टिकटक र रेडिटमा 'नेपो किड ट्रेन्ड' : भ्रष्ट्राचारविरुद्व युवा पुस्ताको डिजिटल विद्रोह 

नेपालमा व्याप्त भ्रष्ट्राचारविरुद्व युवा पुस्ताले सामाजिक सञ्जालमा 'नेपो किड ट्रेन्ड' अभियान सञ्चालन गरेका छन्।

भाद्र २१, २०८२

दया दुदराज

'Nepo Kid Trend' on Tik Tok and Reddit: Young Generation's Digital Rebellion Against Corruption

What you should know

काठमाडौँ — पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा 'नेपो बेबी' (नेपो किड) ट्रेन्ड चलेको छ । यो ट्रेन्ड मनोरञ्जनको ट्रेन्ड भने होइन । नेपालमा व्याप्त भ्रष्ट्राचारविरुद्व युवा पुस्ताले सञ्चालन गरेको अभियान हो । 

जहाँ राजनीतिक तथा प्रभावशाली परिवारका सन्तानहरूलाई 'नेपो किड' भन्दै 'टिकटक' र 'रेडिट' जस्ता प्लेटफर्महरूमा उनीहरुको जीवनशैलीमाथि प्रश्न उठाइएको छ । राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरुले पाएको विशेषाधिकारका कारण जनता मारमा परेको आरोप सामाजिक सञ्जालमा छताछुल्ल छ । 

के हो 'नेपो किड' ?

'नेपो किड' वा 'नेपो बेबी' शब्द विश्वव्यापी रूपमा प्रचलित शब्द हो । अंग्रेजी शब्द "नेपोटिजम्" बाट यो सब्दको उत्पत्ति भएको हो । जसको अर्थ पारिवारिक पहुँच वा नातावादका आधारमा प्राप्त अवसर भन्ने बुझिन्छ । हलिउडदेखि बलिउडसम्म फिल्म स्टारका छोराछोरीहरूलाई उनीहरूको प्रतिभाभन्दा पनि पारिवारिक सम्बन्धका कारण सजिलै अवसर पाएको भन्दै यो शब्द प्रयोग गरिन्थ्यो । 

केही समय अघि फिलिपिन्समा यो अभियान सञ्चालनमा आएको थियो । जसमा फिलिपिन्सका राजनीतिज्ञ र सरकार मातहत हरका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको थियो । त्यस्तै नेपालमा पनि राजनीतिक परिवारका सन्तानहरूलाई लक्षित गर्दै यो ट्रेन्ड फैलिएको हो ।

नेपालमा कसरी फैलियो यो ट्रेन्ड ?

प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका सन्तानहरूको विलासी जीवनशैली र आम नागरिकले भोग्नु परेको दु:खलाई तुलना गर्दै यो ट्रेन्ड फैलिएको हो । करदाताको पैसा हिनामिना गरेर आफ्ना सन्तानलाई विलासी जीवन दिएको आरोप युवाहरुले लगाएका छन् । 'रेडिट'मा एक प्रयोगकर्ताले लेखेका छन्-'राजनीतिक परिवारका छोराछोरीहरूलाई सामाजिक सञ्जालमा देख्दा लाग्छ, करदाताको पैसामा उनीहरूले महँगा गाडी, विदेशमा शिक्षा र विलासी जीवन पाएका छन् । जबकि सामान्य युवाले रोजगारीकै लागि विदेश जानुपरेको छ ।'

टिकटकमा  #PoliticiansNepoBabyNepal मार्फत् भिडियोहरु बनाइएका छन् । जहाँ नेताका छोराछोरीहरूको फोटो, भिडियो वा उनीहरूको महँगो जीवनशैली देखाउँदै प्रश्न गरेका छन् । टिकटकको एउटा भिडियोमा भनिएको छ-'के उनीहरूले आफ्नो दक्षता र मेहनतका कारण यो जीवन पाए, वा आफ्ना बुबाआमाको भ्रष्ट शक्ति र सम्पत्तिका कारण ?'

कसैले नेताका विदेशमा अध्ययनरत छोराछोरीको भव्य जीवनशैली देखाएका छन् भने कसैले राजदुतका सन्तानले पाएको विशेष सुविधाहरूलाई उजागर गरेका छन् । यी भिडियोहरूमा व्यक्त आक्रोश र प्रश्नहरूले नेपाली समाजमा मौलाएको असमानता र भ्रष्टाचारप्रतिको जनअसन्तुष्टिलाई स्पष्ट पारेको छ । 

यो ट्रेन्डलाई अझ सक्रियताका साथ अगाडि जाने र उनीहरुको जीवनशैलीमाथि प्रश्न गर्ने क्रम नरोकिने देखिन्छ । एक 'टिकटक' प्रयोगकर्ताले भिडियोमार्फत भनेका छन्, ' "नेपो किड"हरू इन्स्टाग्राम र टिकटकमा लाइफस्टाइल देखाएर ट्रेन्डिङ हुन्छन्, तर त्यो सम्पत्ति कहाँबाट आएको हो कहिल्यै भन्दैनन् ।'

यो ट्रेन्ड केवल भर्चुअल संसारमा मात्र सीमित नभइ सडकसम्म पनि आउने देखिन्छ । रेडिटमा एक प्रयोगकर्ताले लेखेका छन्, 'जेन जि पुस्ता अब ब्यूँझँदैछ । टिकटकमा 'नेपो किड' उजागर गर्दै, सडकमा पनि आन्दोलनतर्फ उन्मुख हुनुपर्छ ।' रेडिटमै भएको छलफल अनुसार सरकारले सामाजिक सञ्जाल बन्द गरेका कारण उनीहरुले सोमबार बानेश्वरसहित देशका विभिन्न स्थानमा आन्दोलनको घोषणा समेत गरेका छन् ।

केही युवाको असहमति !

धेरै युवाले यो ट्रेन्डलाई भ्रष्टाचारविरुद्वको अभियान र राजनीतिक सुधारको आन्दोलनसँग जोड्न थालेका छन् । यद्यपि, कतिपयले यसलाई नकारात्मक रुपमा लिएका छन् । एक प्रयोकर्ताले भिडियोमा भनेका छन्- 'अभिभावकको गल्तीले छोराछोरीले सजाय पाउनु गलत हो । यसले उनीहरूको निजी जीवनमा नकारात्मक असर पर्न सक्छ । यो भोलि साइबर बुलिङको विषय बन्न सक्छ ।'

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully