जाँचबुझ आयोगको प्रतिवेदन: पेट्रोल बम बनाउनेदेखि अफवाहसम्मको अखडा बन्यो ‘डिस्कर्ड’

प्रतिवेदनमा समेटिएका विवरणहरूले यसअघि कान्तिपुरमा प्रकाशित समाचारमा उठाइएका आशंका र प्रश्नहरूलाई थप आधार दिएको छ । प्रतिवेदनले 'डिस्कर्ड'मा भएका संवाद र गतिविधिको स्रोतका रूपमा कान्तिपुरलाई नै उद्धृत गरेको छ ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Commission of Inquiry Report: 'Discord' has become a hotbed for everything from petrol bomb making to rumors

What you should know

काठमाडौँ — भदौ २३ को जेन-जी आन्दोलन र २४ को प्रदर्शनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनले डिजिटल प्लाटफर्म 'डिस्कर्ड' लाई आन्दोलनको तयारी र बिस्तारको केन्द्रीय माध्यमका रूपमा औंल्याएको छ । प्रतिवेदनमा समेटिएका विवरणहरूले यसअघि कान्तिपुरमा प्रकाशित समाचारमा उठाइएका आशंका र प्रश्नहरूलाई थप आधार दिएको छ । 

प्रतिवेदनले 'डिस्कर्ड'मा भएका संवाद र गतिविधिको स्रोतका रूपमा कान्तिपुरलाई नै उद्धृत गरेको छ । अर्थात्, डिजिटल संवादमार्फत आन्दोलन कसरी उग्रतर्फ मोडियो भन्ने विश्लेषणमा प्रतिवेदनले कान्तिपुरको रिपोर्टिङलाई आधार सामग्रीका रूपमा प्रयोग गरेको देखिन्छ ।

कान्तिपुरले घटनापछि रहेको उल्लेख गर्दै आगजनीमा प्रयोग भएका सामग्री र त्यसको पृष्ठभूमिबारे प्रश्न उठाएको थियो । आयोगको प्रतिवेदनले भने त्यही प्रश्नलाई डिजिटल तहबाट थप विस्तार गर्दै 'डिस्कर्ड'मा भएका संवादलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।

आगो निभे पनि बलिरहेको प्रश्न : के आगजनीमा 'केमिकल' पनि प्रयोग भएको थियो ?

प्रतिवेदनअनुसार, आन्दोलनको प्रारम्भिक योजना कहाँ भेला हुने, कहिले जाने र कसरी अघि बढ्ने 'डिस्कर्ड' मार्फत तय गरिएको थियो । ‘हामी नेपाल’ अन्तर्गतका 'युथ अगेन्स्ट करप्सन' र ‘युवा हब’ नामका सर्भरहरूमा ठूलो संख्यामा युवाहरू सक्रिय थिए । तर, यही प्लाटफर्ममा क्रमशः हिंसात्मक सन्देशहरू बढ्दै गएको देखिएको छ ।

भदौ २२ को रातिदेखि नै पेट्रोल बम (मोलोटोभ) बनाउने र प्रयोग गर्नेबारे छलफल सुरु भएको प्रतिवेदनमा उल्लेख छ । बोतल, पेट्रोल र कपडाको प्रयोगबारे विस्तृत सन्देश आदानप्रदान भएका थिए । भदौ २३ गते दिउँसोदेखि नै “मोलोटोभ प्रयोग गर्नुपर्छ” र “जति सकिन्छ बनाएर ल्याउने” जस्ता सन्देशहरू निरन्तर पठाइएको उल्लेख छ ।

कान्तिपुरको समाचारमा आगजनीमा मोलोटोभ लगायतका सामग्री प्रयोग भएको आशंका गरिएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि निषेधित क्षेत्र तोडिएको, प्रहरीसँग झडप भएको र अन्ततः कर्फ्यु लगाइएको घटनाक्रम पनि प्रतिवेदनमा उल्लेख छ । कर्फ्यु घोषणापछि 'डिस्कर्ड' मा भएका संवादहरूमा दुई फरक धार देखिएको आयोगको निष्कर्ष छ ।

केही प्रयोगकर्ताहरूले प्रदर्शनकारीलाई संयम अपनाउन आग्रह गरेका थिए भने अर्कोतर्फ 'कर्फ्यु नमान्ने' र प्रतिकारमा उत्रिने सन्देशहरू समेत आएका थिए । कतिपय सन्देशहरूमा प्रहरी र सरकारी संरचनामाथि आक्रमण गर्न उक्साहट देखिएको उल्लेख छ ।

प्रतिवेदनले 'डिस्कर्ड'मा हतियार सम्बन्धी छलफलसमेत भएको औंल्याएको छ । केही प्रयोगकर्ताहरूले बाहिरबाट बन्दुक वा विस्फोटक ल्याउने सम्भावनाबारे कुरा गरेको उल्लेख छ । यस्तै, अपुष्ट सूचना फैलाएर भीडलाई उत्तेजित बनाउने प्रयास पनि देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एउटा कलेजमा ‘बलात्कार भइरहेको’ भन्ने दाबीपछि स्थिति थप तनावपूर्ण बनेको र भोलिपल्ट त्यही क्षेत्रमा आगजनी भएको घटनालाई पनि प्रतिवेदनले उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।

कान्तिपुर

Link copied successfully