कल्याणपुरमा वडाध्यक्षले नै आगजनी गराएको भिडियो फेला, उम्किन सरकारी लेटरप्याडको दुरुपयोग

नगरपालिकाको कार्यालयअगाडि जम्मा भएको भीडमै रहेका वडाध्यक्ष यादवले उक्त भिडियोमा भनेका छन्, 'रै दिनेश, जो न तोर न ताला, आइग फुक न ।'

आश्विन १, २०८२

विनय आजाद

In Kalyanpur, a video was found of the Ward President setting fire, misuse of government letterpad to escape

सिरहा — जेन-जी आन्दोलनका क्रममा सिरहाको कल्याणपुर नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीमा वडाध्यक्षकै संलग्नता पुष्टि हुने भिडियो फेला परेको छ । कल्याणपुर नगरपालिका-९ का वडाध्यक्ष विनोदकुमार यादवले भीडलाई उक्साएको भिडियो सार्वजनिक भएको हो ।

वडाध्यक्ष यादव  सीके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचित भएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले दिनेश नाम गरेका एक युवकलाई कार्यालयको ताला तोड्न र आगो लगाउन भनेका छन् ।

नगरपालिकाको कार्यालयअगाडि जम्मा भएको भीडमै रहेका वडाध्यक्ष यादवले उक्त भिडियोमा भनेका छन्, 'रै दिनेश, जो न तोर न ताला, आइग फुक न ।' अर्थात्, उनले 'ओइ दिनेश, जाउ न तोड न ताला, आगो फुक न ।'

नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट गर्न वडाध्यक्ष यादवले नै भीडलाई ल्याएर उक्साएको स्थानीय प्रत्यक्षदर्शी धनुष मण्डलले पनि बताए । उनीहरूलाई आगजनीका लागि पेट्रोल किन्न पनि उनले नै पैसा दिएको कुरा त्यहाँ सुनेको उनको दाबी छ । 'म त्यहीँ थिएँ, प्रहरीले पनि रोक्न धेरै कोसिस गर्‍यो, हामीले पनि गर्‍यौं,' उनले भने, 'तर, भीडलाई यसरी उक्साइयो कि क्षणभरमै त्यति ठूलो क्षति भयो, यो घटनामा उनी पर्दामा देखिए पनि पर्दाभित्र अरू पनि छन्, यहाँका सबैलाई थाहा छ ।'

नगरपालिकाको ट्याक्टर र जेनेरेटरलगायत आगजनीबाट पूर्ण रूपमा जलेको छ भने कार्यालयभित्रको दराज, टेबल, सोफा, कम्प्युटर, कुर्सीमा तोडफोड र आगजनी गर्दै अधिकांश उनीहरूले लुटेर लगेका हुन् । यसबाट करिब दस करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको नगरपालिकाले जनाएको छ ।

कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित अख्तियारद्वारा पक्राउ परेर निलम्बनमा परेपछि उनी निकट रहेका वडाध्यक्ष यादवले नगरपालिकामा पटकपटक विवाद गर्ने प्रयास गर्दै आएका थिए । तर, यसपल्ट भने आन्दोलनको फाइदा उठाउँदै उनले यस्तो गरेको कार्यबाहक नगरप्रमुख रेखा देवी यादवको आरोप छ ।

कारबाहीबाट जोगिन सरकारी लेटरप्याडको दुरुपयोग 

डाध्यक्ष यादवले आफू मुछिएको व्यक्तिगत घटनामा कानुनी कारबाहीबाट जोगिन सरकारी लेटरप्याडको दुरुपयोग गरेका छन् । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रहेको भिडियोका आधारमा यसमा वडाध्यक्षलगायतकै संलग्नता रहेको समाचार यसअघि नै सञ्चारमाध्यममा आएको थियो । जसका आधारमा प्रहरीले अनुसन्धान पनि थालिसकेको छ ।

तर, यसको खण्डन गर्न उनले वडा कार्यालयकै सरकारी लेटप्याड दुरुपयोग गरेका हुन् । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र आफू अर्कै कामले कल्याणपुर जाने क्रममा नगरपालिका कार्यालयअगाडि रोकिएको दाबी गरेका छन् 

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully