एक दशकदेखि झापामा रहँदै आएकी उनी नेपाली कांग्रेसबाट दलित कलष्टरबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी हुन् । सामान्य ग्रामीण परिवेशबाट राष्ट्रिय राजनीतिसम्म आइपुगेकी उनी दलित, महिला र उत्पीडित समुदायका आवाजलाई साहित्य, संगीत र संगठनमार्फत वर्षौंदेखि उठाउँदै आएकी छन् ।
What you should know
धनकुटा — साहित्य–संगीतको साइनोमा जोडिएकी मनमाया विश्वकर्मा ‘मनु’ ले संसदीय यात्रा थालेकी छन् । २०३८ भदौ ८ मा भोजपुरको श्यामसिला–४ मा जन्मिएकी मनुले २०५८ सालमा धनकुटाका हरि दियालीसँग विवाह गरेपछि धनकुटालाई कर्मथलो बनाइन् ।
एक दशकदेखि झापामा रहँदै आएकी उनी नेपाली कांग्रेसबाट दलित कलष्टररबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी हुन् । सामान्य ग्रामीण परिवेशबाट राष्ट्रिय राजनीतिसम्म आइपुगेकी उनी दलित, महिला र उत्पीडित समुदायका आवाजलाई साहित्य, संगीत र संगठनमार्फत वर्षौंदेखि उठाउँदै आएकी छन् ।
धनकुटा बहुमुखी क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गरेकी मनुले महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट एलएलबी समेत गरेकी छिन् । शिक्षा केवल डिग्रीका लागि होइन, समाज परिवर्तनको औजार हो भन्ने विश्वास र चेतनाले आफु साहित्य, समाजसेवा र राजनीतिमा समाहित भएको उनी बताउँछिन् ।
उनको साहित्यिक यात्रा २०५० सालमै सुरु भएको हो । प्रतिनिधि पत्रिकामा प्रकाशित ‘सुमधुर साँझ’ र ‘आजको जिन्दगी’ उनका पहिलो प्रकाशित रचना हुन् । २०७० सालमा प्रकाशित कविता संग्रह ‘ऐंजेरु बिच बुकी’ ले उनलाई नेपाली साहित्यमा थप स्थापित गरायो । गीत, कविता र कथामा समान अधिकार, पीडा, प्रेम र विद्रोह उनका प्रमुख विषय हुन् । उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् भने विभिन्न साहित्यिक तथा सांस्कृतिक समारोहमा उनले गीत गायनमार्फत पनि उपस्थिति जनाएकी छन् । साहित्य र संगीत उनको रुचिकर विधा मात्र होइन, सामाजिक रुपान्तरणको माध्यम बनेका छन् ।
साहित्यमा मात्र होइन, संस्थागत नेतृत्वमा पनि विश्वकर्माको सक्रियता उल्लेखनीय छ । उनी दलित महिला संघ धनकुटाकी पूर्वअध्यक्ष हुन् । विश्व नारी नेपाली साहित्य सम्मेलन, धनकुटाको पूर्वअध्यक्षका रुपमा उनले महिला स्रष्टाहरुलाई संगठित गरिन् । गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटामा कोषाध्यक्षको भूमिका निर्वाह गरेकी उनी हाल क्षितिज साहित्य प्रतिष्ठान, बिर्तामोडकी सदस्य हुन् । नेपाली लेखक संघ कोशी प्रदेश सदस्यको रुपमा पनि उनी उक्तिकै सत्रिय छन् ।
साहित्यिक तथा सामाजिक योगदानको कदरस्वरुप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । भारतस्थित बाबु जगजीवनराम कला साहित्य संस्कृति प्रतिष्ठानबाट प्रदान गरिएको विरंगना इन्द्रायणी अन्तर्राष्ट्रिय सम्मान पदक, अन्तर्राष्ट्रिय विश्वनारी नेपाली साहित्य पदक र मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदान गरिएको श्रीनारायण दाहाल स्रष्टा सौगात सम्मान उनका उल्लेखनीय उपलब्धि हुन् ।
दुई दशकदेखि दलित, उत्पीडित र महिलाका अधिकारका लागि निरन्तर काम गर्दै आएकी विश्वकर्मा अहिले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा देखिएकी छिन् । उनी नेपाली कांग्रेस झापाको महिला संघ क्षेत्रीय सभापति, कांग्रेस क्षेत्र नम्बर २ की क्षेत्रीय सदस्य, र क्षेत्र नम्बर २ महिला संघकी सभापति रहेकी छन् ।
राजनीतिमा आफ्नो प्रवेश पदको लोभभन्दा बढी जिम्मेवारीको बोध रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘साहित्य र संगीतसँगै सामाजिक जीवन अब राजनीतिमा पनि सक्रिय रहने छ ।’ साहित्यमा लेखिएका पीडालाई संसदमा नीति र कानुनमार्फत सम्बोधन गर्नुपर्छ भन्ने विश्वास लिएको उनको धारणा छ ।
बिर्तामोड नगरपालिका–६ स्थित सुन्दरनगर टोलमा बसोवास गर्दै आएकी मनु साहित्य, समाजसेवा र राजनीतिलाई एउटै सूत्रमा गाँसेर अघि बढाउने सोचमा छिन् । उनले बिहीबार प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएको प्रमाणपक्र ग्रहण गर्दा संसदीय यात्रालाई व्यत्तिगत उपलब्धिमा मात्र सिमित नराखी दलित, महिला र आवाजविहीन समुदायका लागि समर्प्रित हुने प्रतिज्ञा गरेको बताइन् ।
समानुपातिक सांसदका अन्य प्रोफाइलहरु:
टुकाभद्र हमाल : भूमिगत संघर्षदेखि सांसदसम्म
पराजयको घाउदेखि ‘माननीय’को यात्रा
पर्वतारोहणमा कीर्तिमान बनाएका मिङ्मा ग्याबुको संसद यात्रा
रीमा विश्वकर्मा : कलाकारिताको घुम्ती हुँदै संसदसम्मको यात्रा
राधिकाले अब संसद्मा बोल्नेछिन् कर्णालीका महिला र सीमान्कृतको आवाज
‘जनयुद्ध’ का ‘रोलमोडल’ थापा पुन: संसद्मा
कैदीबन्दीलाई फुटबल खेलाएर चर्चित खुश्बुको संसद् यात्रा
अमृता विक : सुनचाँदी व्यवसायबाट प्रतिनिधिसभामा फड्को
विद्यार्थी राजनीतिबाट आएकी नीताको संसद यात्रा
