देउवाले बयानमा भनेका छन् : तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ । देशमा युवाको भावना समेटेर नीतिगत, कानुनी र संस्थागत सुधार गर्नुपर्छ ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नो निवासमा भेटिएको भनेको पैसाको भिडियो एआईद्वारा बनाइएको हुन सक्ने बताएका छन् ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका देउवाले भनेका छन्, 'नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक सञ्जालको विवरण एआई-जेनेरेटेड हुनुपर्छ । सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन । यो नितान्त षड्यन्त्र हो तर कसले गर्यो थाहा भएन ।'
त्यस्तै देउवाले भदौ २३ गते बेलुका बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको समेत बयानमा बताएका छन् । उनले भनेका छन्, '२०८२ भाद्र २३ गतेको दिन म बुढानीलकण्ठ वडा नं २ बासुकी मार्गस्थित मेरो निजी निवासमा थिएँ र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ ।'
त्यस्तै भदौ २४ गते प्रदर्शनकारीहरूले निवासमै छिरेर आफूहरूमाथि हातपात गरेको देउवाले बयानमा भनेका छन् । उनले भनेका छन्, 'भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दारोक्दै हामीमाथि हातपात भयो र केही जेनजी युवाहरूले बचाए। हामी राति १० बजेतिर सुरक्षित स्थान पुग्यौं ।'
२३-२४ गतेको घटनामा प्रहरीले आकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा आफू सहमत नरहेको पनि देउवाको भनाइ छ । 'लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ। विद्यार्थी संगठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ । मुलुकमा गैर-राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुँदैन । तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ । देशमा युवाको भावना समेटेर नीतिगत, कानुनी र संस्थागत सुधार गर्नुपर्छ,' उनले भनेका छन् ।
आयोगले भने पूर्वप्रधानमन्त्री एवं तत्कालीन कांग्रेस सभापति देउवाको घरमा भेटिएको पैसाबारे अनुसन्धान गर्न सिफारिस गरेको छ ।
२३ भदौमा एकैदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रदर्शनकारी प्रहरी ब्यारिकेड तोडेर संसद् भवनसम्म पुगेका थिए । त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण संरचना आगजनीमा परेका थिए ।
नेताहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो । त्यही क्रममा देउवा निवासमा तोडफोड र आगजनी हुँदा पैसा भेटिएको थियो ।
त्यसबारे अनुसन्धान हुनुपर्ने भन्दै आयोगले सरकारलाई सिफारिस गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले घटनाको केही दिनपछि देउवा निवासमा पुगेर जाँचसमेत गरेको थियो । तर, त्यसको प्रगतिबारे हालसम्म विवरण सार्वजनिक भएको छैन ।
