भदौ २३-२४ मा केके भएको थियो? आगजनीमा ‘सोडियम’, ‘म्याग्नेसियम’ जस्ता रसायनदेखि ‘मोलोटोभ’ र ‘नेपोल्म’ जस्ता ककटेल विस्फोटक प्रयोग भएको आशंका छ । ‘डिस्कर्ड’मा कस्ता संवाद भएका थिए ?
What you should know
काठमाडौँ — २३ भदौमा भएको जेन–जी आन्दोलनका प्रयोग सबैभन्दा प्रभावशाली प्लाटफर्म थियो– ‘डिस्कर्ड’ । मूलतः भिडियो गेम खेल्नेहरूको मञ्च ‘डिस्कर्ड’ मा युवा संगठित भएका थिए र त्यहींबाट भ्रष्टाचारविरोधी आन्दोलनको माहोल तयार भएको थियो ।
तर २४ भदौमा भने आन्दोलन र आवाजभन्दा तोडफोड र आगजनीका योजना पनि यही प्लाटफर्मबाट फैलिन थाले । जसले २३ भदौ आन्दोलनका लागि र २४ भदौको विध्वंस नेपालको इतिहासमा समानान्तर रूपमा दर्ज हुन पुगेका छन् ।
आन्दोलनका लागि मूलतः डिस्कर्डमा हामी नेपालको ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक दुई वटा सर्भर (भर्चुअल समुदाय) बढी सक्रिय थिए । ती सर्भरमा छलफल गरेरै युवाले कहाँ, कति बेला र कसरी भेला हुने भन्ने पनि तय गरेका थिए । जेन–जी आन्दोलनको बलमा तत्कालीन सरकार ढलेपछि डिस्कर्डमै भएको भोटिङपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा सिफारिस गरिएको थियो ।
के हो डिस्कर्ड ?
डिस्कर्ड निःशुल्क सञ्चार प्लाटफर्म हो, जहाँ प्रयोगकर्ताले सर्भर (भर्चुअल समुदाय) बनाएर वा अरूको सर्भरमा जोडिएर टेक्स्ट, अडियो र भिडियो च्याट गर्न सक्छन् ।
सन् २०१५ मा अमेरिकी युवाद्वय जेसन सिट्रोन र स्ट्यान भिस्नेभ्स्कीले गेमरहरूबीच सहकार्यका लागि सुरु गरेको यो प्लाटफर्म अहिले विश्वका ६० करोडभन्दा बढी प्रयोगकर्तासँग जोडिएको छ । एउटै सर्भरमा ५ लाखसम्म सदस्य जोडिन सक्ने र विभिन्न विषयका लागि छुट्टाछुट्टै च्यानल बनाउन सकिने यो प्लाटफर्म सुरुमा गेमरहरूका लागि मात्र केन्द्रित थियो ।
तर पछिल्लो समयमा यो समुदाय निर्माण, सामाजिक छलफल र राजनीतिक आन्दोलन सञ्चालनका लागि व्यापक रूपमा प्रयोग हुन थालेको छ । इरान, हङकङ, सर्बिया र अमेरिकाका विभिन्न आन्दोलनमा यही प्लाटफर्मबाट मानिस संगठित भएका हुन् । यसमा हुने छलफलमा भाग लिनेले सामान्यतया एनोनिमस (छद्म) परिचयमा कुरा गर्छन् । तर, कम्पनीले भने प्रयोगकर्ताको इमेल मात्र होइन, (इन्टरनेट प्रोटोकल) आईपी एड्रेस पनि सुरक्षित राख्छ ।
डिस्कर्डमा कस्ता कुरा भएका थिए ?
भ्रष्टाचारविरुद्ध आक्रोशित नेपाली जेन–जीहरू पहिलेदेखि नै विभिन्न सामाजिक प्लाटफर्ममा सक्रिय थिए । उनीहरूले टिकटक, रेडिट जस्ता प्लाटफर्महरूमा ‘नेपोकिड्स’, ‘नेपोबेबिज्’ जस्ता अभियान चलाए र २३ भदौको आन्दोलनको तयारीका लागि ‘डिस्कर्ड’ लाई प्रमुख प्लाटफर्म बनाए ।
कान्तिपुरले यो स्टोरी तयार पार्न ‘युथ अगेन्स्ट करप्सन (हामी नेपाल)’ डिस्कर्ड सर्भरमा भएका ५४ हजार ६१ र ‘युवा हब’ मा करिब ६० हजार संवादको विश्लेषण गरेको छ । ७ सेप्टेम्बर (२२ भदौ) को राति ९ बजेर ३५ मिनेटदेखि सेप्टेम्बर ९ (२४ भदौ) मध्यरातसम्म करिब ५० घण्टामा यी सर्भरमा कुल एक लाख १४ हजार पटक संवाद लेखिएका थिए । 
आन्दोलनको अघिल्लो दिन ७ सेप्टेम्बरमा भएको कुराकानीअनुसार युवाहरू शान्तिपूर्ण प्रदर्शनको तयारीमा छन् । स्कुल–कलेजको युनिफर्म लगाएर आन्दोलनमा जाने, बिहान ९ बजे माइतीघरमा भेला हुने उनीहरूको योजना थियो । काठमाडौंबाहेक प्रमुख सहरहरूमा पनि समानान्तर प्रदर्शन गर्ने तयारी गरेको उनीहरूको संवादबाट पुष्टि हुन्छ ।
विभिन्न निहित स्वार्थ भएका समूह घुसपैठ गर्न सक्ने जोखिमप्रति जेन–जी सचेत र चिन्तित रहेको देखिन्छ । सर्भरका सदस्यहरूले दुर्गा प्रसाईं, राजावादी र विभिन्न विद्यार्थी युनियनले आफ्नो आन्दोलनमा घुसपैठ गर्न सक्ने आशंका गरेका थिए । आफूलाई कांग्रेस महामन्त्री गगन थापाको ‘पीआर ग्रुप’ मा काम गरेको बताउने एक प्रयोगकर्ताले लेखेका छन्, ‘महेश बस्नेतको युवा फोर्स र दुर्गा प्रसाईंको राजावादीको समूहले आफ्नो फाइदाका लागि भोलिको प्रदर्शनलाई नियन्त्रण गर्न खोजिरहेका छन् । सचेत हुनु है सबै जना ।’
जेन–जीले प्रदर्शनका घटना सबै रेकर्ड गर्ने रणनीति पनि ७ सेप्टेम्बरमै बनाएका थिए । रेकर्ड गरेका सामग्री अन्तर्राष्ट्रिय समाचार संस्थामा पठाउने र आन्दोलनको सन्देश विश्वमञ्चमा पुर्याउने उनीहरूको योजना थियो । ‘हेरीहेयर’ नामक प्रयोगकर्ताले ७ सेप्टेम्बरमै लेखेका छन्, ‘मेक सियोर टु रेकर्ड स्टफ अप’ ।
युवाको छलफलमा भ्रष्टाचार, नेपो बेबी, करदाताको पैसा दुरुपयोग, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक सुधारलगायत विषय चर्चाको केन्द्रमा थिए । केही सदस्यले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने माग पनि राखेका थिए । ७ सेप्टेम्बरको बेलुका ९ बजेर ३५ मिनेटदेखि मध्यरातसम्म ६ सय ६० संवाद भएको देखिन्छ ।
डिस्कर्डमा भएको छलफलअनुसार नै २३ भदौमा स्कुल–कलेजको युनिफर्म लगाएर युवा भेला भएका थिए । सडकमा शान्तिपूर्ण आन्दोलन चलिरहँदा पनि डिस्कर्डमा संवाद रोकिएको थिएन । आन्दोलनलाई कसरी शान्तिपूर्ण बनाउने भनेर नै उनीहरूले धेरै छलफल गरेको देखिन्छ । तर प्रदर्शन उनीहरूले सोचेको जस्तो हुन सकेन । बानेश्वरको निषेधित क्षेत्र पुगेपछि भीड अनियन्त्रित बन्यो र प्रहरीसँग झडप सुरु भइहाल्यो । अन्ततः निषेधित क्षेत्रको ब्यारिकेड तोडियो । ब्यारिकेड कसले तोड्यो, किन तोडियो भनेर पनि सर्भरमा संवाद भएका छन् ।
तर डिस्कर्डमा भन्दा तीव्र गतिविधि सडकमा हुन थालिसकेको थियो । ब्यारिकेड तोडिएसँगै प्रदर्शनकारी संसद् भवनतर्फ बढे । प्रहरीले पानीको फोहोरा, अश्रुग्यास, रबरका बुलेट हुँदै लाइभ एम्युनिसन (धातुका गोली) सम्म चलायो । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गर्यो, त्यो दिनको आन्दोलनमा कुल २२ जनाको ज्यान गयो ।
‘डिस्कर्ड सर्भर’ मा यी सबै विषयमा बारम्बार छलफल भएको थियो । सरकार दमनमा उत्रिएकाले जनधनको क्षति नहोस् भनेर सडकबाट फर्कन पनि आह्वान भएको थियो । १२ बजेर २४ मिनेटमा सुकिट नामक प्रयोगकर्ताले लेखेका छन्, ‘कर्फ्यु अनाउन्समेन्ट भइसक्यो । प्लिज गाइज गेट द फ... आउट अफ संसद् भवन । दे क्यान सट यू ।’
३ बजेर ५५ मिनेटमा ‘सागात जी’ नामक प्रयोगकर्ताले अलिक अघि बढेर लेखे, ‘मोलोटोभ लिएर आउँदै छु म ।’ ५ बजेर ६६ मिनेटमा रुकेश नामक प्रयोगकर्ताले ‘यो मोलोटोभ जतिसक्दो बनाएर लिएर आऊ सबले’ लेखे । यसरी आन्दोलनको पहिलो दिन अपराह्नदेखि नै ‘मोलोटोभ’ मुख्य विषय बन्न थालिसकेको थियो ।
सन् १९३९–४० को हिउँदमा सोभियत संघ र फिनल्यान्डबीच भएको युद्धमा ‘मोलोटोभ ककटेल’ (पेट्रोल बम) को प्रयोग भएको थियो । आगो सल्काउन र फैलाउन प्रयोग हुने यो हतियार गैरकानुनी र प्राणघातक मानिन्छ ।
युवाहरूको आवाज र आक्रोशलाई अवमूल्यन गरेर सुरक्षाको फितलो तयारी गरेको सरकार सुरुमा क्रूर दमनमा उत्रियो भने हिंसा फैलिन थालेपछि असहायजस्तै बनेको थियो । त्यसपछि उत्तेजना फैलाउन भएका तयारीबारे सरकारी सुरक्षा संयन्त्र बेखबरजस्तै बनेका थिए ।
उता, केही युवाले २२ भदौमै मोलोटोभ ककटेल लिएर जाने कुरा गरेका छन् । कुशल नाम गरेका प्रयोगकर्ताले लेखेका छन्, ‘मोलोटोभ बनाउनेसम्म कुरा पुग्यो भने र्यान्डम प्लेसमा होइन, सिधा संसद् भवनमा जानुपर्छ ।’ २३ भदौमा आन्दोलन चलिरहँदा १ बजेर ५८ मिनेटमा काजी जिकियु नामक प्रयोगर्कताले ‘हो हो अब मोलोटोभ फाल आफ्नो साइडबाट’ लेखेका थिए ।
पहिलो दिनको आन्दोलनमा भएको दमनको प्रतिक्रियास्वरूप भोलिपल्ट २४ भदौमा प्रदर्शन हुने निश्चित थियो । नागरिक समाज पनि प्रदर्शनको पक्षमा थियो । तर उता डिस्कर्डमा भने प्रदर्शनलाई जतिसक्दो हिंसात्मक बनाउने सन्देश प्रवाह भइरहेका थिए ।
२३ भदौकै साँझ मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए पनि युवाको आक्रोश रोकिएन । गृहमन्त्रीको राजीनामाले मात्रै नपुग्ने तर्क उनीहरूको थियो । ‘रस्सिएन अंकल यु’ नामक प्रयोगकर्ताले ‘राजीनामा नरम सजाय हो’ भनी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।
तर त्यो भन्दा अघि बढेर ‘एनोनिमस’ नामक प्रयोगकर्ताले ७ बजेर ५० मिनेटमा लेखेका छन्, ‘राजीनामा गरेर ठूलो कुरा हुने होइन । अब गर्ने भनेको बियरको बोतलमा पेट्रोल हाल्ने अनि आगो लगाएर पुलिसतिर फाल्ने । जसले गरेर पुलिसहरू जलेर मरुन् । अनि अर्को, प्लिज संसद् भवनहरू हैन, ३/४ हजार जना भएर सानो होस् या ठूलो नेताहरूको घर घेरेर घरदेखि निकालेर लखेट्ने, गाडी निकालेर ठोक्ने । पुलिस हेडक्वार्टर जाने । आज गोली हान्न आदेश दिनेलाई घाँटी ...(हिंसात्मक सन्देश) । प्लिज किल पिपुल फ्रम द गभर्मेन्ट ।’ यी प्रयोगकर्ताले यही सन्देश १५ पटक पठाएका छन् ।
रातभर बारम्बार मोलोटोभको कुरा भएको छ । ८ बजे 'आबो' नामक प्रयोगकर्ताले ‘हामीलाई ग्रेनेड र मोलोटोभ चाहिन्छ’ लेखेका छन् । मोलोटोभ कसरी बनाउने भन्ने टिप्स पनि छरिन थालेका थिए । २४ भदौको बिहान ८ बजेर ५९ मिनेटमा ‘जोसेफ भिजारीनोभिक स्टालिन’ नामक प्रयोगकर्ताले मोलोटोभ बनाउने सूत्र सिकाउँदै लेखेका छन्, ‘ ... हिंसात्मक संवाद... ’ लेखेका छन् । एक्ज्युक्यु नामक प्रयोगकर्ताले सूत्र भन्दै लेखेका छन्, ‘... अनि एउटा कपडा हालिदेऊ बोतलको मुखदेखि मिक्चर छुने गरी । त्यसपछि मोलोटेभ रेडी ।’
आन्दोलन शान्तिपूर्ण बनाउन सबै युवा एकमत थिए, तथ्य त्यस्तो पनि होइन । केही युवाले आन्दोलनको अघिल्लो दिन नै मोलोटोभको कुरा गर्न थालिसकेका थिए । २२ भदौको बिहान १० बजेर ४० मिनेटमा आईडीकेहुआईएम नामक प्रयोगकर्ताले ‘गाइज् मोलोटोभ नि बनाऊ है... बोतलमा...’ भनेर लेखिसकेका थिए । त्यस्तै नेपल्म बनाउने विषयमा पनि कुराकानी भएको थियो । ‘जोसेफ’ नामक प्रयोकर्ताले लेखेका छन्, ‘नेपल्म बनाउनः ... । ... को बक्स लिएर घोल्नू । ...बक्समा राख... फाल ।’
हतियार तस्करीसम्मको संवाद
यसरी डिस्कर्डमा भइरहेको संवादअनुसार फिल्डमा के भइरहेको थियो ? ‘ओपन सोर्स’ तथा सञ्चारकर्मीहरूले संकलन गरेका भिडियोहरूमा केही व्यक्तिले पेट्रोल बम फाल्दै गरेको देखिन्छ । बानेश्वरस्थित संसद् भवन जल्दै गर्दा केही व्यक्तिले पेट्रोल बम फ्याँकिरहेको भिडियोमा स्पष्ट देखिन्छ । अनुसन्धानमा रहेका प्रहरी अधिकृतहरू पनि आगजनीका क्रममा ‘पेट्रोल बम’ प्रयोग भएको बताउँछन् ।
सुरक्षा अधिकारीहरूका अनुसार दोस्रो विश्वयुद्धका बेला सैनिकसँग गोलीगट्ठा सकिएपछि बोतलमा पेट्रोल हालेर ‘बम’ का रूपमा हान्ने अभ्यास गरिएको थियो । यो अभ्यास बिस्तारै अन्यत्र पनि फैलियो । तर, पछिल्ला दिनमा पेट्रोलमा अन्य रसायनसमेत प्रयोग गर्न थालिएको छ । ‘केमिकल पाउन गाह्रो हुने स्थिति होइन, पोटासियम सरसफाइमा पनि प्रयोग हुन्छ,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी भन्छन्, ‘त्यसको गलत प्रयोगले विध्वंस मच्चाउने हो, त्यसैले अनुसन्धान गरेर निर्क्यौल सकिन्छ ।’
डिस्कर्डमा हतियार मगाउने संवाद पनि भएको थियो । प्रदर्शन केही दिन लम्बिन सक्ने उनीहरूको बुझाइ थियो । २३ भदौको राति नै ११ बजेर ४९ मिनेटमा ग्रिनीस्हु नामक प्रयोगकर्ताले भनेका छन्, ‘फ... गनको सोलुसन चाहियो क्या ।’ तिनै प्रयोगकर्ताले इन्डियाबाट बन्दुक मगाउन सकिने पनि लेखेका छन् । ती प्रयोगकर्ताले ११ बजेर ५१ मिनेटमा ‘इन्डियाबाट इम्पोर्ट हान्दिम म’ लेखेलगत्तै ‘एबाउट ५० ग्रेनेड आउन सक्छ’ लेखेका छन् । त्यही प्रयोगकर्ताले ११ बजेर ५६ मिनेटमा लेखेका छन्, ‘इन्डियाको केरलाको डिलरलाई चिनेको छु । भन्यो भने लिएर आउँछ ।’
‘कार्तिकेय’ जस्ता केही प्रयोगकर्ताले ‘गर्न सक्ने शान्तिपूर्ण प्रदर्शन नै हो’ भनी अनुशासनको पक्षमा आवाज उठाएका थिए । तर नेतृत्वको अभाव, क्रोधको फैलावटले समूहलाई संवादलाई हिंसात्मक बनाएको देखिन्छ ।
यही क्रममा डिस्कर्डमा मिथ्या सूचना पनि फैलिएको थियो । ‘टोनी’ नामक प्रयोगकर्ताले दाबी गरेका छन्, ‘ग्लोबल कलेजको होस्टलमा बलात्कार भइरहेको छ ।’ यो दाबी तत्काल फैलियो, त मोडरेटरहरू फ्लेम्स र टाइकु लगायतले यसलाई ‘झुटो समाचार’ भनी खण्डन गरे र प्रयोगकर्ताहरूलाई मिस्लिड पोस्ट च्यानलमा रिपोर्ट गर्न आग्रह गरे । तर आक्रोश र त्रास रोकिएको थिएन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार ग्लोबल कलेजको होस्टलमा बलात्कार भएको भन्दै सूचना आएपछि एउटा टोली त्यहाँ पुगेको थियो । ‘नेपाली सेना पनि खटिएको थियो, तर त्यहाँ पुग्दा त्यस्तो केही नभएको थाहा भयो,’ ती अधिकृत भन्छन् । तर अर्को दिन ग्लोबल कलेज जलाइएको थियो ।
२४ भदौमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएका थिए । यस विषयमा ‘म्याडडग’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘हत्याराहरूले कर्फ्यु लगाएछन् ।’ ‘जस्टडिपफ्राइड’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘८ः३० देखि कर्फ्यु छ । अहिले पुगिहालम् ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘जब २०/३० हजार भेला हुन्छौं । भाडमा जान्छ कर्फ्यु ।’ कतिपयले कर्फ्युमा निस्कन नहुने तर्क गरिरहेका छन् भने कतिपयले कि मर्ने कि मार्ने तर कर्फ्यु आदेश नमान्ने तर्क गरेका छन् । काजीले लेखेका छन्, ‘कर्फ्युले रोक्दा नि रोकिँदैन, जाने हो । कि मर्छ कि मार्छुम् ।’
निसानामा नेताको घर
२४ भदौमा कर्फ्यु उल्लंघन गर्दै युवा सडकमा निस्किए । बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा थियो । त्यसबारे ‘कोरेक्स’ नामक प्रयोगकर्ताले डिस्कर्डमा लेखेका छन्, ‘बानेश्वरमा एकदम आज टाइट सेक्युरिटी छ । सो लेट्स हिट बालकोट केपीको घरमा । धेरै पुलिस भए १०० जना होला ।’
त्यसपछि अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘गाइज केपी ओलीको घर वरपर ३०/४० जना पुलिस ग्यादर छन् । सो केपीको घरमा छिर्न गाह्रो छ ।’
त्यसबीच ‘जंगबहादुरराणा’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘केपीको घरमा नजाओ केटा हो । हाम्रो प्रदर्शन भ्रष्टाचारविरुद्धमा हो । अहिले केपी पीएम हो । त्यसको घरमा मेक्सिमम सुरक्षा होला, अनि केपी माओ जेदोङ सीसीपी (चाइना कम्युनिस्ट पार्टी) को ठूलो फ्यान .... मज्जाले सबैलाई मार्दिन्छ । हामी भ्रष्ट शेरबहादुर अनि मास मर्डरर प्रचण्डको घर जाम । अनि केपी आफैं डराउँछ ।’
यसरी छलफल भएजस्तै शीर्ष नेताहरूमध्ये सबैभन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा आगजनी हुन्छ । साढे १० बजे आसपासमा दाहालको घरमा आगलागी गर्ने संवाद भएको थियो ।
‘टक्सिक’ नामक प्रयोगकर्ताले १० बजेर ३२ मिनेटमा लेखेका छन्, ‘प्रचण्डेको घरमा मोलोटोभ फाल्दै छन् तर मान्छे एकदम थोरै छन् । ब्याकअप चाहिन्छ ।’ त्यसको केही समयपछि अर्थात् १० बजेर ४७ मिनेटमा ‘रिअक्सन’ नामक प्रयोगकर्ताले अपडेट गरेका छन्, ‘ढोलाहिटीको प्रचण्ड निवास जल्यो ।’
त्यतिबेला दाहालको घर जल्दै थियो । १२ बजेर ४ मिनेटमा ‘रिचरके’ नामक प्रयोगकर्ताले ‘शेर ...को घर जल्दै छ’ लेखेका छन् । त्यस्तै ‘एपलपी’ ले १२ बजेर ५४ मिनेटमा ‘ल केटा हो शेरबहादुर... को घर तोडफोड गरे है । हिजो भनेजस्तै’ लेखेका छन् । ‘नक्टरनल’ नामक प्रयोकर्ताले लेखेका छन्, ‘किन ... ? यस्तो चान्स पाको बेला ... शेरबहादुर... ।’
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई उद्धार गर्न नेपाली सेनाले करिब १० बजेतिरै सम्पर्क गरेको थियो । तर आफूलाई जोखिम नभएको र भाग्नु ठिक नहुने भन्दै देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसेका थिए । पछि जति बेला उनले सेनालाई उद्धार गर्न भन्दै सम्पर्क गरे, त्यसबेला ढिला भइसकेको थियो ।
पटकपटक प्रयास गर्दा पनि सैनिक हेलिकोप्टर नै अवतरण हुन सकेको थिएन । देउवा दम्पतीलाई राति करिब ९ बजेमात्र उद्धार गरेर सैनिक अस्पताल, छाउनी पुर्याइएको थियो । देउवाको घर जलिसकेपछि ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरिएको थियो ।
संसद् भवन जलाउने छलफल र समयको मेल
२४ भदौको १० बजे आसपास संसद् भवनमा प्रदर्शनकारीको ठूलै जमात भेला भइसकेको थियो । बानेश्वरको प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि देखिएकी थिइन् । उनले सरकारले युवाहरूको हत्या गरेकाले सबैले विरोध गर्नुपर्न आवाज उठाएकी थिइन् ।
बिस्तारै भीड बढ्दै गयो । ११ बजे आसपासदेखि बानेश्वर क्षेत्र तनावग्रस्त बन्न थाल्यो । यी सबैको अपडेट ‘डिस्कर्ड सर्भर’मा भइरहेको थियो । शीर्ष तहका नेताहरूको घरमा आगजनी र स्थिति तनावग्रस्त बन्दै गएपछि तत्कालीन प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।
बानेश्वरको जमात थप उत्तेजित बनिरहँदा यता सर्भरमा निरन्तर अपडेट भइरहेको थियो । १२ बजेर २० मिनेटमा ‘टियर्सटक’ नामक प्रयोगकर्ताले ‘लभ इमोजी’ सहित लेखेका छन्, ‘संसद् भवन जल्न लाग्यो गाइज् ।’ त्यसलगत्तै ‘नीतिन’ ले भनेका छन्, ‘गाइज् बालुवाटार रेड पीएम’ लेखेका छन् । बालुवाटारमा पनि भीड जम्मा भइसकेको थियो । यी संवाद भइरहँदा ‘सार्वजनिक सम्पत्ति नष्ट नगर’ भनेर लेख्ने प्रयोगकर्ताहरू पनि थिए । तर, आगजनी र तोडफोडले संसद् भवन क्षतविक्षत बन्छ । सुरक्षा बलले आत्मसमर्पण गर्छ । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिर्छन् ।
कान्तिपुरलाई प्राप्त भिडियोको मेटाडेटाअनुसार प्रतिनिधिसभाको बैठककक्षमा १ बजेर ५८ मिनेटमा आगो लागिसकेको छ । यसको अर्थ ‘डिस्कर्ड सर्भर’ मा भएको संवाद र फिल्डमा भएको गतिविधि मिल्दोजुल्दो छ ।
सिंहदरबार जोगाउन हारगुहार
संसद् भवन जलेसँगै विभिन्न क्षेत्रबाट अघि बढेका प्रदर्शनकारीको समूह १ बजे आसपास सिंहदरबार पुगिसकेको थियो । डिस्कर्ड संवादमा सिंहदरबार जलाउने विषयमा खासै कुरा भएको पाइँदैन ।
‘सामु’ नामक प्रयोगकर्ताले २ बजेर १ मिनेटमा ‘सिंहदरबार चाहिँ नजलाम् है’ लेखेका छन् । कान्तिपुरले प्राप्त गरेको ओरिजिनल भिडियोको मेटाडेटाअनुसार सिंहदरबारको मुख्य गेट अर्थात् पश्चिमी गेटमा २ बजेर ५ मिनेटमा आगो लागिसकेको थियो । आगो सल्किएपछिको सिंहदरबार जोगाउने विषयमा डिस्कर्डमा छलफल भएको थियो ।
२ बजेर ७ मिनेटमा ‘दिवाकर दुलाल’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘हार्दिक अपिल, प्रिय जनरल–जी साथीहरू, सिंहदरबार, काठमाडौं र हेटौंडामा राष्ट्रिय डेटा सेन्टरहरू छन् । कृपया त्यहाँ आगजनी वा तोडफोड नगर्नुहोस् । त्यस्तैगरी, जिल्ला प्रहरी कार्यालयहरू, इलाका प्रहरी कार्यालयहरू, जिल्ला प्रशासन, क्षेत्र तथा सीमा प्रशासन, भूमि नापजाँच तथा भूमि राजस्व कार्यालयहरू, अदालतहरू र नगरपालिकाहरू जस्ता स्थानहरूमा, कृपया तिनीहरूको डेटाबेस आगजनी वा नष्ट गर्ने काममा संलग्न नहुनुहोस् । यी संस्थाहरूमा संवेदनशील राष्ट्रिय डेटाहरू छन् । केही स्वार्थ समूहले क्षति पुर्याउन उक्साउने प्रयास गर्न सक्छन्, तर कृपया सतर्क रहनुहोस् र त्यस्तो क्षति हुन नदिनुहोस् ।’ यही सन्देश ८७ पटक समूहमा पठाइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजेतिर राजीनामा दिएका थिए । तर उनको राजीनामा निक्कै ढिलो भइसकेको थियो । सिंहदरबार नजिकै रहेको सर्वोच्च अदालतमा पनि आगजनी सुरु हुन्छ । २ बजेर ४९ मिनेटमा ‘अबिज’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘हामी अदालतहरू किन जलाउँदै छौं ?’ स्न्याक्स नामक प्रयोगकर्ताले लेखेका छन्, ‘किन सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय तोडफोड गरिरहेका छौं ?’
२ बजेर ५८ मिनेटमा आईएमनूब नामक प्रयोगकर्ताले लेखेका छन्, ‘उनीहरूले रविलाई रिहा गरे, प्रमाण मेटाउन सर्वोच्च अदालत र सिंहदरबार जलाउनेछन् ।’ ३ बजे आसपासमा सिंहदरबार र सर्वोच्च आदालत जोगाउनुपर्ने भन्दै धेरै म्यासेज लेखिएका छन् । तर सिंहदरबार र सर्वोच्च जल्दै थिए ।
सिंहदरबार जल्दा सेनाले केही गर्न नसकेको भनेर आलोचनासमेत त्यहीबेला सुरु भएको थियो । तर सेनाको युद्धकार्य विभागका निर्देशक मनोज थापाको दाबीअनुसार दिउँसो १ः३० मा सिंहदरबारभित्र रहेको सेनाको दमकलले मुख्य प्रवेशद्वारमा लागेको आगो निभाएको थियो ।
‘त्यसबेला काठमाडौं महानगरसँग पनि समन्वय भइरहेको थियो, उहाँहरूको दमकल पनि आएको थियो । तर, ठाउँठाउँमा अवरोध भयो ।’ सिंहदरबार प्रवेश गरेको भीड अत्यन्त आक्रोशित रहेको हुनाले मानिसको सुरक्षालाई नै प्राथमिकता दिइएको सेनाको भनाइ छ । डिस्कर्डमा सिंहदरबार जोगाउनुपर्ने भन्दै सन्देश लेखिँदालेखिँदै छोटो समयमै आगो फैलिएको थियो ।
बिहानैदेखि शीतल निवास जाने तयारी
डिस्कर्ड सर्भरको संवाद हेर्दा २४ भदौको बिहानैदेखि शीतल निवास जाने तयारी देखिन्छ । १० बजेर ५३ मिनेटमा ‘श्री ३ जंगबहादुर कुँवर राणाजी’ नामक प्रयोगकर्ताले ‘सबैजना मन्त्रीक्वाटर पुल्चोक, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति निवास शीतल निवास’ लेखेका छन् । त्यसपछि अन्य प्रयोगकर्ताले ‘सही हो, जाम्’ लेखका छन् ।
यसबीच मिथ्या सूचनाको बाढी पनि सर्भरमा आएको देखिन्छ । ११ बजे आसपासमा ‘क्रे’ नामका प्रयोगकर्ताले लेखेका छन्, ‘महत्वपूर्ण खबर ! मेरो एक जना साथीको नातेदार वर्तमान आईजीपी हुनुहुन्छ । लास डिस्पोज गर्दाचाहिँ सिभिलमा २०+, वीर अस्पताल ४०+ गरी कुल मृत्युको संख्या ६०+ छ रे । म साथीको नामचाहिँ खुलाउँदिनँ । तर मेरो साथी १०० प्रतिशत रिलेटिभ हो । त्यही भएर भित्री खबर आएको ।’
बिहान ११ बजे नै त्यति धेरैको मृत्यु भएको थिएन, शव पनि संकलन भएका थिएनन् । तर यस्ता मिथ्या सूचनाले समूहमा निकै ठूलो आतंक फैलिएको देखिन्छ । त्यसपछि आक्रोश झन् धेरै थपिएको छ । त्यो दिन ४ बजे आसपासमा शीतल निवासमा आगजनी गरिएको थियो ।
प्रधानमन्त्री निवास जान उक्साउने ‘मेसेज’
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हमला गर्ने विषयमा पनि सर्भरमा बारम्बार छलफल भएको थियो । १० बजेर २४ मिनेटमा ‘ड्याडी’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘केपी ओली... हिंसात्मक सन्देश..., केपी ओली बेल्का भाग्छ रे, बालुवाटार जाओ छिटो । सब अहिले दिउँसो या बेलुका भाग्छ रे, इन्साइडर इन्फर्मेसन ।’ यो मेसेजपछि प्रायःले ‘अब बालुवाटार जानुपर्छ’ भन्दै लेखेका छन् ।
तिनै प्रयोगकर्ताले बारम्बार ‘बालुवाटार छिटो आओ’ लेखेका छन् । त्यसपछि कतिले ‘५ पीएम बालुवाटार रेड’ लेखेका छन् भने कतिले ‘६ पीएम् बालुवाटार रेड’ लेखेका छन् । ओलीले अन्तिम समयमा सर्वदलीय बैठक बोलाएको समाचार आएकाले सबै दलका नेतालाई एकैपटक निसाना बनाउने गरी ५ बजे वा ६ बजे बालुवाटारमा आक्रमण गर्ने गरी यस्ता छलफल भएको देखिन्छ ।
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब दिन गएका प्रधानसेनापतिसहितका सुरक्षाकर्मीलाई लिन १२ बजेर ५१ मिनेटमा बालुवाटारमा हेलिकोप्टर अवतरण गरेको थियो । ‘अर्जेन्ट’ भन्दै ‘मुफिन’ नामक प्रयोगकर्ताले यसको अपडेट दिएका छन् । उनले ४ पटकसम्म यो सन्देश लेखेका छन् । त्यसपछि ‘जस्ट इन बालुवाटर’ जस्ता मेसेजको बाढी आएको छ । करिब दुई बजेतिर नै बालुवाटारमा भीड प्रवेश गरेको थियो, त्यसपछि तोडफोड र आगजनी हुन्छ ।
उता, भैंसीपाटीस्थित मन्त्री–क्वार्टर जलाउने मात्र होइन, लुट्ने विषयमा पनि डिस्कर्डमा संवाद भएको पाइएको छ ।
२४ भदौको बिहान ८ बजेर ३४ मिनेटमै ‘स्यान्क’ नामक प्रयोगकर्ताले ‘तिमीहरूले संसद् भवन र प्रधानमन्त्री निवास जलाउने हो भने भैंसेपाटी मन्त्री–क्वार्टर पनि लुट्नुपर्छ’ लेखेका छन् । १२ बजेर १५ मिनेटमा टियरटकले अपडेट गराएका छन्, ‘भैंसेपाटी मन्त्री–क्वार्टर पनि जल्यो है गाइज ।’
भैंसेपाटीस्थित मन्त्री–क्वार्टरमाथि केही हेलिकोप्टर देखिएको भन्दै सबै जनालाई उपस्थित हुन बारम्बार संवाद पनि भएको पाइएको छ । ओरिजिनल भिडियो र फोटोको मेटाडेटाअनुसार दिउँसो १ बजेर ५८ मिनेटमा भैंसीपाटीस्थित मन्त्री–क्वार्टर दनदनी जलिरहेको थियो ।
धन्न जोगियो विमानस्थल
भैंसेपाटीस्थित मन्त्री–क्वार्टरबाट सबै मन्त्री हेलिकोप्टरमा उडिसकेको निश्चित भएपछि विमानस्थल जाने संवाद पनि डिस्कर्डमा गरिएको थियो । यो क्रममा विमानस्थल नजिकको पेट्रोल पम्प पड्काइदिनेदेखि जलाउनेसम्मका छलफल भएका थिए ।
२३ भदौकै राति १ बजेर ४५ मिनेटमा ‘एपलपी’ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘गएर ...अपशब्द... त्यो कोटेश्वरको एयरपोर्टको पेट्रोल पम्प पनि पड्काइदिम् ।’ लगत्तै तिनै प्रयोगकर्ताले ‘एयरपोर्ट बन्द, इम्पोर्ट बन्द, सिभिल वार, इन्डियाबाट बन्दुक अर्डर गर्ने हो... हिंसात्मक सन्देश... सबलाई’ लेखेका छन् ।
२४ भदौको बिहान ९ बजेर २१ मिनेटमा ‘विश्वासथापा’ नामक प्रयोगकर्ताले, ‘एयरपोर्टतिर नि नजर राखम् है । कोही भाग्न नपाओस्’ लेखेका छन् । लगत्तै ‘जेऊस’ ले लेखेका छन्, ‘केपी भाग्दै छ ।’ त्यसपछि सबैले ‘एयरपोर्ट जाम्’ भन्ने लेखेका छन् । १० बजेर ४० मिनेटमा पीएलटु नामक प्रयोगकर्ताले सबैलाई मेन्सन गरेर ‘जतिसक्दो छिटो एयरपोर्टतिर जान भन्नुस्’ भनेर लेखेका छन् ।
ओली विदेश भाग्न लागेको भन्ने मिथ्या सूचनाले विमानस्थलमाथि आक्रमण गर्ने छलफल भएको देखिन्छ । संवादमा एयरपोर्ट शब्द मात्रै ७ सय ६९ पटक प्रयोग भएको थियो । एयरपोर्ट घेर्नेदेखि बन्दुक पड्काउनेसम्मका संवाद डिस्कर्डमा चलेका थिए ।
नेपाली सेनाको युद्धकार्य निर्देशनालयका सहायक रथी मनोज थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित ‘जिलेटिन’ लिएर पुगेको समूहलाई सेनाले रोकेको थियो । जेन–जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थापाले भनेका थिए, ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित आएकाहरूलाई हामीले रोक्यौं । विमानस्थल बन्द गरिएको भए अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि धमिल हुने थियो ।’
डिस्कर्डमा भएको छलफल र घटनाको मेल
कान्तिपुरले २२, २३ र २४ भदौका छलफललाई संकलन गरेर ‘च्याट एनालेटिक्स’ को मद्दतमा विश्लेषण गर्दा ८७.३३ प्रतिशत मेसेज नकारात्मक देखिन्छन् । संवादका क्रममा ‘ओली’, ‘शेरबहादुर’, ‘प्रचण्ड’, ‘पुलिस’, ‘प्रोटेस्ट’ जस्ता शब्द अत्यधिक प्रयोग भएका छन् । २२ भदौको तुलनामा भोलिपल्ट र पर्सिपल्टको संवादको ग्राफ ह्वात्तै बढेको देखिन्छ ।
अमेरिकी सञ्चार संस्था न्युयोर्क टाइम्सले ९ सेप्टेम्बरमा नेपालमा भएको आगजनीमा ‘सोडियम वा म्याग्नेसियम’ जस्ता रसायन प्रयोग भएको हुन सक्ने संकेत गरेको छ । डिस्कर्ड च्याटमा ६ पटक ‘सोडियम’ शब्दको प्रयोग भएको पाइएको छ । पहिलो पटक २३ भदौको दिउँसो ११ बजेर २७ मिनेटमा ‘क्रिस’ नामक प्रयोगकर्ताले ‘सोडियम मेटल कहाँ किन्ने कसैलाई थाहा छ ?’ भनी सोधेका छन् । ती प्रयोगकर्ताले ११ बजेर ३४ मिनेटमा ‘हामी जेन–जी हौं, सोडियम मेटल पायौं भने हामी आफ्नै हतियार बनाउन सक्छौं’ लेखेका छन् ।
उनले राति ११ बजेर ४६ मिनेटमा लेखेका छन्, ‘हामी मोलोटोभ, खुकुरी । यदि कसैको पहुँचमा छ भने प्रयोगशालाबाट एसिड सोडियम वा ब्यारिकेड खिया पार्ने कुनै रसायन ल्याउनुपर्छ ।’ यी संवादमा म्याग्नेसियम शब्द भने कतै पनि प्रयोग भएको देखिँदैन ।
‘केमिकल’ शब्द ७ पटक प्रयोग भएको छ । यो शब्द पहिलो पटक २२ भदौको राति १० बजेर ३५ मिनेटमा भएको छ । टिटोल नामक प्रयोगकर्ताले लेखेका छन्, ‘धेरै महत्वपूर्णचाहिँ पूरै छोप्ने शरीरलाई, अश्रुग्यासको केमिकलले गाह्रो पार्छ ।’
२३ भदौको राति ११ बजेर ३७ मिनेटमा ‘क्रिस’ ले फेरि लेखेका छन्, ‘गाइज् स्कुलबाट केमिकल हतियार लिएर आउन सक्छ ?’ भन्दै प्रश्न गरेका छन् । राति १२ बजेर ३६ मिनेटमा ‘आरु’ नामक प्रयोगकर्ताले ‘पानीको बोतलमा केमिकल हालेर लगे पनि थाहा पाउन्न’ लेखेका छन् ।
सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूलाई कान्तिपुरले ‘क्राउड सोर्सिङ’ पनि गरेको थियो । क्राउड सोर्सिङ गरिएका २ सयभन्दा बढी भिडियोलाई ‘म्यानुअल्ली’ हेरिएको थियो । ती भिडियोमा डिस्कर्डमा छलफल गरेअनुसारकै ‘मोलोटोभ ककटेल’ (पेट्रोल बम) प्रहार गरेका दृश्य पनि देखिए । ती पेट्रोल बम संसद् भवनमा प्रहार गरिएका थिए । डिस्कर्डको छलफलमा ‘मोलोटोभ ककटेल’ शब्दावली मात्रै ३ सय ५६ पटक प्रयोग भएको थियो ।
हतियार निर्माणका लागि ‘सोडियम’ र ‘केमिकल’ शब्द प्रयोग भएका छन् । तर, ती रसायन प्रयोग भए/नभएबारे यकिन गर्न प्रहरी पनि केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पर्खिरहेको छ । ‘केही नमुना प्रयोगशालामा पुर्याइएको छ, केही अझै संकलन गरेर पठाइनेछ,’ एक प्रहरी उच्च अधिकृतले भने ।
२४ भदौमा भएको हिंसामा ठूल्ठूला संरचनामा अत्यन्तै तीव्रगतिमा आगो फैलिएको विषयमा प्रश्न उठे पनि प्रहरी र राज्यका कुनै पनि निकायले यो विषयमा धेरै लामो समयसम्म अनुसन्धान गरेका थिएनन् । तर सबैतिर प्रश्न उठेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन भएको छ । ‘जेन–जी आन्दोलनपछि भएको विध्वंसमा घुसपैठका प्रशस्त आधार देखिएका छन्, आगोको तीव्र फैलावटका विषयमा समेत शंका उत्पन्न भएको छ,’ प्रहरीका एक उच्च अधिकृत भन्छन्, ‘त्यसको छानबिन गर्नुपर्छ भनेर समिति गठन गरिएको हो ।’
छानबिन समितिमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी शालिकराम शर्मा र जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी चन्द्र थापा सदस्य छन् । केन्द्रीय प्रहरी प्रयोगशालासहितका इकाइका प्राविधिक प्रहरी अधिकारीहरू पनि सदस्य रहेका छन् । ‘समितिलाई यथाशीघ्र परीक्षण सकेर प्रतिवेदन बुझाउन भनेका छौं, आममानिसमा भएका शंकालाई चिर्न पनि छानबिन जरुरी छ,’ ती अधिकृत भन्छन्, ‘आगजनी आफैंमा अपराध हो, त्यसमाथि केमिकल प्रयोग गरिएको भए झनै जा“च गर्नुपर्ने विषय हो, जुन भविष्यका लागि समेत जोखिमपूर्ण छ ।’
आचार्य नेतृत्वको समितिमा रहेको प्राविधिक टोलीले सिंहदरबार, सर्वोच्च अदालत, कांग्रेस कार्यालय, एमाले कार्यालय लगायतका ठाउँबाट प्रतिनिधिमूलक रूपमा नमुना संकलन गरेर प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्नेछ । ‘प्राविधिक टोलीले नमुना उठाउनेदेखि जाँचसम्मका काम गर्नेछ भने अरू टोलीले त्यसको विश्लेषणमा सहयोग गर्नेछन्,’ अर्का एक प्रहरी अधिकृत भन्छन् ।
