‘देश राम्रो हुन्छ, सुशासन कायम हुन्छ, राजनीति सुध्रन्छ, भ्रष्टचार पनि अन्त्य हुन्छ भनेर आएको हुँ,’ उनले भने,‘तर हामीलाई अहिलेसम्म भेट्न सरकारबाट कोही पनि आउनु भएको छैन । जेन-जीका नेताहरू पनि देखेको छैन ।’
What you should know
काठमाडौँ — धादिङको धुनिबेंसी नगरपालिका २, गौरफथोकका २४ वर्षीय अमित बस्नेत बालुवा/गिटी बोक्ने गाडीका चालक हुन् । जेन-जी आन्दोलनका क्रममा उनलाई मंगलबार प्रहरी वृत्त स्वयम्भूअगाडि गोली लागेको थियो ।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा २ दिनको उपचारपछि अहिले सर्जिकल वार्डमा रहेका उनलाई पेटमुनि गोली लागेको छ । देब्रे खुट्टा नचलेको र अण्डकोषमा पनि असर परेको उनले सुनाए ।
जेन-जी आन्दोलनका बारेमा उनलाई जानकारी भए पनि उनी आफ्नै काममा व्यस्त हुदाँ पहिलो दिन सहभागी भएका थिएनन् । ‘साँझ आफ्नै उमेर समूहका १९ जनाभन्दा धेरै साथीको मृत्यको खबर सुनेपछि मन नै मानेन्,’ बस्नेतले भने,‘बालबालिकालाई गोली हानेर समस्याको समाधान हुँदैन जस्तो लाग्यो । साना भाइबैनीलाई गोली हान्नु अन्याय भयो भनेर साथीहरूसहित काठमाडौं आएको थिए । हामीमध्ये मलाईचाहिँ गोली लाग्यो ।’
आफूले नाराबाजी गरे पनि ढुंगामुढा नगरेको बताउँछन् उनी । प्रहरी कार्यालयभित्रबाट साढे १ बजेतिर एक्कासि चलाइएको गोली आफूलाई लागेको उनको भनाइ छ । अन्य अस्पतालमा घाइतेहरूलाई भेट्न प्रधानमन्त्रीदेखि जेन-जी अभियन्ताहरू पुगेको खबर सुने पनि आफ्नो हालखबर सोध्न कोही नआएको उनको दु:खेसो छ । ‘हामीले सबै मिलेर आन्दोलन गर्नुपर्छ भनेर आएको हुँ । अरु घाइते भेट्न प्रधानमन्त्री सुशीला कार्कीदेखि जेन-जी अभियन्ता पुगेको सुनेँ,’ उनले भने,‘मेरोमा त कोही पनि आउनु भएको छैन । यस्तो समयमा भेटेर हामी छौँ भन्ने मान्छे भए पनि ठूलो हुँदो रहेछ। ’
अस्पतालकै बेडमा हुँदा उनलाई आफ्नो भन्दा परिवार व्यवस्थापनकै चिन्ता छ । ‘एक महिनाअघि ऋण खोजेर भाइलाई दुबई पठाएँ । काम पाएको छैन भनेको छ,’ बस्नेतले थपे,‘भाइ जाँदाको २ लाखसहित पारिवारको ऋण बैंक र गाउँघरतिर गरेर ६ लाख जति छ । ५ गते बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा छु ।’ बस्नेतका अनुसार ५ गते बैंकमा ब्याज र किस्ता गरेर १७ हजार रुपैँया तिर्नु छ । ६ वर्षअघि उनका बुबाको क्यान्सरका कारण मृत्यु भएको थियो ।
बस्नेतलाई उनका साथीहरूले पालो गरेर कुरेर बसेका छन् । बहिर किन्नुपर्ने औषधि र खानपान आफ्नै खर्च भएको बस्नेतले सुनाए । उनका अनुसार अस्पताल बसाइका क्रममा अहिले सम्म १६ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । सरकारसँग उनको एउटै अनुरोध छ,‘घाइतेलाई पनि हेर्दिनु पर्यो । म गोली लागेपछि पहिले जस्तो काम गर्न सक्दिनँ । मेरो घरमा ४५ वर्षकी आमा हुनुहुन्छ ।’
देब्रे खुटा नटेकिएको कारण ह्विलचेयरको सहयोगबिना उनी ट्वाइलेट जान पनि सक्दैनन् । ‘बच्न त बाँचेँ तर पहिलेको जस्तो काम गर्न पनि सक्दिनँ होला,’, बस्नेतले कान्तिपुरसँग भने,‘काम गरिरहेको भए त आफ्नो गुजारा र ऋण तिर्दै जान्थेँ होला । अब हस्पिटल कति समय बस्नु पर्ने हो । मेरो दु:ख सरकार र जेन-जी नेता सम्म पुर्याइदिनुस् ।’
देशका लागि परिवर्तनको आशा बोकेर आउँदा गोली लागेको बताउँछन् उनी । ‘देश राम्रो हुन्छ, सुशासन कायम हुन्छ, राजनीति सुध्रन्छ, भ्रष्टचार पनि अन्त्य हुन्छ भनेर आएको हुँ,’ उनले भने,‘तर हामीलाई अहिलेसम्म भेट्न सरकारबाट कोही पनि आउनु भएको छैन । जेन-जीका नेताहरू पनि देखेको छैन ।’
