विमलका परिवारले उपचारका क्रममा लापरबाही भएको आशंका समेत व्यक्त गरेका छन् ।
What you should know
काठमाडौँ — भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा घाइते भएका कक्षा १२ मा अध्ययनरत विमल भट्टको मृत्यु भएपछि परिवारले सुरक्षा निकाय र अस्पताल दुवैको गल्ती रहेको बयान दिएका छन् ।
विमलका दाइ अनिल भट्टले जाँचबुझ आयोगलाई दिएको बयान अनुसार विमल साथीहरूसँग स्वतःस्फूर्त रूपमा आन्दोलनमा सहभागी भएका थिए । भदौ २३ गते बानेश्वर चोकमा भएको प्रदर्शनका क्रममा उनलाई गोली लागेको उनले बताएका छन् । घटनाअघि विमलसँग भाइबरमार्फत २३ गते अन्तिम पटक कुराकानी भएको र त्यसपछि के भयो भन्ने स्पष्ट जानकारी नपाएको अनिलले जनाएका छन् । त्यही दिन बानेश्वर चोकमा गोली लागेपछि कसले अस्पताल पुर्यायो भन्ने समेत खुल्न नसकेको उनको भनाइ छ । त्यसै दिन दिउँसो १२ बजेर ४५ मिनेट जाँदा सिभिल अस्पतालमा विमलको मृत्यु घोषणा गरेको पछि थाहा पाएको जनाएका छन् ।
विमलका परिवारले उपचारका क्रममा लापरबाही भएको आशंका व्यक्त गरेका छन् । साथै, सुरक्षाकर्मीले आक्रमक र दमनकारी रुपले बिना चेतावनी छातीमा गोली प्रहार गरेको जनाएका छन् ।
घटनापछि अस्पताल र प्रहरी प्रशासनले औपचारिक रूपमा बयानसमेत नलिएको भन्दै उक्त विषयमा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
परिवारले नेपाल सरकारबाट १५ लाख रुपैयाँ राहत प्राप्त गरेको जनाएका छन् । तर, दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने उनीहरुको माग रहेको उल्लेख गरिएको छ । तर, अहिलेसम्म पनि सरकारले पीडितको पक्षमा केही नगरेको प्रतिवेदनमा उनका परिवारले जनाएका छन् ।
उनका परिवारले नीतिस्तरका सबै, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी उच्च नेतृत्व र फिल्ड कमाण्डरसम्मलाई जिम्मेवार ठहर गर्दै छानबिनको दायरा फराकिलो बनाउनुपर्ने माग गरेका छन् ।
भदौ २३–२४ का घटनाले राज्यको जवाफदेहीता कमजोर देखिएको उल्लेख गर्दै भविष्यमा भ्रष्टाचार र बेथिति नरहोस् भन्ने चाहना रहेको जनाएका छन् । अबका दिनमा भ्रष्टाचारविरुद्ध नागरिकले आवाज उठाउँदा त्यसरी मृत्युवरण अबका दिनमा गर्न नपरोस् भन्ने चाहेको विमलका परिवारले जनाएका छन् । यस्ता किसिमका घटना नदोहोरिन सुशासन, भ्रष्टाचार नियन्त्रण र जिम्मेवार नेतृत्व आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
