जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी

भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको हो ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Vandalism and arson in 6 offices under Election Commission during Gen-G movement

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । 

निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन कार्यालय मोरङको कार्यालयमा तोडफोड र सामग्री चोरी भएको, जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यालयमा आगजनी र सामान चोरी भएको साथै मोटरसाइकल जलाइएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय चितवनमा भवन तथा चारपाङ्ग्रे सवारी साधन आगजनी भइ पूर्ण रूपमा क्षति भएको छ । सहसचिव केसी प्रदेश निर्वाचन कार्यालय पोखरामा चारपाङ्ग्रे सवारी साधन एउटामा आगजनी भइ पूर्ण क्षति भएको र अर्कोमा तोडफोड भएको बताए ।

त्यस्तै प्रदेश निर्वाचन कार्यालय दाङको भवनमा ढुंगामुढा गरी क्षति पुर्‍याइएको छ भने मोटरसाइकल आगजनी गरिएको छ । त्यस्तै  जिल्ला निर्वाचन कार्यालय डडेलधुराको कार्यालय तोडफोड हुनुका साथै २ वटा मोटरसाइकल र कम्प्युटर, ल्यापटप जलेको छ । 

कान्तिपुर

Link copied successfully