‘कमाण्डो’ पहिरनमा देखिएका प्रदर्शनकारी ‘हामी नेपाल’का स्वयंसेवक

आर्मीबाटै पाएका थिए पोसाक उपहार ।

आश्विन ५, २०८२

विवेक पोख्रेल

Demonstrators in 'Commando' uniforms are volunteers of 'Hami Nepal'

काठमाडौं — जेन–जी प्रदर्शनकारीको भीड छिचोल्दै एक युवक ड्र्क मोटरसाइकलमा हुइँकिदै साढे सात बजेतिर माइतिघर आइपुग्छन् । कालो टिसर्ट, पाइन्ट, जुत्ता । झट्ट हेर्दा सुरक्षाफौजको ‘कमाण्डो’ जस्तो । उनले सुरक्षाकर्मीले जस्तो बडी प्रोटेक्सन ज्याकेटसमेत लगाएका थिए । कालो टोपी र कालो चस्मा लगाएका उनले कालै कपडाले मुखसमेत ढाकेका थिए ।

हातमा वाकीटकी समेत थियो । ‘सुरुमा मोटसाइकल लगाउने हेल्मेटमै थिए । सहभागीहरूले हेल्मेट खोल्नु, घुसपैठ हुन सक्छ भनेपछि हेल्मेट खोले । खोले पनि उनी चिन्न सक्ने रूपमा थिएनन्,’ प्रदर्शनमै सहभागी विकास रसाइलीले भने, ‘उनले जेन्जी प्रदर्शनका पम्प्लेटहरू बाँड्ने, सडकमा पनि छर्ने र स्वयंसेवकका रूपमा पानी बाँड्नेलगायतका काम पनि गरिरहेका थिए ।’

रसाइलीका अनुसार उनीजस्तै पोसाक नभए पनि मुखमा कालो कपडा लगाएर स्वयंसेवकको काम गरिरहेका अरू पनि थिए ।

जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ मा प्रदर्शनकारीहरूबीच यी युवक पनि रहेको भिडियो र फोटो सार्वजनिक भएपछि प्रहरीले समेत अनुसन्धान थालेको थियो । प्रहरीको अनुसन्धानमा ती युवक २१ वर्षीय जेनिश महर्जन भएको खुलेको छ । उनी ‘हामी नेपाल’ टिमबाट खटिएका स्वयंसेवक टोलीको एक सदस्य रहेको समेत पाइएको छ ।

‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङले पनि महर्जन आफ्नै संस्थाको स्वयंसेवक भएको पुष्टि गरे । उनका अनुसार प्रदर्शनको पहिलो दिन हामी नेपालले ४० जना स्वयंसेवक परिचालन गरेको थियो । तर उनी मात्र फरक पोसाकमा उपस्थित थिए ।

‘उनी जेनिश महर्जन नाम गरेका भाइ हुन् । उनलाई बच्चादेखि नै आर्मीजस्तो हुन मन लाग्ने स्वभाव थियो । त्यसैले त्यो पोसाक लगाएर आएका हुन्,’ गुरुङले भने, ‘जाजरकोटमा भूकम्प जाँदा हामीले आर्मी र नेपाल प्रहरीसँग नजिक भएर काम गरेका थियौं । महर्जन भाइ हाम्रो टिमको कान्छो सदस्य थिए । उनी सबैसँग मिल्थे । उनले यस्तो पोसाक कहाँ पाइन्छ भनेर आर्मीलाई सोधेका रहेछन् । आर्मीले तिमीलाई हो भने हामी दिन्छौं भनेर गिफ्ट गरेको पोसाक हो । उनी अरू बेलामा पनि लगाएर हिँड्छन् ।’

गुरुङका अनुसार महर्जनलाई एम्बुलेन्स र स्वास्थ्य टिमसँग व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको थियो । महर्जन १३ वर्षको उमेरदेखि नै हामी नेपालमा स्वयंसेवकका रूपमा काम गर्दै आएको गुरुङले बताए ।

गुरुङका अनुसार प्रदर्शनमा मेडिकल टिम र एम्बुलेन्सको समन्वय गर्न तीनवटा वाकीटकी प्रयोग गरिएको थियो । उनका अनुसार एउटा वाकीटकी महर्जन, अर्को मेडिकल टिम र अर्को एम्बुलेन्सको टिमले बोकेको थियो । वाकीटकी बोक्नुको उद्देश्य घाइतेलाई उद्धार गरेर एम्बुलेन्ससँग सम्पर्क गरी अस्पताल पुर्‍याउने मात्र रहेको गुरुङले जानकारी दिए ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully