अहिलेको अवस्थामा जलेका वा च्यातिएका नोट साट्न जाँदा भने के कसरी जले वा च्यातिएको हो, त्यसको प्रमाण बैंक तथा वित्तीय संस्थाले माग्नेछन् ।
काठमाडौँ — भदौ २३ र २४ को जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा आगजनी तथा तोडफोड भएका केही निजी आवासमा रहेका नोट जलेका फोटो तथा भिडियो सार्वजनिक भइरहेका छन् । कसको घरमा कुन-कुन दरका कति नोट थिए भन्ने यकिन तथ्य सार्वजनिक भएको छैन ।
आंशिक रूपमा जलेका र च्यातिएका नोट प्रदर्शनकारीले लगेको भिडियो र तस्बिर पनि सार्वजनिक भएका छन् । योसँगै आंशिक रूपमा जलेका वा च्यातिएका नोट बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमा गएर सट्टा गर्न/साट्न (सट्टा भर्ना / प्रतिस्थापन गर्न) पाइन्छ/पाइँदैन ? भन्ने चासो सबैतिर छ ।
हामीसँग भएका नोट च्यातिएमा, माटो वा रंग पोतिएमा, फोहोर भएमा, आंशिक रूपमा जलेका नोट साट्न जाँदा आधिकारिक प्रमाणका आधारमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले साटिदिन्छन् । यस्ता नोट साट्नका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था पनि गरेको छ ।
आन्दोलनका क्रममा जलेका र च्यातिएका नोट पनि साटिन्छ त ? यस्ता नोट साट्न त्यति सजिलो भने छैन । नोट साट्न सकिने कानुनी व्यवस्था भए पनि त्यसका लागि निश्चित प्रक्रिया पुर्याउनुपर्छ । आफूसँग भएका जलेका वा च्यातिएका धेरै नोट साट्न गएमा सम्बन्धित व्यक्तिले प्रहरी वा सरकारी निकायबाट सिफारिस लिनुपर्छ । सिफारिसका लागि त्यो पैसा कसरी जल्यो भन्ने प्रमाणका आधारमा मात्र प्रहरी वा अरु सरकारी निकायले जलेको प्रमाण दिन्छ । तर, सामान्य अवस्थामा केही थान (थारै) नोट साट्दा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकले सरकारी निकायको सिफारिस माग्ने गरेका छैनन् ।
अहिलेको अवस्थामा जलेका वा च्यातिएका नोट साट्न जाँदा भने के कसरी जले वा च्यातिएको हो, त्यसको प्रमाण बैंक तथा वित्तीय संस्थाले माग्ने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । एकैपटक जलेको वा च्यातिएका धेरै नोट सटहीका लागि आएमा घटना भएको हो होइन भन्ने प्रमाण सम्बन्धित सरकारी निकायबाट प्रमाणित गराउनुपर्छ । यसकारण आगलागी वा नोट नष्ट कसरी भयो भन्ने घटनाको विवरण प्रहरीलाई जनाएको हुनुपर्छ । सोही रिपोर्टका आधारमा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकले साटिदिने हो ।
यस्तो छ कानुनी व्यवस्था
‘नेपाल राष्ट बैंक नोट सट्टा भर्ना नियमावली २०५९’ मा च्यातिएका, पोलेका वा बिग्रिएका नोट कसरी साट्ने (सट्टा भर्ना दिने) भन्ने व्यवस्था छ । सुरुमा नागरिकले आफूसँग भएको त्यस्ता नोट साटनका लागि आवेदन दिनु (दाबी पेस) पर्छ । कसैसँग रहेको नोट आगोले पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कूनै किसिमले चलनचल्ती योग्य नभएमा त्यस्तो व्यक्तिले त्यस्तो नोटको साटनका लागि बैंकले उपलब्ध गराएको फाराम भरेर सम्बन्धित अधिकारीसमक्ष दरखास्त दिनु पर्छ ।
नोटको दाबीउपर जाँचबुझ गरी साट्नेसम्बन्धी निर्णय गर्ने अधिकार ती अधिकारीलाई रहेको छ । जसअनुसार एक सय रुपैयाँ दरसम्मका नोटका लागि अधिकृत तृतीय श्रेणी र एक सय रुपैयाँभन्दा माथिका जुनसुकै दरका नोटका लागि अधिकृत द्वितीय श्रेणीका व्यक्तिलाई साट्ने अधिकारी तोकिएको छ ।
कस्तो नोट साट्न पाइन्छ ?
साट्नका लागि नोटको ५० प्रतिशत भन्दा बढी भाग र नोटको पूरा नम्बर यकिन गर्न सकिने अवस्थामा हुनुपर्छ । नोटको ५० प्रतिशतभन्दा बढी भाग भन्नाले नोट टुक्रा टुक्रा भई दुई वा सोभन्दा बढी भागमा विभाजित भए पनि एउटै नोटका टुक्राहरू हुन भन्ने यकिन हुन सक्ने भनेर प्रस्ट्याइएको छ ।
तर, नोटको अंक मेटिएको, अस्पष्ट भएको, च्यातिएको, विकृत भएको टुक्रा बेजोडा भएको, नोटमा सच्याएको, मनोमानी लेखेको वा कोरिएको भए साट्न पाइँदैन । नोट साट्नका लागि परेको दाबीउपर सम्बन्धित अधिकारीले जाँचबुझ गरी नोटको दर र पूरा नम्बरसहित ५० प्रतिशतभन्दा बढी भाग भएको र दोहोरो साट्न नसक्ने यकिन गरी त्यस्ता नोटको पूरा मूल्य भुक्तानी पाइन्छ । सटहीका लागि दाबी परेको नोटको पेस भएको मितिले ३५ दिनभित्र अधिकारीले सटही गर्ने/नगर्ने निर्णय दिनुपर्नेछ ।
आगलागी वा दैवी प्रकोपमा परेका नोट साट्न मिल्छ ?
त्यस्ता नोट सटहीका लागि आगलागी वा अन्य दैवी प्रकोप परेको व्यहोरा सम्बन्धित प्रहरी कार्यालय वा नगरपालिका वा गाउँपालिका वा प्रचलित कानुनबमोजिम अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गर्नुपर्छ । तर, नोटको दर र पूरा नम्बर पहिचान गर्न सकिने अवस्था नभएमा साट्न पाइँदैन । नोट सटही सुविधा दिँदा त्यस्ता नोटको दोहोरो सट्टा भर्ना जान नसक्ने व्यहोरा यकिन गरेर मात्र साटिदिनुपर्ने व्यवस्था छ ।
कस्तो नोट साट्न पाइँदैन ?
बेजोडा, सच्याएको र मनोमानी लेखेको नोटको साट्न पाइँदैन । आगलागी वा अन्य दैवी प्रकोपमा परेका नोट साट्नका लागि सम्बन्धित प्रहरी कार्यालय वा नगरपालिका वा गाउँपालिका वा प्रचलित कानुनबमोजिम अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गर्नुपर्छ । यसरी प्रमाणित नभए साट्न पाइँदैन । यस्तै, नोटको दर र पूरा नम्बर पहिचान गर्न सकिने अवस्था नभएमा साट्न पाइँदैन ।
नोट साट्न योग्य छ/छैन भनेर मूल्यांकन तथा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित अधिकारीलाई दिएको छ । यदि नोट साट्न नसक्ने अवस्था भएमा ती नोट जफत गर्ने अधिकार पनि ती अधिकारीलाई रहन्छ ।
बिग्रेका सिक्का पनि साट्न पाइन्छ ?
आगोले पोलिई, घस्रिई वा अन्य कुनै किसिमले चलनचल्ती योग्य नभएका सिक्काको साट्नका लागि आएमा राष्ट्र बैंकबाट दर यकिन गरी सोही मूल्यको अर्को सिक्का साट्न सकिने व्यवस्था छ । तर सट्टा भर्नाका लागि दाबी पेस भएको यस्तो सिक्काको दर यकिन गर्न नसकिएमा भने साट्न पाइँदैन ।
