सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : ओली

निवर्तमान प्रधानमन्त्री ओली भन्छन् : प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । 

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

The government did not order to fire warning shots at the protestors: Oli

काठमाडौँ — एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिएपछि छानीछानी सार्वजनिक र निजी सम्पत्ति खरानी बनाइएको बताएका छन् । शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै  प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक ओलीले प्रतिक्रिया दिएका हुन् ।

यतिबेला संविधानमाथि आक्रमण भइरहेको उल्लेख गर्दै ओलीले भनेका छन्, 'प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ - नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ।  जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।'

देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने  पनि ओलीको भनाइ छ ।  'विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ,' उनले भनेका छन् । 

जेन-जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको उल्लेख गर्दै ओलीले भनेका छन्,  'त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।' 

नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको उल्लेख गर्दै ओलीले नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको बताएका छन् । अध्यक्ष ओलीले नेपाल बनाउन सबै पुस्ताका नेपाली एक हुनुपर्ने पनि बताएका छन्।  

जेन-जीको प्रदर्शन

कान्तिपुर

Link copied successfully