जेन-जी विद्रोहमा डिस्कर्ड मुख्य डिजिटल संयन्त्रको रूपमा प्रयोग

जाँचबुझ आयोगको प्रतिवेदनले डिस्कर्ड सर्भरहरूमा पेट्रोल बम बनाउने योजना, हिंसात्मक सन्देश र भ्रामक सूचना व्यापक रूपमा फैलिएको उल्लेख गरेको छ ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Discord used as main digital mechanism in Gen-G rebellion

What you should know

काठमाडौँ — जेन-जी विद्रोहमा भएको दमन र भोलिपल्टको विध्वंसक घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनले सामाजिक सञ्जाल प्लाटफर्म ‘डिस्कर्ड’लाई आन्दोलनको योजना बनाउन प्रयोग गरेको शक्तिशाली डिजिटल संयन्त्रका रूपमा व्याख्या गरिएको छ । 

उक्त आन्दोलन संगठित गर्न र परिचालन गर्न डिस्कर्ड मुख्य माध्यम बनेको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ विशेषगरी ‘युवा हब’ र ‘युथ अगेन्स्ट करप्सन’ नामका दुईवटा सर्भरहरू बढी सक्रिय रहेको र तिनमा आन्दोलनको समयमा (करिब ५० घण्टामा) ६ लाख ६४ हजारभन्दा बढी संवादहरू भएको भनिएको छ । भदौ २३ को अपराह्नदेखि नै डिस्कर्डमा ‘मोलोटोभ ककटेल’ अर्थात पेट्रोल बम प्रयोग गर्ने योजनाहरू बन्न थालेको प्रतिवेदनले औँल्याएको छ ।

‘बोतलमा पेट्रोल र कपडा प्रयोग गरी बनाइने बम, जसको चर्चा डिस्कर्डमा ३५६ पटक भएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘डिस्कर्ड संवादमा सोडियम मेटल र नेपाल्म बनाउने सूत्रहरू आदानप्रदान भएको पाइएको छ ।’ साथै, आन्दोलनका क्रममा डिस्कर्डमा ‘होस्टलमा बलात्कृत भएको’ र ‘मृत्यु संख्या बढाइचढाइ गरिएको’ जस्ता गलत र भ्रामक सूचना फैलाइएको र त्यसले भीडलाई थप उत्तेजित र अराजक बनाउन भूमिका खेलेको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार राष्ट्रिय अनुसन्धान विभागसँग डिस्कर्डजस्ता डिजिटल प्लाटफर्ममा हुने संवाद ट्र्याक गर्ने र विश्लेषण गर्ने दक्ष जनशक्ति र उपकरणको अभाव छ । आन्दोलन आयोजकमध्ये एक मानिएका सुधन गुरुङले पनि डिस्कर्डमा केही अराजक समूहले हिंसात्मक गतिविधि गर्न सक्ने सूचना पाएपछि आफूले २२ गते नै प्रहरी र साइबर ब्युरोलाई जानकारी गराएको बयानमा बताएका छन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले डिस्कर्ड एप्लिकेसनको प्रयोग राजनीतिक स्वार्थका लागि पहिलोपटक यमनमा गरिएको र पछि नेपालमा पनि यसको दुरुपयोग गरिएको बयानमा उल्लेख गरेका छन् । 

कान्तिपुर

Link copied successfully