लहान नगरपालिकाले जेन-जी सहिद विजय चौधरीको परिवारलाई सहयोग गर्ने 

नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा रोजगारी तथा चार वर्षीया छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने जानकारी दिए ।

आश्विन २, २०८२

विनय आजाद

Lahan Municipality will support the family of Gen-G Martyr Vijay Chaudhary

काठमाडौँ — सिरहा जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ । लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो ।

नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा रोजगारी तथा चार वर्षीया छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने जानकारी दिए ।

चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा ज्यान गएको थियो । काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्दै आएका थिए ।

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते लहान नगरपालिकामा पनि आक्रमण भएको थियो । नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीबाट ७ करोडबढीको क्षति भएको नगरपालिकाले जनाएको छ ।

तर, जेन-जीका नाममा राजनीतिक प्रतिशोधका आधारमा यस्तो घटना घटाइएको मेयर चौधरीको भनाइ छ । यसको छानबिन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

नगरपालिकाले आंशिक रूपमा काम कारबाही थालिसकेको र आइतबारदेखि पूर्ण र"पमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको मेयर चौधरीले जानकारी दिए ।

जेन-जीको प्रदर्शन

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully