अदालतका श्रेस्तेदार चेतराज पन्तका अनुसार अभिलेख कक्षमा राखिएका ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् ।
What you should know
कैलाली — गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदेश राजधानी धनगढीका सबै सरकारी कार्यालय जले । आन्दोलनकारीको निसानाबाट जिल्ला अदालत कैलाली पनि अछुतो रहन सकेन । साँझ करिब ४ बजे अदालत प्रवेश गरेको समूहले तोडफोडसँगै आगजनी पनि गर्र्या । सरकारी वकिल कार्यालय, जिल्ला बार एसोसियसन, अदालतको मुख्य भवन लगायत सबैतिर आगो लगाइयो ।
दनदनी आगोबाट अदालतका कुनै फाँट सुरक्षित रहेनन् । अन्ततः अदालतले पाँच करोडभन्दा बढीको त भौतिक र जिन्सी क्षति व्यहोर्नु पर्यो । आदालतले संकलन गरेको विवरणअनुसार भौतिकअन्तर्गत भवन, झ्यालढोका, दराज लगायतमा मात्र २ करोड ५० लाख बराबरको क्षति भएको छ ।
यस्तै सूचना प्रविधिअन्तर्गत पनि सबै भवनका कम्प्युटर, प्रिन्टर, स्क्यानर, सूचना प्रणली र सोलार सिस्टम गरेर २ करोड ५० लाखकै क्षति आकलन गरिएको छ । अदालतका श्रेस्तेदार चेतराज पन्तले पूरै क्षतिको आकलन नभइसकेको बताए । उनका अनुसार सवारी साधनको क्षति आकलन हुन बाँकी छ । त्यसको पनि प्रक्रिया अघि बढिसकेको छ ।
विवरण अनुसार भदौ २४ मा ५ थान सरकारी गाडी, दुई मुद्दाका लागि आएका गाडी र १ सय थानभन्दा बढी मोटरसाइकल जलाइएका थिए । सवारी साधनको मूल्य आकलन भए क्षति अझै बढ्ने पन्तले जानकारी दिए ।
प्रदर्शनका क्रममा जलाइएका सरकारी कार्यालयमध्ये अदालतमा भौतिक र आर्थिक क्षतिसँगै प्रमाणहरू पनि बढी नष्ट भएको देखिन्छ । आगजनीबाट अदालतको अभिलेख कक्ष बढी प्रभावित छ । श्रेस्तेदार पन्तका अनुसार अभिलेख कक्षमा राखिएका ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् । नष्ट भएका र बाँकी रहेका मिसिलको यकिन तथ्यांक संकलन भइरहेको छ ।
भदौ २९ देखि नै आंशिक सेवा सुचारु
ठूलो भौतिक, आर्थिक क्षतिका बाबजुद पनि अदालतले आंशिक सेवा भदौ २९ देखि नै सुरु गरिसकेको थियो । त्यतिबेला म्याद थप, थुनछेक, बन्दी प्रत्यक्षीकरण, निवेदनको सुनुवाइ र कल डिटेलसम्बन्धी सेवा अदालतले बाहिरबाटै दिएको थियो । सर्भरमा क्षति पुगेपछि मुद्दा दर्ता भने अहिले बन्द छ । तिहार र छठ पर्वपछि मुद्दा दर्ता सुरु गर्ने अदालतले जनाएको छ । यद्यपि, सरकारी वकिल कार्यालयबाट आउने अभियोग दर्ता भइरहेका छन् ।
अहिले जिल्ला अदालतले सेवाग्राहीलाई बढीभन्दा बढी सेवा दिन प्रयास गरिरहेको छ । सुदूरपश्चिमका अन्य ८ वटै जिल्लाबाट कम्प्युटर, स्क्यानर र अन्य आवश्यक सामग्री ल्याएर सेवा सुचारु गरेको श्रेस्तेदार पन्तले बताए । अदालतले गएको सोमबारबाट मुद्दा मिलापत्र, मुद्दा फिर्ता, अधिकृत बारिसनामा प्रमाणित र विवाह दर्ता (कोर्ट म्यारिज) लगायतका थप सेवा सुचारु गरेको छ ।
यससँगै अदालत पुनःनिर्माणको काम पनि भइरहेको छ । भवनहरूमा वायरिङ, इन्टरनेट जडान गर्ने काम सकिएको छ । ‘अदालत व्यवस्थापनको काम सुधारोन्मुख छ । सरसफाइ, फाँट व्यवस्थापन र सूचना प्रविधिमैत्री सोधपुछ कक्षको व्यवस्थापन भइसकेको छ,’ अदालतका श्रेस्तेदार पन्तले भने ।
सरकारी वकिल कार्यालयको सेवा सभाकक्षबाट
आन्दोलनका क्रममा सरकारी वकिल कार्यालयमा पनि आगजनी भयो । कार्यालयको प्रमुख भवनमा त झन् दोस्रो तलासम्म जलाइयो । कार्यालय प्रमुख भानदेव जोशीको निवास पनि आन्दोलनकारीले छोडेनन् । उनको किचनमा समेत तोडफोड भयो । 
भवनमा ठूलो क्षति नभए पनि भित्रका केही पनि सामान सध्ये छैनन् । अझ महत्त्वपूर्ण कुरा त कार्यालयमा २०५० सालदेखि फैसला भएका सबै मिसिल जलेर नष्ट भएका छन् । कार्यालय प्रमुख जोशी भन्छन्, ‘हामीले ठूलो क्षति व्यहोर्यौं । कुनै कोठामा सामान बाँकी राखेनन् । ५० सालयता फैसला भएका सबै मिसिल खरानी भए ।’ उनका अनुसार विवरण संकलन भए पनि सबै क्षति यकिन भएको छैन ।
कार्यालयले संकलन गरेको विवरण अनुसार भौतिक संरचना, सवारी साधन, सबै थान कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, दराज, टेवल–कुर्सी तोडफोड भएर काम नलाग्ने अवस्थामा छन् ।
यस्तै अभिलेखतर्फ अभियोजनका लागि आएका सक्कल मिसिल, ८ सय ५३ थान मुद्दाका नक्कल मिसिल, हालसम्म आएका नक्कल मिसिल र फैसला भएका (अभिलेख), सबै कर्मचारीका व्यक्तिगत फाइललगायत सम्पूर्ण मिसिल जलेका छन् ।
चालु मुद्दाका नक्कल मिसिल, अभिलेख राखेका सबै मिसिल, अदालतबाट फैसला भएर आएका ४८ थान मिसिल, पुनरावेदन दर्ता रजिस्ट्रर (२०६० देखि हालसम्मका), हालसम्मका निर्णय किताब सबै, सत्य निरुपण आयोगमा दर्ता भएका २ सय थान सक्कल निवेदन, अभियोजन हुन बाँकी रहेका सक्कल मिसिललगायत सम्पूर्ण कागजात प्नि जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।
अहिले विभिन्न ठाउँबाट सहयोग पाएका कम्प्युटर, प्रिन्टरहरूबाट काम भइरहेको कार्यालय प्रमुख जोशीले जानकारी दिए । उनका अनुसार सरकारी वकिल कार्यालयका सबै काम सुचारु भइसकेका छन् । कोठाहरूमा क्षति पुगेकाले अहिले सेवाग्राहीका काम सभाकक्षबाट भइरहेका छन् ।
