विभिन्न फोरममा हामीले बजेटका तयारीबारे आफ्ना धारणा राख्दै आएका छौं । अधिकांश अन्तर्क्रियामा मोटामोटी धारणा बताउँदै आएका छौं । हामीले देशको समग्र स्थितिबारे आलोचनात्मक रूपले नै हेर्नुपर्ने र विश्लेषण गर्नुपर्ने हुन्छ । सबै चिज खराब छन्, सबै चिज खत्तम भइसके, सबै निराशाजनक छ भन्ने पनि होइन । र सबै चिज असाध्यै राम्रा मात्र छन् भन्ने पनि होइन ।
हाम्रो देश कुनै बेला श्रीलंका बन्छ भनेर एक थरी मान्छेले सरकारमाथि आक्रमण गर्ने हतियार बनाएका थिए । नेपालका दल र नेताहरूको हालत श्रीलंकाको जस्तो हुन्छ, जनता जसरी श्रीलंकामा राष्ट्रपति भवन, संसद् भवन छिरे, त्यसरी नै यहाँ पनि लखेट्छन् भन्ने भाष्य बनाउन खोजिएको थियो । आज पुष्पकमल दाहाल नेतृत्वको सरकारले त्यस सम्भावित समस्यालाई दूर गरेको छ । अर्थतन्त्रको वर्तमान अवस्था समग्रमा सकारात्मक छ ।