आयोगले औंल्यायो सेनाको भूमिकामा प्रश्न

आयोगको प्रतिवेदनमा कर्फ्यु जारी भएपछि ‘सेना सहयोगमा आउने अपेक्षा गरिए पनि प्रहरी अधिकारीहरुले सहयोग नपाएको भनेको’ उल्लेख छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

The commission raised questions about the role of the army.

What you should know

काठमाडौँ — गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाली सेनाको भूमिकाबारे समेत प्रश्न उठाएको छ । आयोगको प्रतिवेदनमा कर्फ्यु जारी भएपछि ‘सेना सहयोगमा आउने अपेक्षा गरिए पनि प्रहरी अधिकारीहरुले सहयोग नपाएको भनेको’ उल्लेख छ ।

२३ भदौको दिउँसो १२ बजे परिस्थिति काबुभन्दा बाहिर जान लागेको भन्दै सहयोगका लागि सेनालाई पत्राचार गरिएकोमा सहयोग प्राप्त नभएको उल्लेख गरिएको छ । सेनाले चाहिँ प्रहरीलाई सहयोगका लागि सिंहदरबारस्थित नरसिंह दल गणबाट १२ः४५ बजे नै हिाडेपनि प्रदर्शनकारी सेना सवार ट्रकको चक्कामुनि सुतेर ४ बजे मात्र संसद् भवन कम्पाउण्डमा प्रवेश गरेको भनेको छ ।

सेनाको प्रतिनिधिसमेत जिल्ला सुरक्षा समितिको सदस्य रहने गरेको भन्दै प्रतिवेदनमा ‘त्यस दिन विकसित हुादै गएको स्थितिबारे जानकारी हुादा पनि स्थानीय प्रशासनले माग गरेको सहयोग समयमा नै प्राप्त हुन नसकेको’ भनिएको छ ।

२४ भदौमा सिंहदरबारमा भएको आगजनी र सोही दिन राष्ट्रपति भवन, शितल निवासमा भएको आगजनी र लुटपाटमा पनि नेपाली सेनाको निस्कृय भूमिकालाई लिएर निकै टिकाटिप्पणी भएको भन्दै त्यसबारे समेत अध्ययन गरेको छ ।

‘सुरुमा सेनाले सिंहदरबारभित्र प्रवेश गरेका आक्रोशित प्रदर्शनकारीलाई प्रहरीसँगै मिली परिसर बाहिर पठाएको देखिएको छ, तर दोश्रो पटक प्रदर्शनकारीहरु भित्र प्रवेश गर्दा नेपाली सेना नवनिर्मित गृह मन्त्रालयको भवन तर्फ जाने बाटो निर उभिई प्राय निस्कृय अवस्थामा रहेको प्रत्यक्षदर्शी, अन्य सुरक्षाकर्मीहरुले आयोग समक्ष गरेको बयान र उपलब्ध सीसी टीभीबाट प्रष्ट देखिएको छ ।’

सेनाको परमाधिपतिसमेत रहेको राष्ट्रपति निवासको सुरक्षामा समेत सेना चुकेको प्रतिवेदनमा उल्लेख छ । ‘केही प्रदर्शनकारीहरु राष्ट्रपति भवनभित्र अनाधिकृत रुपमा प्रवेश गर्न खोज्दा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले शुरुमा सम्झाई बुझाई गरे, तर सुरक्षाकर्मीहरुको कुरा नमानी जबरजस्ती प्रवेश गर्दा नेपाली सेनाका सकल दर्जाका अफिसर र जवानले प्रभावकारी रुपले प्रतिरोध नगर्दा ऐतिहासिक राष्ट्रपति भवन शितल निवासको पुरातात्विक भवनमा आगजनी भई ऐतिहासिक भवन लगायत दस्तावेजहरु समेत जलेर नष्ट भए,’ प्रतिवेदनमा भनिएको छ, ‘सिंहदरबार र शितल निवासका भवनहरु मात्र होइनन्, ती जनताको आस्थाका केन्द्र बिन्दु पनि हुन् । यी भवनहरु माथिको आक्रमणले नेपाली सेनाप्रति नेपाली नागरिकहरुको आस्था र विश्वास डगमगाएको छ ।’

सिंहदरबार र राष्ट्रपति भवन शितल निवास जस्ता महत्वपूर्ण भवनहरुमा चारैतर्फ नेपाली सेनाको बख्तरबन्द गाडीसहित नेपाली सेनाको तैनाथी समयमानै परिचालन भएको भए प्रदर्शनकारीहरुलाई प्रहरीले भित्र प्रवेश गर्न नदिई बाहिरनै रोकी उक्त धरोहरहरु सुरक्षित राख्न गर्न सक्ने बलियो सम्भावना रहेको समेत उल्लेख गरिएको छ । तर सुरक्षाको सम्पूर्ण जम्मेवारी लिएको नेपाली सेनाले समयमानै परिचालित गर्न सकेको नदेखिएको भनिएको छ ।

सेनाले चाहिँ आफूहरुले प्रतिरोध गर्दा गोली चलाउनुपर्ने र त्यसले थप क्षति हुनसक्ने भएकाले संयमता अपनाएको बताउँदै आएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले चाहिँ नेपाली सेना स्वतः सडकमा उत्रने संस्था नभएको भन्दै भने, ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइ सकिएको र आन्दोलनकारीका माग सम्बोधन हुने आँकलन गरिएको अवस्थामा २४ गते विषम परिस्थिति उत्पन्न हुन सक्ने ठोस अनुमान नगरिएको हुँदा सेना परिचालनबारे कुनै निर्णय वा छलफल भएको थिएन ।’

उनले समन्वय अभावको आरोपलाई अस्वीकार गर्दै सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, विमानस्थल, इन्धन डिपो, कारागार तथा अन्य सरचनाहरु जोगाउन सेनाले भूमिका खेलेको बताएका छन् । ‘मानवीय क्षति न्यून राख्न अत्यन्त संयमता अपनाइएको थियो, नेपाली सेना स्पष्ट कार्यादेश र संवैधानिक प्रावधानबिना परिचालित हुँदैन भन्ने विषयमा सबै स्पष्ट हुन आवश्यक छ,’ उनले आयोगलाई दिएको बयानमा भनेका छन् ।

सेनालाई सहयोगको अनुरोध गर्दा समयमा सम्बोधन नभएको गुनासो सुन्नमा आए पनि त्यो यर्थाथ नभएको सिग्देलले बताएका छन् । ‘नेपाली सेनाले दमकल प्रयोग गरी सिंहदरबारस्थित राष्ट्रिय डाटा सेन्टर तथा अर्थ मन्त्रालयको डाटा सेन्टरमा लागेको आगलागी नियन्त्रण गरेको हो,’ उनले भने, ‘राष्ट्रपति निवास, प्रधानमन्त्री निवासका मुख्य संरचना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा देशभरका विमानस्थल, इन्धन डिपो, कारागार लगायतका महत्वपूर्ण संरचनाहरू नेपाली सेनाको पहलमा जोगाइएको हो ।’

कार्की आयोगकाे प्रतिवेदन सम्बन्धि समाचारहरु

कान्तिपुर

Link copied successfully