन्छ । छुले त्यसैको छेउमा छ । अर्को २०० मिटर चढ्दा ‘मु’ गुम्बा पुगिन्छ । हामीले सुन्दर डाँडामा रहेको यो गुम्बा पुगेर त्यहाँ लामाहरूले अध्ययन र पाठ गरेको हेर्नुछ । सके आजै ‘मु’ गुम्बा पुगेर निले गाउँ आएर बसौंला । नसके निले गाउँमा बसेर भोलि बिहान ‘मु’ गुम्बा पुगी फर्केर छेकम्पार बास बसौंला ।

धेरै नेपालीहरू यात्रा गर्दा आगो निभाउन हिँडेको दमकलझैं हतार गर्छन् । चाँडै घर फर्केर केही काम गर्ने त होइनन्, तर त्यसो नगर्दा आकाशै खसिहाल्ला झैं गर्छन् । त्यस्ता यात्रीहरूले घरै बसेर टेलिभिजन हेर्दा पाउने जति मात्रै फाइदा पाउँछन् । त्यस ठाउँलाई, त्यहाँका मान्छेलाई राम्रोसँग बुझ्न र उनीहरूसँगको छोटो भए पनि संगतले आफ्नो जीवन समुन्नत बनाउन सक्दैनन् । यस्ता यात्रीलाई लक्ष्मीप्रसाद देवकोटाले भने झैं भन्न मन लाग्छ, ‘आखिर संसार त ज्यौंत्यौं रहेकै छ, न रायो बनाइस्, न रुख, न तैंले एउटा तारा थपिस् ।’

त्यसैले यो उपत्यकामा झन्डै ४८ घण्टा बिताउँ । यहाँको भौगोलिक बनोट, हिमाल, डाँडाकाँडा र सूर्यको छटा, हिमालपारिको झुन्डिएको उपत्यका भनिने यस ठाउँका मानिसको जीवन अनि आध्यात्मिक उचाइ मनन गरेर आफू पनि एक सिँढी माथि उक्लने कोसिस गरौं ।

किम्योलुङको अर्को पवित्र ठाउँ हो सेराङ (शृङ्गी) । शृङ्गी हिमालको काखमा जंगलको बीचमा रहेको यो सानो टार साँच्चै स्वर्गीय लाग्छ । त्यही टारको भित्तामा सेराङ गुम्बा छ, जहाँ लामाहरू आध्यात्मिक उचाइ हासिल गर्न बसेका हुन्छन् । शृङ्गी हिमालको आडमा पूर्वतिर गुरु पद्मसम्भवले लुकाएको निधि छ भन्ने विश्वास गरिन्छ ।

पाँचौं दिन लागौं सेराङतिर । त्यहाँ जान अस्ति आएकै बाटो फर्केर स्यार खोला बूढीगण्डकीमा मिसिएको ठाउँसम्म पुग्नुपर्छ । अस्ति जाँदा छुटेका दृश्यहरू हेर्दै फर्किउँ । बेलुका डेङ बास बसियो भने भोलिपल्ट बिहान बिही हुँदै शृङ्गी खोलाको किनारबाट एउटा अलि कठिन उकालो अनि एउटा आरालो हिँड्दा सेराङ पुगिन्छ । उकालोबाहेकको बाटो एकदमै सुन्दर छ । पारिपट्टि शृङ्गी हिमाल अनि सेराङ गुम्बा र त्यस वरपरको वनमा बादल खेलेको औधी राम्रो देखिन्छ ।

शृङ्गी हिमालको चारैतिरको भाग किम्योमोलुङ हो । यसमा तिब्बतको भाग पनि पर्छ । बेलुका गुम्बामा बास बस्नुपर्छ । भोलिपल्ट बिहान यहाँ अलौकिक दृश्य देख्नुहुन्छ । यहाँका जंगली जनावर मानिससँग डराउँदैनन् । गुम्बाका लामाहरूका हातबाट नुन खान गुम्बाछेउको चउरमा आउँछन् । लाग्छ, यस गुम्बाका लामाहरूको नेतृत्वमा यहाँका मानिसले यस क्षेत्रलाई हिंसामुक्त बनाउन गरेको वाचा उनीहरूलाई थाहा छ ।

तपाईंलाई थकाइ लागेर कहिले फर्किऊँ भइसकेको हुन सक्छ । यहाँ एउटा कुरा भनिहालौं– तपाईं पुगेको ठाउँ कति पवित्र र उत्कृष्ट मानिन्थ्यो भने तिब्बत खुला भइञ्जेल तीर्थयात्रीले ४५ दिन लगाएर शृङ्गी हिमाल परिक्रमा गर्थे । छैटौं दिन बिहान सूर्योदयले शृङ्गी हिमाल सिँगारेको हेरौंला । त्यसपछि हिजो आएको बाटो फर्कौंला ।

Chum-Nubri: Hidden Paradise

कुताङको पश्चिम–उत्तरमा पर्ने नुब्री पनि कम पवित्र र कम सुन्दर छैन । यहाँबाट जुन बाटो आएको हो, त्यही बाटो फर्कंदा मज्जा हुँदैन । नुब्री पसेर मनास्लु हिमाललाई फन्को लगाउन जाऔं । यो दिन प्रोक पुगौं । त्यहाँबाट माथि काल ताल घुम्न जान हुन्थ्यो, तर मूल बाटो लामो हुनाले त्यता नलागौं । बरु मकै, करु, जौ र आलु लगाएका बारी अनि स्याउ बगैंचा हुँदै बास बस्न ल्हो गाउँ पुगौं ।

भोलिपल्ट सूर्यभन्दा पहिले उठ्नुपर्छ नि ! त्यहाँबाट सूर्यको किरणले हिमाललाई माथिबाट तलतिर ढाक्दै गएको अनुपम दृश्य हेर्नुपर्छ । त्यति गरिसकेर स्याला गाउँ पुगेर ब्रेकफास्ट खाए पनि हुन्छ । अहिले यति बाक्लो बस्ती बसेको स्याला बजारमा ३० वर्षअघि एकाध अस्थायी झुप्रा थिए । सामा गाउँ बेलैमा पुगेर बासको व्यवस्था गरौं । अनि नजिकको वीरेन्द्र ताल घुमौं । भ्याइने रहेछ भने मिलेरपाले ध्यान गरेको गुफा हेरौं । नवौं दिनको बाटो अलि कठिन छ ।

बिहान तेर्सै तेर्सो ३०० मिटर जति उक्लेर साम्दो पुगौं । साम्दो अर्थात् दोभान । कुनै बेला साम्दोमा ठूलो बजार लाग्थ्यो । नेपालीहरू चामललगायतका अन्न लिएर तलबाट आउँथे, तिब्बतीहरू नुन लिएर माथिबाट आउँथे । नेपालको व्यापार राम्रो थियो, तर अहिले त्यस्तो छैन । अब यहाँबाट उकालो लागौं । माथि डाँडामा पुगेर एक पटक पछाडि फर्केर साम्दो गाउँलाई हेरौं अनि पश्चिमतिर लागौं र धर्मशाला पुगेर बास बसौं ।

दसौं दिन धर्मशालाबाट पश्चिम अनि मनास्लुको उत्तरमा पर्ने लार्के भन्ज्याङ पार गर्नुपर्छ । अलिकति उकालो पनि चढ्नुपर्छ । यो भन्ज्याङ ५,१०० मिटर मात्रै अग्लो भए पनि अप्ठ्यारो छ किनभने भन्ज्याङ पुग्न पट्यारलाग्दो लामो बाटो हिँड्नुपर्छ । यस ठाउँमा लेक लाग्ने डर पनि त्यत्तिकै हुन्छ । त्यसैले खानपिनमा अलि जोड दिनुपर्छ । लार्के भन्ज्याङ काटेपछि पवित्रस्थलको यात्रा सकिन्छ । बेलुका भीमताङमा बास बसी अलिकति पैदल हिँडेपछि गाडी चढेर लमजुङ हुँदै घर जाऔं ।

मोहन

Link copied successfully