सरकारका तीनवटै निकायमाथि आगजनी र आक्रमण सुनियोजित घटना भएको तत्कालीन प्रधानमन्त्री ओलीको दाबी

तत्कालीन प्रधानमन्त्री ओलीले भदौ २३ र २४ को आन्दोलन र प्रदर्शनलाई 'देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना'को संज्ञा दिएका छन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

The then Prime Minister Oli claims that the arson and attacks on all three government bodies were a planned incident.

काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीनवटै निकायमाथि आगजनी र आक्रमण सुनियोजित घटना भएको दाबी गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगलाई दिएको बयानमा उनले भनेका छन्, 'संसद् भवन जलाउने प्रयास भदौ २३ मा भएकै हो । सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रूपमा युवाहरूमा उत्तेजना सिर्जित गरी ज्यान नै हताहती हुनेसम्मको स्थति सिर्जना गराएको हो ।'

उनले भदौ २३ र २४ को आन्दोलन र प्रदर्शनलाई 'देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना'को संज्ञा दिएका छन् ।

'सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस, बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृंखल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जियनजेडले होइन, आन्दोलनको फाइदा उठाएर घूसपैठ समूहबाट भएको हो,' उनले अगाडि भनेका छन्, 'जियनजेडहरूले आफ्नो माग हाइज्याक भयो, हाम्रो उद्देश्य यस्तो थिएन, शान्तिपूर्ण आन्दोलन थियो भनेकै छन् ।'

'सार्वभौम जनताको प्रतिनिधित्व गर्ने थलो संसद् भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरुपणको थलो सर्वोच्च अदालतमा खोजी खोजी, मिसिल हेरी हेरी छानेर, डाटा खोजेर जलाइयो,' तत्कालीन प्रधानमन्त्री ओलीले आयोगसमक्ष प्रश्न गरेका छन्, 'त्यसमा संलग्नहरूको भिडियो सार्वजनिक भएको छ, उनीहरूको बयान आयोगद्वारा लिइएको छ ?' 

कान्तिपुर

Link copied successfully