नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीको बयान : पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन । उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन ।
काठमाडौँ — नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले रास्वपा सभापति रवि लामिछानेलाई छाड्ने पत्रमा भीडले डरधम्की देखाई हस्ताक्षर गर्न बाध्य पारेको बताएका छन् ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा तत्कालीन जेलर जोशीले भदौ २४ गते बिहानैदेखि कारागारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भड्काउने सामग्री पोस्ट गरिएको बताएका हुन् । 'भदौ २३ गते अवस्था सामान्य थियो । भदौ २४ गते बिहानैदेखि सामाजिक सञ्जालमा भड्काउने सामग्रीहरू देखिन थाले र कारागार वरिपरि अनधिकृत निगरानी बढ्न थालेपछि मैले प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, शान्ति सुरक्षा महाशाखा तथा कारागार व्यवस्थापन विभागलाई जानकारी गराई आकस्मिक सुरक्षा बैठक बोलाएँ उक्त बैठकमा भीड नियन्त्रण रणनीति वैकल्पिक निकास योजना र समग्र सुरक्षात्मक तयारीका विषयमा छलफल गरियो,' उनले भनेका छन् ।
भदौ २४ गते दिउँसो करिब १३:४० बजे हजारौंको संख्यामा प्रदर्शनकारीहरूले 'रवि लामिछानेलाई छोड' भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरू गरेको जोशीको बयान छ । 'भीडको अवस्था नियन्त्रणबाहिर जाँदै गएको देखेपछि मैले पुनः प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई सेना परिचालन गर्न लिखित तथा मौखिक अनुरोध गरें, तर तत्काल थप सुरक्षा बल उपलब्ध हुन सकेन । करिब १३:५० बजे भीडले मुख्य गेट तोड्दै जबर्जस्ती प्रवेश गरी कारागार आफ्नो नियन्त्रणमा लियो,' उनले भनेका छन् ।
त्यस समयमा कारागारमा १२८१ जना कैदीबन्दीहरू रहेको पनि जोशीले आयोगलाई जानकारी दिएका छन् । 'भीडले रवि लामिछानेलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै मैले उहाँलाई अस्थायी रूपमा कारागारभित्रकै मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा सार्ने निर्णय गरे पछ उहाँले “भीडलाई सम्झाउने प्रयास गर्छु भन्दै माइक माग्नुभयो,' उनले बयानमा भनेका छन्, 'त्यसपछि सुरक्षाकर्मीहरूले उहाँलाई भीड समक्ष पठाए, तर भीडले उहाँलाई कारागारबाट बाहिर लग्यो ।'
उक्त घटनाबारे आफूले तुरुन्तै गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको पनि उनको भनाइ छ । लामिछानेलाई बाहिर लगिएपछि भीड झन् आकोशित बनेको र कारागार प्रशासनको अभिलेख कोटा र प्रहरी भवनमा आगजनी गरिएपछि र प्रहरी तथा सशस्त्र प्रहरी दुवै पछाडि हट्न बाध्य भएको तत्कालीन जेलर जोशीले बयानमा भनेका छन् । 'म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौं । सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन-मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो । पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन । उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन,' उनले भनेका छन् ।
त्यसपछि भीडले कैदीबन्दी ब्लकहरूमा आगजनी र तोडफोड गरी १२८० जना सम्पूर्ण कैदीबन्दीहरूलाई बाहिर निकालेको पनि जोशीको बयानमा उल्लेख छ । 'घटनाको केही दिनपछि ७४९ जना कैदीबन्दीहरू कारागारमा फर्किए, ७० जनालाई अन्य कारागारमा स्थानान्तरण गरियो र ४५९ जना अझै फरार छन् । उक्त दिन मानवीय क्षतिका रूपमा केही प्रहरीहरू सामान्य घाइते मात्र भएका थिए,' जोशीले बयानमा भनेका छन् ।
कारागारमा कार्यरत सुरक्षाकर्मीहरूले उच्च संयमता, विवेक र नेतृत्व प्रदर्शन गरेकै कारण ठूलो नरसंहार हुनबाट कारागार जोगिएको पनि उनको दाबी छ । उनले भनेका छन्, 'मेरो दृष्टिमा भदौ २४ को घटना कुनै प्रशासनिक लापरवाही नभई नियन्त्रणबाहिरको संकटपूर्ण अवस्था थियो ।'
