काठमाडौंका तत्कालीन सीडीओको बयानः स्थिति नियन्त्रणमा नआए आवश्यक बल प्रयोग गर्ने निर्देशन थियो 

‘मैले घुँडामुनि रबरको गोली चलाउने आदेश दिएको थिएँ, सिधै गोली चलाउने आदेश थिएन’

चैत्र ११, २०८२

गौरव पोखरेल

Statement by the then CDO of Kathmandu: There was an instruction to use necessary force if the situation was not brought under control.

What you should know

काठमाडौं — जेन-जी आन्दोलनका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका छविलाल रिजालले केन्द्रीय सुरक्षा समितिको बैठकका सुरक्षा तयारीबारे भएको छलफलका विवरणबारे जाँचबुझ आयोगलाई जानकारी दिएको खुलेको छ । 

आयोगको प्रतिवेदनमा समावेश उनको बयानमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुँवेर खापुङले प्रदर्शनमा ‘कथंकदाचित बल प्रयोग गर्नुपर्ने स्थिति आयो भने के गर्ने भन्नेबारे लाइन अफ एक्सन स्पष्ट हुनुपर्छ’ भन्दै निर्देशन मागेको उल्लेख छ । जवाफमा बल प्रयोगको सिद्धान्तअनुसार सिलसिलेवार रुपमा न्यूनतम बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिनु भनिएको उनले बयान दिएका छन् । उनले भनेका छन्,' ‘तर त्यसबाट पनि स्थिति नियन्त्रणमा नआएर निषेधित क्षेत्र उल्लंघन, हुलदंगा, तोडफोड र आगजनी जस्ता उच्छृंखल गतिविधि भएमा सावधानीपूर्वक आवश्यक बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिनु भन्ने निर्देशन प्राप्त भएको थियो ।’

२३ भदौ ७ बजेदेखि नै आफूले जिल्ला सुरक्षा समितिको कमाण्ड सेन्टर खडा गरी पदाधिकारीसँगै बसेर अवस्थाको अनुगमन गरेको उनले बताएका छन् । प्रदर्शनकारीहरू ब्यारिकेड तोडेर अगाडि गएपछि गृहसचिवलाई जानकारी गराएको उनले बताएका छन् । ‘उहाँबाट सिलसिलेवार रुपमा न्यूनतम बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिनु भन्ने निर्देशन प्राप्त भयो,’ उनले भनेका छन् । 

त्यसपछि आफूले प्रदर्शनकारी संसद् भवनतर्फ बढ्दै शान्ति भंग हुने अवस्था देखेपछि गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलई फोन गरेर कर्फु लगाउनुपर्ने अवस्था आएको जानकारी गराएको भनेका छन् । त्यसपछि कर्फु आदेश जारी भएको उनले भनेका छन् । 

उनले आफूले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको भए पनि अन्तिम बल अर्थात सिधै गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । 

तर, सोही तनावपूर्ण अवस्थामा आफूले प्रहरीको रेडियो सेटबाट पहिले प्रहरी महानिरीक्षक र त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले आवश्यकताअनुसार अवस्था लियन्त्रणमा लिन फायर खोल्नु भन्ने आदेश दिएको सुनेको उनले बताएका छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully