परिवर्तन केवल व्यक्तिमा होइन, प्रणालीमा आउनुपर्छ । संरचनागत सुधारबिना परिवर्तन दिगो हुँदैन भन्ने यथार्थलाई बुझ्न आवश्यक छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारीले आफूलाई संविधानभन्दा माथि जनमतको प्रतिनिधि ठान्ने जोखिम बोकेको हुन्छ । यस अवस्थामा संवैधानिक नियन्त्रणलाई बाधा, आलोचनालाई अस्थिरता र असहमतिको आवाजलाई जनादेशको अपमान भनेर चित्रण गर्न सजिलो हुन्छ ।
लोकतन्त्रको गहिरो अर्थ पनि संघीयतासँग अटुट रूपमा गाँसिएको छ । मतदान गर्ने अधिकार मात्रै लोकतन्त्र होइन । निर्णय प्रक्रियामा प्रत्यक्ष पहुँच र सहभागिता नै वास्तविक लोकतन्त्र हो । जब शक्ति र अधिकार एकै केन्द्रमा केन्द्रित हुन्छ, तब लोकतन्त्र औपचारिकता र चुनावी प्रक्रियामा मात्र सीमित भएर रहन्छ ।