जाँचबुझ आयोगसँगको बयानमा के भनेका थिए नेताहरूले ?   

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रमुख दलका नेताहरूले २३ र २४ भदाैमा भएको घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

What did the leaders say in their statements to the Commission of Inquiry?

What you should know

काठमाडौं — २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रमुख दलका नेताहरूले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । 

आयोगले विभिन्न पदाधिकारी तथा नेताहरूसँग लिएको छुट्टाछुट्टै बयानका क्रममा उनीहरूले घटनामा आफूहरूको प्रत्यक्ष संलग्नता नरहेको जिकिर गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई २३ भदौको सुनियोजित रूपमा उत्तेजना फैलाइएकाले युवाहरूको ज्यान जानेगरी हताहतीको घटना भएको बयान दिएका छन् । उनले योजनाबद्ध रूपमा संसद् भवनमा आक्रमण भएको र त्यसपछि गोली चलेको दाबी पनि गरेका छन् । उनले आन्दोलनकारीमाथि प्रहरीलाई आदेश दिने नभइ त्यसको जिम्मेवारी विभागीय मन्त्रालयको रूपमा गृह मन्त्रालयको रहेको उहाँको जिकिर छ । 

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पनि बयानमा आन्दोलनका क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका सूचनामा सत्यता नभएको तर्क गरेका छन् । आफ्नो घरमा भेटिएको रकमबारे सार्वजनिक भएका भिडियोहरू एआईबाट बनेको जिकिरसमेत उनले गरेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बयानका क्रममा २४ भदौको घटना सरकारविरुद्धको आक्रोशमात्र नभइ व्यवस्थामाथि नै प्रहार गर्ने नियोजित प्रयास भएको बताएका छन् । उनले आफ्नी छोरी गंगा दाहालको घरमा अवैध रकम भेटिएको गलत प्रचार गरिएको दाबी गर्दै २३ भदौमा युवाहरूको आक्रोश प्रदर्शनका रूपमा देखिए पनि २४ भदौमा गलत तत्त्वहरूले त्यसलाई उपयोग गरेको जिकिर गर्नुभएको छ । 

यसैगरी कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन-जी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य देखेको बयान दिएका छन् । उनले राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न नमिल्ने तर्क गर्दै घटनाक्रम सुरू हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको बयान दिएका छन् । 

कान्तिपुर

Link copied successfully