साधारणतया, असल कारणका लागि हुने यस्ता रकम संकलन अभियानहरू पारदर्शिताको अभाव र नियमनको सीमितता जस्ता कारणले बेलाबखत विवादमा पनि पर्ने गरेका छन् ।
काठमाडौँ — विश्वभरका मानिस एवं संघसंस्थाले विभिन्न प्रयोजनका लागि रकम संकलन गर्न प्रयोग गर्ने ‘गो फन्ड मि’ जस्ता प्लाटफर्ममा पछिल्लो सातायता नेपालसम्बन्धी सयौं पोस्ट देखिन थालेका छन् । नेपालमा भएको प्रदर्शनपछिको पुनर्निर्माण, घाइतेको उपचार, दिवंगत परिवारलाई आर्थिक सहयोगलगायत विषयमा चन्दा माग्दै गरिएका यस्ता पोस्ट भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा बाक्लिने गरेका थिए ।
यस पटक पनि विशेषगरी विदेशमा रहेका नेपाली, संघसंस्था, गैरआवासीय संघ, विद्यार्थी संगठन र क्लबहरूले ‘गो फन्ड मि’ मा ‘फन्डरेजर’ अभियान चलाएको देखिन्छ । नेपालमा भदौ २३ र २४ मा भएको प्रदर्शनपछि यस्ता प्लाटफर्ममार्फत राहत संकलन तीव्र बनेको हो । घाइतेको उपचार, सहिदका परिवारलाई आर्थिक सहयोग, पुनर्निर्माण कार्य र प्रभावित समूहलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्य उल्लेख गर्दै यी अभियान सामाजिक सञ्जालमा पनि प्रचार भएको पाइन्छ ।
विशेषगरी अस्ट्रेलिया, अमेरिका, बेल्जियम, क्यानडालगायत देशबाट ‘फन्डरेजर’ सञ्चालन गरिएको छ । यस प्लाटफर्ममा कतिपय पोस्ट ‘डोनेसन प्रोटेक्टेड’ वा ‘प्राइभेट’ गरिएकाले दाताले कति पैसा दिए वा दाता को हुन्, हेर्न मिल्दैन । त्यसकारण आन्दोलनसम्बन्धी अभियानहरूले कति रकम संकलन गरिसकेका छन् थाहा पाउन कठिन छ ।
‘गो फन्ड मि’ मा अस्ट्रेलियाबाट मनीष उपाध्यायले सेप्टेम्बर ८ (भदौ २४) मा क्रिएट गरेको ‘नेपाल्स जेन–जी प्रोटेस्टर्स : एड फर इन्जर्ड एन्ड डिसिस्ड’ अभियानमा हालसम्म ६ हजार ३ सय ३८ अस्ट्रेलियन डलर संकलन भएको छ । उनको लक्ष्य ८ हजार डलर उठाउने रहेकामा हाल ७९ प्रतिशत संकलन भइसकेको देखिन्छ । यसमा बिहीबार साँझसम्म १ सय २९ जनाले चन्दा दिएका छन् ।
‘नेपालका युवावर्गसँग ऐक्यबद्धता जनाउन र परिवर्तनका लागि जोखिम मोल्नेहरूलाई सहयोग गर्न यो अभियान सुरु गरेको हुँ,’ मनीषले अभियानको विवरणमा लेखेका छन्, ‘यसबाट संकलन हुने प्रत्येक डलर घाइतेहरूका लागि चिकित्सा सहायता, ज्यान गुमाउने परिवारहरूका लागि आर्थिक राहत र प्रभावित समुदायहरूका लागि आवश्यक सामग्री, खाना र आश्रयका लागि प्रयोग गरिनेछ ।’
अमेरिकास्थित नेपाली विद्यार्थी संगठनहरूको एक कोअलिसनले ३५ हजार डलर उठाउने लक्ष्य लिएकामा हालसम्म २६ हजार २ सय ६१ डलर (७६ प्रतिशत) संकलन गरिसकेको छ । रशिका चौलागाईंले पोस्ट गरेको ‘स्ट्यान्ड विद नेपाल : हेल्प फ्यामिलिज अफ मार्टियर्स’ शीर्षकको अभियानमा अमेरिकाका ४५ भन्दा धेरै विद्यार्थी समूह सम्मिलित रहेको उल्लेख छ । यस अभियानमा ५ सय ८७ भन्दा धेरैले डोनेट गरेको देखिन्छ ।
अमेरिकाको कोलोराडोस्थित इगलवुडबाट दिनेश पन्तले सुरु गरेको ‘युनाइटेड फर नेपाल्स जेन–जी मार्टियर्स एन्ड इन्जर्ड प्रोटेस्टर्स’ शीर्षकको चन्दा संकलन अभियानमा हालसम्म ५ हजार ३ सय १५ अमेरिकी डलर संकलन भएको छ । उनले ४० हजार डलर संलकन गर्ने लक्ष्य लिएका छन् । यसमा दिल श्रेष्ठ, प्रमोद तामाङ, शंकर गुरुङ, प्रसन्न सुवेदी, रेशु गुरुङ, शान्ता विश्वकर्मा, कृपा अधिकारी, सुगम पोखरेल, दिनेश पन्तलगायत ६० भन्दा धेरैले डोनेट गरिसकेका छन् ।
क्यानडास्थित क्यालगरीमा रहेको डाँफे स्पोर्ट्स क्लबले पनि प्रदर्शनको निसानी बनेको रक्ताम्मे सेतो कन्भर्स जुत्ता र मास्कको तस्बिरसहित पीडित र परिवारलाई सहयोग गर्न १० हजार डलर संकलनको लक्ष्य लिएकामा २ हजार २ सय २१ डलर जुटाइसकेको छ ।
अभिभावकसहित दक्षिण कोरियामा बस्दै आएका १७ वर्षीय लक्ष्य यावदले ५ हजार डलर उठाउन खोजिरहेको देखिन्छ । ‘एक युवाका रूपमा म पनि मेरा साथीहरूलाई यो कठिन परिस्थितिमा जतिसक्दो सहयोग गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘यहाँ उठेको सबै रकम काठमाडौंका अस्पताललाई दिनेछु ।’ उनको अभियानमा जसुआ चोई, हान्सोल पार्क, जेसी किम, रोआन ली, जिहो पार्क, प्रयाग यावदलगायत आठ जनाले १ सय ३३ डलर उपलब्ध गराइसकेका छन् । पेन्सलभेनिया, अमेरिकाका भुटानी नेपाली, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकालगायतले पनि यस्तो अभियान चलाएका छन् ।
दारी क्लब, न्युयोर्क नेपाली काम पोस्टलगायत समूहले पनि सानो–ठूलो सहयोगले नेपालका युवाहरूलाई अझ सबल बनाउने भन्दै ‘फन्डरेजर’ अभियान चलाएका छन् । यो समूहले ६ दिनअघि मात्रै संयुक्त रूपमा चलाएको अभियानमा ६ हजार ८ सय १९ डलर संकलन भइसकेको छ । युनाइटेड नेपालिज एसोसिएसनले पनि ७ दिनअघि सुरु गरेको ‘फन्डरेजिङ’ अभियानमा १ सय २५ भन्दा धेरैले २६ हजार ४ सय ३३ डलर उपलब्ध गराइसकेका छन् । एसोसिएसनले १ लाख डलर उठाउने लक्ष्य लिएको छ । यसबाट उठेको रकम सिधै र समानुपातिक ढंगले परिवार सदस्य गुमाएका पीडितलाई वितरण गरिने एसोसिएसनले जनाएको छ ।
न्युयोर्कबाट तेन्जिङ गुरुङले नेपालमा भएको प्रदर्शनका क्रममा घरका युवा सदस्य गुमाउने परिवारका लागि भनेर ६ हजार डलर संकलन गर्न खोजिरहेका छन् । ‘गो फन्ड मि’ मा हालसम्म उनले ५ सय ३५ डलर जम्मा पारेका छन् । ‘म तेन्जिङ, माथिल्लो मुस्ताङ (नेपाल) बाट हुँ, हाल क्विन्स, न्युयोर्कमा बस्दै छु,’ उनले लेखेका छन्, ‘आन्दोलनका क्रममा युवा विद्यार्थीहरूको दुःखद् निधन भएको खबरले अत्यन्तै मर्माहत भएको छु । यहाँ संकलन भएको रकम मैले व्यक्तिगत रूपमा चिनेका विद्यार्थी संघका नेतामार्फत सीधै पीडित परिवारसम्म पुगोस् भनेर व्यवस्था गरेको छु ।’
स्वास्थ्योपचार, शल्यक्रिया, आपत्कालीन राहत, शिक्षा, अन्त्येष्टिदेखि आर्थिक कठिनाइमा परेकालाई घरभाडा तिर्न वा म्युजिक रेकर्डिङका लागि समेत चन्दा संकलन ‘गो फन्ड मि’ गर्न प्रयोग गरिँदै आएको छ । यो अनलाइन क्राउड फन्डिङ प्लाटफर्म हो । यसअघि कोभिड–१९ महामारीका बेला पनि बिरामीहरूको उपचार र राहत सामग्री व्यवस्थापनका लागि यस प्लाटफर्मबाट पैसा उठाइएको थियो । बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका बेला यो ‘गो फन्ड मि’ मार्फत रकम संकलन गर्ने गरिएको थियो ।
साधारणतया, असल कारणका लागि हुने यस्ता रकम संकलन अभियानहरू पारदर्शिताको अभाव र नियमनको सीमितता जस्ता कारणले बेलाबखत विवादमा पनि पर्ने गरेका छन् । यस्तै एक विवादमा भूकम्पको समयमा नेपाल आविष्कार केन्द्रका लागि रकम उठाएर नदिएको भन्दै महावीर पुन र व्यवसायी रुद्र पाण्डेबीच सामाजिक सञ्जालमा वर्षौंसम्म भनाभन चलेको थियो ।
एकद्वार प्रणाली र सम्बन्धित निकायको सिफारिसमा मात्र रकम उठाउन पाइने गरी कोभिडको समयमा सरकारले नियमनको प्रयाससमेत गर्नुपरेको थियो । यस पटकको रकम संकलन अभियानमा पनि केही प्रश्न र गुनासा सामाजिक सञ्जालमा देखिन सुरु भएका छन् ।
