सरकारी कार्यालयमा भएको तोडफोड, भाटभटेनी, एनसेल कार्यालय जस्ता तोडफोड गरिएका स्थानबाट सामान लुटिएका दृश्य, सार्वजनिक सम्पत्ति क्षतिग्रस्त भएको अवस्थाको भिडियो,प्रहरी पोसाक र उपकरण खोसेर हिँड्नेको अनुहार र बाइक नम्बर देखिने तस्बिर जस्ता विवरण संकलन भएका छन् ।
What you should know
काठमाडौँ — भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको लुटपाट र तोडफोडका दृश्य तथा विवरण संकलन गर्न बनाइएको ‘लुट रिपोर्ट’ नामक वेबपेजमा आठ दिनभित्र करिब २ हजार रिपोर्ट संकलन भएका छन् ।
आन्दोलनका क्रममा भएका लुटपाट, आगजनी र तोडफोडका घटनाको डिजिटल दस्तावेज तयार गर्ने उदेश्यले यो प्लाटफर्म सञ्चालनमा ल्याइएको वेबसाइटमा उल्लेख छ । सेप्टेम्बर १० (भदौ २५) देखि रिपोर्ट संकलन थालिएकोमा असोज २ सम्म यसमा १ हजार ९ सय वटा विवरण संकलन भएका छन् ।
सो प्रदर्शनका पीडितको आवाजलाई संरक्षण गर्ने र लुटपाट तथा तोडफोडका तथ्यगत प्रमाण सुरक्षित राख्न मद्दत गर्ने अपेक्षासहित वेबसाइट सञ्चालनमा ल्याएको भनिएको छ । यसमा पोस्ट भएका कन्टेन्ट असत्य भएमा 'फ्ल्याग एज इनएक्युरेट' अप्सनमा क्लिन गर्ने सुविधा पनि छ ।
लुट-रिपोर्ट डट लभेबल डट एपमा अपलोड भएका सामग्रीहरूमा काठमाडौं उपत्यका, पोखरा, हेटौँडा, विराटनगरदेखि विभिन्न सहरका भिडियो, फोटो र प्रत्यक्षदर्शीका विवरणहरू समावेश छन् । विशेषगरी सरकारी कार्यालयमा भएको तोडफोड, भाटभटेनी, एनसेल कार्यालय जस्ता तोडफोड गरिएका स्थानबाट सामान लुटिएका दृश्य, सार्वजनिक सम्पत्ति क्षतिग्रस्त भएको अवस्थाको भिडियो,प्रहरी पोसाक र उपकरण खोसेर हिँड्नेको अनुहार र बाइक नम्बर देखिने तस्बिर जस्ता विवरण संकलन भएका छन् ।
प्रदर्शनका क्रममा मानिसहरूले मोबाइलले खिचेका दृश्य र सीसीटीभी फुटेजहरू अहिले प्रमाण बनेका छन् । वेबपेज निर्माताले यस प्लाटफर्मलाई अनुसन्धान, तथ्यजाँच र भविष्यमा कानुनी प्रक्रियामा सहयोग पुग्ने गरी व्यवस्थित गर्न चाहेको वेबसाइटमै बताएका छन् । ‘प्रत्येक भिडियो महत्त्वपूर्ण छ,’ वेबपेजको ब्यानरमा बोल्ड अक्षरमा लेखिएको छ, ‘हामीले इतिहासको गर्भमा यी अपराध नहराऊन् भन्नका लागि र न्यायको सुनिश्चितताका लागि सामूहिक पहलमा यो अभिलेख तयार पार्न सक्छौँ ।’
यसमा जो कसैले आफूसँग भएका भिडियो, तस्बिर वा लिंकहरू पठाउन सक्ने र पठाउनेको कुनै पनि वैयक्तिक विवरण संकलन नहुने स्पष्ट पारिएको छ । विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज लगायत सहरबाट थुप्रै यस्तै दृश्यहरू पेजमा अपलोड भएका छन् । केही भिडियोहरूमा प्रदर्शनकारीहरू पसलभित्र पसेर सामान निकालिरहेको देखिन्छ भने केहीमा सार्वजनिक सम्पत्ति क्षतिग्रस्त भइरहेको स्पष्ट देखिन्छ ।
यसका निर्माता को हुन् भन्ने खुलेको छैन । यो वेबपेज लभेबल डट डेभ प्लाटफर्ममार्फत बनाइएको हो । लभेबल भनेको नो-कोड एआई प्लाटफर्म हो अर्थात, यसले प्रयोगकर्ताहरूलाई कोड नलेखी वेब र मोबाइल एप्लिकेसनहरू निर्माण गर्न सघाउँछ ।
