ब्यारेकसँगै सबै जल्यो, बिनाबर्दी चप्पलमा ड्युटी गर्दै ट्राफिक प्रहरी

गत बुधबारको प्रदर्शनका क्रममा देशभर साढे ४ सय प्रहरी युनिट तोडफोड तथा आगजनी गरिए, महाराजगन्ज प्रहरी वृत्तको भवन मात्रै जलाइएन, यहाँ कार्यरत १ सय ७१ प्रहरीमाथि नै आक्रमण हुँदा २ जनाको ज्यान गयो भने ३१ जना घाइते भए ।

आश्विन ३, २०८२

रीना मोक्तान, विवेक पोख्रेल

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippers

काठमाडौँ — ‘जेन–जी’ आन्दोलनमा सुरक्षाकर्मीबाट भएको दमन र त्यसपछि भड्किएको हिंसामा अकल्पनीय जनधनको क्षति हुन पुग्यो । मुलुकका ऐतिहासिक एवं महत्त्वपूर्ण धरोहरहरू ध्वस्त भए । उद्योग/प्रतिष्ठानदेखि व्यक्तिका भौतिक संरचना पनि हिंसात्मक प्रदर्शनको निसानामा परे । राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च न्यायालय, संघीय संसद् भवन र मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पनि जलेर सखाप भए ।

निसानामा प्रहरीका हतियारबद्ध ब्यारेक र कार्यालय मात्रै होइन, सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी पनि परे । दिन–रात नभनी सवारी व्यवस्थापनका लागि सडकमा खटिएका ट्राफिक प्रहरी २४ भदौको हिंसात्मक प्रदर्शनपछि केही दिन विस्थापित नै भए । प्रदर्शनमा सडक/चोकका ट्राफिक ‘आइल्यान्ड’ जलाइए । उपत्यकामा प्रहरी ब्यारेकसहित ट्राफिकका धेरैजसो आवासगृह र बुथ पनि जलाइए ।

कतिका पोसाक, रेडियो सेट र सिट्ठीसमेत चोरी भए । जसले गर्दा केही दिन सवारी व्यवस्थापन ट्राफिक प्रहरीविहीन नै बन्न पुग्यो । २४ देखि २७ भदौसम्मको त्यो कहालीलाग्दो अवस्थापछि ‘हताश’ बनाइएका ट्राफिकसहितका सुरक्षाकर्मीहरू क्रमशः नियमित ड्युटीमा फर्किन थालेका छन् । यद्यपि पूर्ववत् अवस्थामा भने अझै परिचालन भइसकेका छैनन् । देशभर साढे ४ सय प्रहरी युनिट तोडफोड तथा आगजनी हुँदा ट्राफिक प्रहरीले व्यहोरेको ठूलो भौतिक क्षतिको अवस्था बुझ्न कान्तिपुर टिम बिहीबार उपत्यकाका विभिन्न युनिटमा पुगेको छ ।

***

दसैं नजिकिँदै गर्दा काठमाडौंको न्युरोडमा किनमेल गर्नेको भीडभाड बढ्दो छ । पैदल यात्रु र सवारीसाधनको चापले सडकमा आवतजावत बढेको छ । बिहीबार दिउँसो साढे २ बजे न्युरोड क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि दुई जना मात्र ट्राफिक प्रहरी देखिन्थे । त्यही समयमा काठमाडौं 

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippersउपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ठूलो संख्याका ट्राफिक प्रहरी कार्यालय सरसफाइमा व्यस्त थिए । भत्किएका/जलाइएका भग्नावशेष पन्छाउँदै शयनकक्ष (खाट) बनाउने ध्याउन्नमा देखिन्थे । जेन–जी विद्रोहपछिको प्रदर्शनमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर हेर्ने ट्राफिक कार्यालयको भवन नै जलेर ध्वस्त छ ।

प्रदर्शनकारी ब्यारेकमै पसेर आगजनीसँगै महत्त्वपूर्ण सामानहरू चोरी गरेका थिए, नागरिकतालगायत कागजपत्र, पैसा पनि जलेका वा चोरिएका छन्, पोसाक जलेपछि आफ्नै खर्चमा नयाँ सिलाएको हुा, ड्युटी त गर्नै पर्‍यो ।-ट्राफिक प्रहरी‘भवनसँगै ब्यारेकमा बस्ने सबै ट्राफिकहरूको सामानसमेत जलेको छ,’ ट्राफिक प्रहरीका एसपी दीपक गिरीले भने, ‘के–कति क्षति भयो भन्ने मूल्यांकन नै गर्न सकिएको छैन ।’ उनका अनुसार ट्राफिकको पोसाकसँगै दिनहुँ प्रयोग हुने संकेत बोर्ड, रिफ्लेक्टिभ ज्याकेट, टर्च, फ्ल्यास लाइट, ह्विसल, मेगाफोन, सीसीक्यामरा, स्पिड गन/राडार, ब्रेथ एनालाइजर (मदिरा परीक्षण) लगायतका सामग्री पनि जले, हराए, लुटिए । कार्यालयको सम्पूर्ण कागजपत्र जलेको गिरीले बताए । ट्राफिकका लागि केही पोसाकहरू प्रहरी प्रधान कार्यालयबाट आए पनि अधिकांशले आफ्नै खर्चमा ट्राफिक पोसाक सिलाएर लगाएका छन् । पोसाक भएकाहरू सडकमा खटिएका छन् भने पोसाक सिलाउन बाँकी ट्राफिकहरू भग्नावशेष पन्छाउन व्यस्त छन् ।

मंगलबारको प्रदर्शनमा कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि यहाँका ट्राफिक भागेर ज्यान बचाएको बताउँछन् । ‘प्रदर्शनकारीहरू ब्यारेकमै पसेर आगजनीसँगै महत्त्वपूर्ण सामानहरू चोरी गरेका थिए, एक ट्राफिक प्रहरीले भने, ‘नागरिकतालगायतका कागजपत्रसहित पैसा पनि जलेका वा चोरी भएका छन् । हाम्रो पोसाकको त कुरै नगरौं । अहिले लगाएको यो पोसाक पनि भर्खरै आफ्नै खर्चमा सिलाएको हुँ । ड्युटी त गर्नै पर्‍यो ।’ साँझ ५ बजे सुन्धारा क्षेत्रमा खटिएका उनको कुरा सुन्न नभ्याउदै पानी पर्‍यो । उनले थपे, ‘पोसाक त किनें तर अब पानी पर्दा लगाउने ज्याकेट किन्न भ्याएको छैन । अब रुझ्ने भइयो ।’

बैंकको एटीएम, चेक लगायतका कागजपत्रहरू समेत जलेपछि ट्राफिक प्रहरीलाई आर्थिक रूपमा पनि समस्या भएको छ । ‘हामी महिला प्रहरीहरूले त पोसाकबाहेक सुनहरू पनि यहीं राख्थ्यौं,’ एक महिला ट्राफिक प्रहरीले भनिन्, ‘कतिको त सुन पनि हराएको छ । सबै कपडा, ओढ्ने, ओछाउने नै जलेपछि धेरै समस्या भएको छ ।’

उनका अनुसार पोसाक नभए पनि केही पुरुष साथीहरूले सडकमा ड्युटी गरिरहेका छन् भने महिलाहरू अहिले सरसफाइ र अन्य काममा जुटिरहेका छन् । प्रदर्शनका क्रममा डिभाइडर, सडक कोन, साइन बोर्डहरू, सीसीक्यामरामा समेत क्षति पुगेकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippersप्रहरी वृत्त महाराजगन्जका निमित्त प्रमुख प्रहरी निरीक्षक सुदर्शन पन्थी बस्ने ठाउँसमेत नभएकाले प्रहरीहरू कार्यालय नजिकैका घरहरूमा आश्रय लिइरहेको बताउँछन् ।

‘हामीले आफ्नो ढंगबाट कार्यालयको पुनर्निर्माण गर्दै छौं,’ पन्थीले भने, ‘पानीको मोटर, ट्यांकीलगायतमा पनि क्षति पुग्दा दैनिकीमा समेत असर पुगेको छ ।’ महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत दुई प्रहरी प्रदर्शनकारीको कुटाइबाट मारिएका थिए । दुई प्रहरी अमानवीय ढंगबाट मारिएको भन्दै पन्थीले मानवताको विषयमा समेत सबैले चासो राख्न अनुरोध गरेका छन् । ‘प्रहरी पनि मान्छे नै हुन्, कुटपिट गरेर सडकमा लछारेर साथीहरूलाई मारिएको छ,’ उनले भने, ‘यसको विषयमा त कोही बोल्नै पर्छ ।’ यहाँ कार्यरत १ सय ७१ प्रहरीमध्ये २ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए । त्यसमध्ये २ जना अहिले पनि आईसीयूमा उपचाररत छन् । काठमाडौंका उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहित दर्जनौं भवन/ब्यारेकहरू जलेका छन् ।

***

२४ भदौको हिंसात्मक प्रदर्शनपछि ट्राफिक प्रहरी वृत्त महाराजगन्ज भग्नावशेषमा परिणत भयो । ट्राफिक प्रहरी कन्ट्रोल रुम, क्यान्टिन पनि जल्यो । भग्न भएको कन्ट्रोल रुम अनि अवशेष मात्रै बाँकी रहेको वृत्तको आँगनबाटै उनीहरू नियमित काममा फर्किएका छन् । वृत्तको ठीक अगाडि जलेर नष्ट भएका सवारीसाधनको थुप्रो देखिन्छ । छेवैको बस बिसौनीतिर ट्राफिक व्यवस्थापन गर्दै थिए, ट्राफिक प्रहरी युवराज गौतम । कलंकीतिरबाट एउटा बस बत्तिएर आयो । बिसौनीमा अन्य बस पनि थिए । युवराज त्यहीँ ट्राफिक व्यवस्थापनमा खटिएका थिए । खासमा २७ वर्षे गौतमले भदौ २६ बाट काम थालेका हुन् ।

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippersआन्दोलनका क्रममा रणमैदान बनेको वृत्त जलेपछि भवनमा फसेका धेरैलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । त्यही उद्धार गरिएकामध्येका एक हुन्, गौतम । आन्दोलन चर्किंदा उनी वृत्तमै थिए । अकस्मात् प्रदर्शनकारीले वृत्तमा ढुंगा हान्न थाले । उनले रोक्न त खोजे तर, आगो भुइँतलामा सल्किसकेको थियो । बाहिर निस्कने अवस्था थिएन । कति प्रहरी पछाडिबाट हाम फालेर जोगिए । तर, आगो दन्किन थालेपछि गौतम अन्य सहकर्मीसँगै वृत्तको छतमा पुगे । धूवाँको मुस्लोले ढाकिँदै जाँदा उनलाई ‘अब बाँचिन्न’ भन्ने पनि लाग्यो । तैपनि गुहार मागिरहे ।

त्यसपछि हेलिकोप्टरद्वारा गौतमलगायतको उद्धार भयो । त्यतिञ्जेल बागलुङमा रहेको गौतम परिवार आत्तिसकेको थियो । घर फर्कन जोड दिइरहे । अहिले आत्मबल उच्च बनाउँदै गौतम पुनः काममा फर्केका छन् । तर उनलाई त्यस दिनको त्रासदीले अझै पनि बेचैन बनाइरहन्छ । डर हटिसकेको छैन । ‘अझै पनि डर छ नि । अहिले त कारबाही गर्न सकिने अवस्था छैन, यही ट्राफिक म्यानेजमेन्ट नै गरिरहेको छु । अवस्था त सामान्य नै भइसक्यो तर डर अझै छ,’ गौतमले सुनाए ।

स्थानीयको सहयोगले अहिले ट्राफिक प्रहरी वृत्त महाराजगन्जमा पुनर्निर्माण सुरु गरिएको छ । जलेर कालो भएका कोठापिच्छे रङ लगाउँदै थिए, केही स्थानीय । थुनुवा राख्ने ठाउँमै पनि एक जना रङ लगाउँदै थिए । छेउकै क्यान्टिनमा सामान ओसार्न सहयोग गर्दै गरेको अवस्थामा भेटिए, हवलदार सूर्यबहादुर खड्का । आगोले प्रहरी कार्यालय जल्दै गर्दा पछाडिको २ तलामाथिबाट फाल हानेर ज्यान जोगाएका हुन्, उनले । चप्पल कारखाना र 

नारायणगोपाल चोकबाट आएका प्रदर्शनकारीले वृत्तलाई घेर्दा कार्यालय नै यसरी जल्छ होला भनेर एक मनले पनि सोचेका थिएनन् रे उनले । तर, भीडले आक्रमण गर्न बन्द गरेन । त्यसैले पहिला थुनुवाको ज्यान जोगाउन उनीहरूलाई छाडिदिए । बिस्तारै वृत्तमा भएका गाडी जल्न थाले, ग्यास 

पड्कियो । कागजपत्र जले, पार्किङ गरिराखेका बाइकहरू जले । आफूसँगै काम गर्दै आइरहेका दुई प्रहरीमाथि कुटपिट गरेको देखेपछि खड्का पछाडिबाट फाल हानेर ज्यान जोगाए । ‘मसँग फाल हानेका अन्य ४ साथीहरू घाइते छन्, सद्दे त म मात्रै हुँ,’ फिस्स हाँस्दै उनी भन्छन्, ‘त्यस दिन सिभिल पोसाकमै घर पुगें ।’

***

दरबारमार्ग चोकैमा ट्राफिक व्यवस्थापनमा खटिरहेकी थिइन्, ट्राफिक प्रहरी नविता श्रेष्ठ । आन्दोलनपछि सामान्य बन्दै गएको दैनिकीले सडकमा सवारी चाप बढेको देखिन्छ । हेटौंडाकी उनले यहाँको प्रभागमा रहेर सेवा पुर्‍याएको ८ महिना मात्रै भएको छ । आन्दोलनका दिन उनी दरबारमार्गस्थित प्रभागमै थिइन् । ३ः३० बजेसम्म अवस्था सामान्य नै थियो । ४ बज्दा नबज्दै हुलदंगा सुरु भयो ।

त्यतिञ्जेल प्रभागमै यसरी आक्रमण होला भनेर नविताले सोचेकी थिइनन् । तर, बिस्तारै अन्य प्रहरी कार्यालय पनि जल्न थालेको खबर पाएपछि मनमा चिसो पसेको उनले सुनाइन् । लगाइरहेको ट्राफिक पोसाक खोलेर सिभिलमा भीडसँग मिसिँदै उनी डेरा फर्किइन् । ‘अहिले पनि माहोल त डरमर्दो नै छ । एक–एक जना ड्युटीमा खट्नुपरिरहेको छ,’ नविता सुनाउँछिन्, ‘जलेको अफिस देख्दा अहिले पनि दुःख लाग्छ । अफिसमा केही सद्दे छैन, जिरोमा पुग्यौं । अफिसको सबै कागजपत्र जल्यो ।’ नविताका अनुसार सवारी उल्लंघन गर्ने चालकलाई चिट काट्ने सेवा पनि बन्द छ । जनताका गुनासा भने सडकमा खटिएका ट्राफिक प्रहरीहरूले सुन्ने, सम्झाउने काम गरिरहेका छन् ।

प्रहरी निरीक्षक गंगाराम बुढाथोकी भने प्रभागमा नै भेटिए । उनी रङ लगाउँदै गरेको दृश्य नियाल्दै थिए । आफूहरूले आन्दोलनको पर्सिपल्टबाटै सेवा सुरु गरेको उनले सुनाए । दुर्घटना भएकालाई सहयोग गर्ने, न्याय दिने काममा उनीहरू अहिले पनि खटिरहेकै छन् । ‘जाम हटाउँदै सवारी आवतजावतलाई सहज बनाइदिने सेवामा हामी फर्किसक्यौं,’ बुढाथोकीले सुनाए । बुढाथोकीले कुरा गर्दागर्दै पृष्ठभूमिमा एक हूल युवा जलेको कोठाभित्र रङरोगन गर्न व्यस्त थिए । बुढाथोकीका अनुसार वरपरका नागरिकले नै प्रभाग सरसफाइ गरिदिएका हुन् ।

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippersमनकारी सर्वसाधारणले जलेको भवनलाई उठाउन वायरिङदेखि रङरोगन गरिदिएर प्रभाग हेर्न लायकको बनाइदिएको उनले सुनाए । ‘पुनःसंरचनाको काम विद्यार्थी भाइबहिनी, आम नागरिकदेखि स्थानीय मिलेर सबैले गरिदिनुभएको छ । हामीले केही गर्नुपरेको छैन,’ प्रभागको आँगनमा उभिएर जलेको कक्ष देखाउँदै बुढाथोकीले भने, ‘त्यस दिन त कार्यालय जलेर मसानघाटजस्तो थियो । अहिले त हेर्न मिल्ने बन्यो, एकजोर सिभिल लुगाबाहेक यहाँ भएको सबै जल्यो । केही बाँकी छैन । साबुनदेखि दारी काट्ने मेसिनसम्म पूरै जल्यो ।’ आगजनीका बेला उनी कार्यालयमै थिए ।

‘ज्यान जोगाउन माथिबाटै ‘अफिस छोड्नू’ भन्ने आदेश आयो । त्यसपछि ज्यानको सुरक्षा गर्न सिभिल पहिरनमा बाहिर निस्कें,’ २४ भदौको त्रासदी सम्झिँदै उनी भन्छन्, ‘प्रतिकार गर्न सकिने अवस्था थिएन । भीडले ढुंगामुढा गर्न थालिसकेको थियो ।’ परिस्थिति यस्तो आउँछ भन्ने आफूले कहिले पनि नसोचेको उनी बताउँछन् । ‘देशभरिको अवस्था थाहा पाइसकेपछि हामीले सिभिल लुगा लगायौं । यस्तो घटना हुँदा पनि मनोबल घटेको छैन ।

जनआन्दोलन, मधेश आन्दोलन सबै देखियो । अहिले स्थानीय, आम नागरिकको सहयोगमै खाना पकाउने भाँडा पायौं । किनमेल गर्दै समूहमा मिलेर खाना खाँदै छौं ।’ अहिले उनीहरू जलेको त्यही प्रभागको कोठामै बसिरहेका छन् । ‘झ्याल छैन, स्थानीयले व्यवस्था गरिदिएको म्याटमा सुतिरहेका छौं । बोराले झ्याल ढाकिएको छ । ‘कार्यालय जले पनि प्रभागको ढोकामै नयाँ होर्डिङ बोर्ड झुन्ड्याइएको छ, जसमा लेखिएको छ– ट्राफिक प्रहरी प्रभाग, दरबारमार्ग ।

***

जलेको भवनमा नयाँ बोर्ड टाँगिएको छ, ‘ट्राफिक प्रहरी प्रभाग कोटेश्वर’ । त्यहीँ भेटिए, प्रहरी सहायक हवलदार सुजन श्रेष्ठ । भर्खरै नयाँ बानेश्वरको ड्युटी सकेर प्रभाग फर्किएका रहेछन् । बिहीबार मात्रै उनलाई नयाँ पोसाक दिइएको रहेछ । पोसाक जलेपछि प्रहरी प्रधान कार्यालयले नयाँ उपलब्ध गराएको रहेछ । ‘आजबाट ड्रेस पायौं । हिजो, अस्ति त सिभिल ड्रेसमाथि फ्लोरोसेन्ट ज्याकेट लगाएर काम गर्‍यौं, आज बल्ल ड्रेस पायौं,’ सुजनले भने । 

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippersसुजनका अरू समस्या छुट्टै छन् । यसअघि ट्राफिक लाइटका कारण सवारी व्यवस्थापन गर्न सहज हुन्थ्यो । पानी पर्दा ओत लाग्न आइल्यान्ड चोकको बीचमै राखिएको हुन्थ्यो । शौचालय जान संसद् भवन छिर्थे । तर, अहिले त्यहाँ जाने अवस्था छैन । संसद् भवन जलाएर ध्वस्त पारियो, बाहिर प्रहरी र सशस्त्रले पहरा दिएर बसेका छन् । नजिकैको रेस्टुराँमा शौचालय गइहाल्न पनि गाह्रो । ‘त्यस दिनको त्रास अहिले पनि हटिसकेको छैन,’ उनी थप्छन्, ‘पाँच घण्टाको ड्युटीमा पिसाब फेर्न पनि जान पाएनौं । गर्मीमा प्यास लाग्छ । त्यसैले पानी कम पिएर भए पनि ड्युटी गरिरहेका छौं ।’

आन्दोलनको पहिलो दिन आन्दोलनकारीले आइल्यान्ड ढालिदिएपछि भाग्नुपर्ने अवस्था आयो । आइल्यान्डमै भएको रेनकोट जल्यो । दोस्रो दिन ५ देखि १० सम्मको ड्युटी थियो बानेश्वरमा । प्रभाग फर्केर खाना खाएको केही बेरमै कोटेश्वर चोकमा आन्दोलन चर्कियो । ‘आएर कपडा चेन्ज गरिसकेको थिएँ, धन्न बाँचियो । आइल्यान्डमा आगो लगाएको पारि बसेर टुलुटुलु हेरिरह्यौं,’ उनी भन्छन् । उनका अनुसार त्यतिबेला हजारभन्दा बढी आन्दोलनकारी चोकमा भेला भएका थिए । प्रभागमा मात्र २०/२५ जना थिए । कति साथी ड्युटीमा खटिएका थिए । प्रभाग जलेको खबर विदेशमा रहेकी सुजनकी पत्नीले थाहा पाएकी रहिछन् । काभ्रेमा रहेका परिवारले पनि जोगिएर काम गर्न सल्लाह दिए । ‘परिवारले पनि ड्युटीमा गइहाल भन्न हिचकिचाउनुभयो । पत्नीले पनि जोगिएरै काम गर्नु भनिन्,’ ३१ वर्षीय सुजनले सुनाए ।

Everything was burnt along with the barracks, the traffic police on duty in casual slippersप्रभागका इन्चार्ज सूर्यप्रसाद पौडेल पनि जलेका सरसामान पन्छाउँदै गरेको भेटिए । बिस्तारै लयमा फर्किने क्रममा रहेको उनले बताए । ‘कम्प्युटरहरू सबै जले, दुर्घटना अभिलेख राख्नेदेखि सानातिना विवाद मिलाउने मात्रै गरिरहेका छौं,’ पौडेलले भने । उनका अनुसार चिट काट्ने काम नहुँदा सवारी चालकले लापरबाही देखाउन थालेका छन् । ‘अहिले चाडपर्वका कारण सवारीको चाप छ । रोक्दाखेरि कति अटेर गरेर हुइँकिन्छन्, हातको इसारा चालकले मानिँदिँदैनन्,’ पौडेलले गुनासो पोखे, ‘तैपनि उच्च मनोबलसहित काम गरिरहेका छौं ।’ आन्दोलन हुँदा पौडेल पनि प्रभागमै थिए ।

प्रदर्शनकारीले विभिन्न ट्राफिक वृत्तमा तोडफोडसँगै गरेको आगजनीमा युनिफर्म जलेपछि कतिपय ट्राफिक प्रहरी बिनाजुत्ता र युनिफर्ममा बिहीबार ड्युटी गर्दै छन् भने सेनाले समेत ट्राफिक व्यवस्थापनमा सघाइरहेको छ । कोही आफ्नै खर्चमा पोसाक सिलाएर ड्युटी गरिरहेका छन् भने कतिपय चोकमा भत्काइएका आइल्यान्ड अझै हटाइएका छैनन् । 

जेन-जीको प्रदर्शन

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully