प्रदर्शनमा गोली लागेका अमितलाई बैंकको किस्ता तिर्ने चिन्ता

‘देश राम्रो हुन्छ, सुशासन कायम हुन्छ, राजनीति सुध्रन्छ, भ्रष्टचार पनि अन्त्य हुन्छ भनेर आएको हुँ,’ उनले भने,‘तर हामीलाई अहिलेसम्म भेट्न सरकारबाट कोही पनि आउनु भएको छैन । जेन-जीका नेताहरू पनि देखेको छैन ।’

आश्विन १, २०८२

विवेक पोख्रेल

Amit, who was shot at the demonstration, is worried about paying the bank installment

What you should know

काठमाडौँ — धादिङको धुनिबेंसी नगरपालिका २, गौरफथोकका २४ वर्षीय अमित बस्नेत बालुवा/गिटी बोक्ने गाडीका चालक हुन् । जेन-जी आन्दोलनका क्रममा उनलाई मंगलबार प्रहरी वृत्त स्वयम्भूअगाडि गोली लागेको थियो । 

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा २ दिनको उपचारपछि अहिले सर्जिकल वार्डमा रहेका उनलाई पेटमुनि  गोली लागेको छ । देब्रे खुट्टा नचलेको र अण्डकोषमा पनि असर परेको उनले सुनाए । 

जेन-जी आन्दोलनका बारेमा उनलाई जानकारी भए पनि उनी आफ्नै काममा व्यस्त हुदाँ पहिलो दिन सहभागी भएका थिएनन् ।   ‘साँझ आफ्नै उमेर समूहका १९ जनाभन्दा धेरै साथीको मृत्यको खबर सुनेपछि मन नै मानेन्,’ बस्नेतले भने,‘बालबालिकालाई गोली हानेर समस्याको समाधान हुँदैन जस्तो लाग्यो । साना भाइबैनीलाई गोली हान्नु अन्याय भयो भनेर साथीहरूसहित काठमाडौं आएको थिए । हामीमध्ये मलाईचाहिँ गोली लाग्यो ।’

आफूले नाराबाजी गरे पनि ढुंगामुढा नगरेको बताउँछन् उनी । प्रहरी कार्यालयभित्रबाट साढे १ बजेतिर एक्कासि चलाइएको गोली आफूलाई लागेको उनको भनाइ छ । अन्य अस्पतालमा घाइतेहरूलाई भेट्न प्रधानमन्त्रीदेखि जेन-जी अभियन्ताहरू पुगेको खबर सुने पनि आफ्नो हालखबर सोध्न कोही नआएको उनको दु:खेसो छ । ‘हामीले सबै मिलेर आन्दोलन गर्नुपर्छ भनेर आएको हुँ । अरु घाइते भेट्न प्रधानमन्त्री सुशीला कार्कीदेखि जेन-जी अभियन्ता पुगेको सुनेँ,’ उनले भने,‘मेरोमा त कोही पनि आउनु भएको छैन । यस्तो समयमा भेटेर हामी छौँ भन्ने मान्छे भए पनि ठूलो हुँदो रहेछ। ’

अस्पतालकै बेडमा हुँदा उनलाई आफ्नो भन्दा परिवार व्यवस्थापनकै चिन्ता छ । ‘एक महिनाअघि ऋण खोजेर भाइलाई दुबई पठाएँ । काम पाएको छैन भनेको छ,’ बस्नेतले थपे,‘भाइ जाँदाको २ लाखसहित पारिवारको ऋण बैंक र गाउँघरतिर गरेर ६ लाख जति छ । ५ गते बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा छु ।’ बस्नेतका अनुसार ५ गते बैंकमा ब्याज र किस्ता गरेर १७ हजार रुपैँया तिर्नु छ । ६ वर्षअघि उनका बुबाको क्यान्सरका कारण मृत्यु भएको थियो । 

बस्नेतलाई उनका साथीहरूले पालो गरेर कुरेर बसेका छन् । बहिर किन्नुपर्ने औषधि र खानपान आफ्नै खर्च भएको बस्नेतले सुनाए ।  उनका अनुसार अस्पताल बसाइका क्रममा अहिले सम्म  १६ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । सरकारसँग उनको एउटै अनुरोध छ,‘घाइतेलाई पनि हेर्दिनु पर्‍यो । म गोली लागेपछि पहिले जस्तो काम गर्न सक्दिनँ । मेरो घरमा ४५ वर्षकी आमा हुनुहुन्छ ।’ 

देब्रे खुटा नटेकिएको कारण ह्विलचेयरको सहयोगबिना उनी ट्वाइलेट जान पनि सक्दैनन् । ‘बच्न त बाँचेँ तर पहिलेको जस्तो काम गर्न पनि सक्दिनँ होला,’, बस्नेतले कान्तिपुरसँग भने,‘काम गरिरहेको भए त आफ्नो गुजारा र ऋण तिर्दै जान्थेँ होला । अब हस्पिटल कति समय बस्नु पर्ने हो । मेरो दु:ख सरकार र जेन-जी नेता सम्म पुर्‍याइदिनुस् ।’

देशका लागि परिवर्तनको आशा बोकेर आउँदा गोली लागेको बताउँछन् उनी । ‘देश राम्रो हुन्छ, सुशासन कायम हुन्छ, राजनीति सुध्रन्छ, भ्रष्टचार पनि अन्त्य हुन्छ भनेर आएको हुँ,’ उनले भने,‘तर हामीलाई अहिलेसम्म भेट्न सरकारबाट कोही पनि आउनु भएको छैन । जेन-जीका नेताहरू पनि देखेको छैन ।’ 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully