मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो । न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं ।-दाहाल
काठमाडौँ —
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन् ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा दाहालले यदि हिंसात्मक गतिविधिमा पार्टीसँग सम्बन्धित व्यक्ति रहेछन् भने कानुनअनुसार कारबाही गर्न पनि भनेका छन् । उनले भदौ २४ गते सरकारी भवन र निजी भवनहरूमा भएको तोडफोड र आगजनी सरकारविरुद्धको मात्र आक्रोश नभएको बताएका छन् । उनले भनेका छन्, 'भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकार विरुद्धको आक्रोश मात्र नभई व्यवस्था माथि नै प्रहार गर्ने नियोजित प्रयास थियो भन्ने मेरो धारणा छ ।'
आफूले भदौ २३ गते भएको दमनको भर्त्सना गर्दै सहादत प्राप्त प्रदर्शनकारीलाई सहिद घोषणा गर्न तथा अवस्था साम्य बनाउन सार्वजनिक अपिल गरेको र भोलिपल्ट सर्वदलीय बैठक आह्वान गरेको दाहालको भनाइ छ । 'भदौ २४ गते बिहान सिंहदरबारमा सर्वदलीय बैठकमा सहभागी भएँ र परिस्थिति जटिल बन्दै गएपछि अपराह्नपछि सुरक्षा निकायको सुरक्षामा बसें । मेरो बुझाइमा उक्त आन्दोलनको पृष्ठभूमि सरकारको कार्यशैलीप्रति बढ्दो जन असन्तुष्टि र आक्रोश हो । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध त्यसको तात्कालिक कारण बनेको देखिन्छ,' दाहालको बयानमा उल्लेख छ । भदौ २३ गते युवाहरूको आक्रोश प्रदर्शनका रूपमा देखिएको र २४ गते उक्त आन्दोलनको स्वरूप बदलिएको र गलत तत्त्वहरूले त्यसलाई उपयोग गरेको समेत दाहालले बयानमा बताएका छन् ।
भदौ २४ गते काठमाडौंमा बस्दै आएको भाडाको निवास तथा चितवनस्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको दाहालले बताएका छन् । साथै छोरीको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार पनि गलत रहेको उनको भनाइ छ । उनले बयानमा भनेका छन्, 'काठमाडौंमा मेरो आफ्नै घर छैन । मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो । न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं ।'
