जेन-जी आन्दोलनमा विनोद महर्जनको मृत्यु: सुरक्षाकर्मीले बिना चेतावनी टाउकोमा गोली हानेको परिवारको आरोप

दाइ रत्न महर्जनले जाँचबुझका क्रममा दिएको बयानमा विनोदको मृत्यु अस्पताल पुग्नुअघि नै घटनास्थलमै भएको दाबी गरेका छन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Binod Maharjan dies in Gen-G protest: Family alleges security personnel shot him in the head without warning

What you should know

काठमाडौँ — २३ भदौको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३४ वर्षीय विनोद महर्जनमाथि सुरक्षा निकायले बिना चेतावनी टाउकोमा गोली प्रहार गरेको परिवारले आरोप लगाएका छन् । दाइ रत्न महर्जनले जाँचबुझका क्रममा दिएको बयानमा विनोदको मृत्यु अस्पताल पुग्नुअघि नै घटनास्थलमै भएको दाबी गरेका छन् ।

चित्रकला र हस्तकलामा संलग्न विनोद आन्दोलनमा साथीहरुसँग स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए । घटनाको दिन उनी कहाँ थिए भन्ने स्पष्ट नभए पनि अन्तिमपटक उनलाई शंखमूल क्षेत्रमा दिउँसो करिब १२ बजे छिमेकीले पानी वितरण गरिरहेको अवस्थामा देखिएको परिवारको भनाइ छ ।

भदौ २३ गते प्रदर्शनका क्रममा गोली लागेपछि प्रदर्शनकारीहरूले नै उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालको अभिलेख अनुसार दिउँसो १ बजेर ५८ मिनेट जाँदा उनको मृत्यु भएको उल्लेख छ । तर, सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले उनको मृत्यु घटनास्थलमै भएको संकेत गरेको परिवारको दाबी छ ।

प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार सुरक्षाकर्मीले दमनका रुपमा बिना चेतावनी नै दुई राउण्ड गोली मुखमा प्रहार गरेको र उक्त गोली टाउको पछाडिबाट निस्किएको बताएका छन् । साथै, उनले प्रहरी प्रशासनले साथै अस्पतालले घटनासम्बन्धी औपचारिक लिखित बयानसमेत लिएको बताएका छन् ।

राहत स्वरुप परिवारलाई नेपाल सरकारबाट १५ लाख रुपैयाँ र ललितपुर महानगरपालिकाबाट ५ लाख रुपैयाँ राहत प्राप्त गरेको जनाएका छन् । तर, उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न जाँचबुझ आयोगसँग माग गरेका छन् ।

कान्तिपुर

Link copied successfully