नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगलाई दिएको बयानमा भनेका छन्, 'नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णयबाट मात्र सेना परिचालन हुने व्यवस्था रहेको छ ।'
काठमाडौँ — नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वत: सडकमा उत्रिने संस्था नभएको बताएका छन् । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् ।
'नेपाली सेना स्वत: सडकमा उत्रिने संस्था होइन, संवैधानिक तथा कानुनी प्रक्रिया पूरा भई नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णयबाट मात्र परिचालन हुने व्यवस्था रहेको छ,' उनले भनेका छन् ।
'भदौ २३ मा सुरक्षा परिषद्को बैठक बस्दासम्म गृहमन्त्रीको राजीनामा भइसकेको, बन्द गरिएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइसकिएको र आन्दोलनकारीका माग सम्बोधन हुने आँकलन गरिएको अवस्थामा २४ गते विषम परिस्थिति उत्पन्न हुन सक्ने ठोस अनुमान नगरिएको हुँदा सेना परिचालनबारे कुनै निर्णय वा छलफल भएन,' आयोगलाई दिएको बयानमा उनले भनेका छन् ।
