आन्तरिक मतदानमा प्राप्त गरेको मतका आधारमा मधेशी कलष्टरतर्फ महिलामा पहिलो नम्बरमा पुनम अग्रवाल सिफारिस भएकी थिइन् । मुलुकमा देखिएका समस्याको समाधान राजनीतिबाट भागेर, टाढा रहेर र राजनीतिलाई दोष दिँदै उम्केर नहुने उनको भनाइ छ ।
What you should know
भैरहवा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ की पुनम अग्रवालले बिहीबार समानुपातिक तर्फबाट निर्वाचित भएको प्रमाणपत्र बुझेपछि बधाईको ओइरो लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि आफन्तदेखि भैरहवाका उद्योगी–व्यवसायीले बधाई दिइरहेका छन् ।
तीन दिनअघि रास्वपाले आयोजना गरेको अभिमुखीकरणमा सहभागी हुन काठमाडौं पुगेकी उनले बिहीबार निर्वाचित भएको प्रमाणपत्र बुझेकी हुन् । रास्वपाले मधेशी महिलातर्फ उनलाई एक नम्बरमा समावेश गरेर समानुपातिक सूची बुझाएको थियो । त्यही बेलादेखि निर्वाचित हुने पक्का ठानिएकी उनले औपचारिक रूपमा प्रमाणपत्र बुझेपछि खुसी व्यक्त गरिन् । ‘आजदेखि औपचारिक रूपमा सांसद भइयो,’ उनले भनिन्, ‘यससँगै भूमिका पनि फेरियो ।’
लामो समयदेखि उनी राजनीतिसँगै उद्योग व्यवसायमा संलग्न थिइन् । अर्गानिक मल उद्योग र अन्य व्यवसायको रेखदेख र सञ्चालनमा उनको भूमिका थियो । सामान्य जीवनयापन रुचाउने उनी अध्ययन र कामको अनुभवका आधारमा अहिले स्वास्थ्य क्षेत्रमा क्रियाशील हुनुपर्थ्यो । मेडिकल बायोलोजीमा स्नाकोत्तर तह अध्ययन गरेकी उनले सुरुमा उद्योग–व्यवसाय रोजिन् ।
आर्थिक क्षेत्रमा काम गर्ने सिलसिलामा नेपालमा व्याप्त राजनीतिक अस्थिरता र सामाजिक विकृतिले उनलाई बेचैन तुल्यायो । त्यस्तो अस्थिरता र सामाजिक विकृति अन्त्यका लागि आफूले राजनीति रोजेको उनले बताइन् । उनका अनुसार २०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएदेखि नै राजीतिक क्षेत्र अस्थिर बन्दै गएको थियो ।
‘प्रजातन्त्र बहालीपछि बिग्रिएको राजनीति पछिल्लो समय सबैले हेला गर्ने क्षेत्र बन्यो,’ उनले भनिन्, ‘राजनीतिमा देखिएको हिलोमैलो सफा गर्न मजस्ता अध्ययन गरेका र बुझेका महिला आउनु परेको हो ।’
आफ्नो उद्योग र व्यवसाय ‘ह्याण्डिल’ गर्नुपर्ने जिम्मेवारी थाँती राखेर यसपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको उनले बताइन् । रूपन्देही–३ मा उपनिर्वाचनको चर्चा सुरु भएदेखि अग्रवालले उम्मेदवारीमा आकांक्षा व्यक्त गरेकी थिइन् । त्यसबेला रास्वपाले उम्मेदवार छान्न देशभरका कार्यकर्ता सहभागी हुन पाउने गरी आन्तरिक मतदान गरेको थियो ।
जसमध्ये मधेशी महिलातर्फ अग्रवालले सर्वाधिक मत पाएकी थिइन् । १५ हजार ७ सय ४५ मत पाएर उनी पहिलो स्थानमा रहेकी थिइन् । उक्त मतदानमा डा. अंकिता ठाकुरले १२ हजार ३ सय २२, ममता शर्माले ११ हजार ६ सय ३०, सोनमतीकुमारी यादवले ११ हजार १ सय २०, कामिनी कुमारीले ११ हजार ३८, डा. अभिजित गुप्ताले १० हजार ४ सय ३७, जुली यादवले ९ हजार ९ सय ६२, पुनम साहले ९ हजार ७ सय ४२ र निशा मेहताले ९ हजार ६ सय २५ मत प्राप्त गरेका थिए । त्यसबेला आन्तरिक प्रश्नोत्तरमा समेत अग्रवाल उत्कृष्ट बनेकी थिइन् ।
आन्तरिक मतदानमा उनले प्राप्त गरेको मतका आधारमा मधेशी कलष्टरतर्फ महिलामा पहिलो नम्बरमा सिफारिस भएकी थिइन् । मुलुकमा देखिएका समस्याको समाधान राजनीतिबाट भागेर, टाढा रहेर र राजनीतिलाई दोष दिँदै उम्केर नहुने उनको भनाइ छ । ‘राजनीतिक परिधिभित्रै रहेर सुधारको खोजी गरिनु आवश्यक छ,’ उनले भनिन्, ‘संसद्मा पनि मेरो भूमिका यसैमा केन्द्रित हुनेछ ।’ राजनीति सुधार गर्नका लागि आफू स्वयंमा नैतिक इमानदारी पहिलो सर्त हुने उनको भनाइ छ ।
साढे दुई वर्षदेखि पार्टी सदस्य भएर काम गर्दै आएकी उनले रास्वपा सिद्धार्थनगरको सचिवसमेत भएर काम गरिन् । लामो समयदेखिको मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेकी उनले पार्टीले अघि सारेका एजेण्डा, पार्टी नेतृत्व र मुलुकको विकासप्रतिको स्पष्ट दृष्टिकोणले गर्दा रास्वपा रोजेको बताइन् । उनी यसअघि ०७० मा भएको स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरप्रमुख पदकी प्रत्यासी बनेकी थिइन् । ‘विगतमा फरक पार्टीबाट उम्मेदवार बनेकी थिएँ,’ उनले भनिन्, ‘उक्त अभ्यासले राजनीतिप्रतिको मेरो लगावलाई थप बलियो बनाएको मात्रै छैन, यहाँका मतदातासँग समेत घुलमिल गराएको थियो ।’
समानुपातिक उम्मेदवार सिफारिस भएपछि उनी पार्टीले सञ्चालन गरेका हरेक प्रचारका कार्यक्रममा सहभागी भइन् । प्रत्यक्षतर्फका उम्मेदवारसँगै घरदैलो र मञ्चमा साढे दुई वर्षकी छोरी बोकेर सहभागी भइरहिन् । ‘सुत्केरी अवस्थामा समेत मैले पार्टी राजनीतिलाई केन्द्रमा राखेकी थिएँ,’ उनले भनिन्, ‘छोरी जन्मिएपछि काखमा बोकेर पार्टी अभियानमा सहभागी भएँ ।’ यस्तो लगन र खटनले गर्दा पनि पार्टीभित्र र बाहिर अग्रवालको लोकप्रियता बढेको स्थानीय धीरज घिमिरेले बताए । ‘आफ्नो कर्मप्रति लगाव भएका व्यक्तिको प्रवेशले नै राजनीति सुधार हुने हो,’ उनले भने, ‘समाज बुझेका व्यक्तिले जनअपेक्षा अनुसारका काम गर्न सक्छन् ।’
अग्रवाल परिवारको लगानीमा रूपन्देहीको रोहिणीमा मुलुकको पहिलो अर्ग्यानिक दानेदार मल उद्योग सञ्चालित छ । विगतमा विभिन्न मेडिकल कलेजहरूमा अध्यापन गराएको अनुभव रहेकी अग्रवाल प्रष्ट वक्ताका रूपमा परिचित छन् । राष्ट्रियस्तरका सम्मानसमेत पाइसकेकी छन् । ‘म पार्टीको सिपाही हुँ, पार्टीको निर्देशन र हितअनुसार काम गर्ने हो,’ उनले भनिन्, ‘मैले सुरुवातदेखि नै सोहीअनुसार काम गर्दै आएकी छु । त्यही भएर पार्टीले मेरो मूल्यांकन गरेको बुझेकी छु ।’
समानुपातिक सांसदका अन्य प्रोफाइलहरु:
टुकाभद्र हमाल : भूमिगत संघर्षदेखि सांसदसम्म
पराजयको घाउदेखि ‘माननीय’को यात्रा
पर्वतारोहणमा कीर्तिमान बनाएका मिङ्मा ग्याबुको संसद यात्रा
रीमा विश्वकर्मा : कलाकारिताको घुम्ती हुँदै संसदसम्मको यात्रा
राधिकाले अब संसद्मा बोल्नेछिन् कर्णालीका महिला र सीमान्कृतको आवाज
