बेलायतबाट अध्ययन सकेर फर्किएकी खुश्बुको संसद् यात्रा

धेरैले उनलाई प्रश्न सोधिरहन्छन्, ‘नयाँ पुस्ताको राजनीतिज्ञ भएर किन पछाडि फर्किने एजेन्डा बोकेको ?’

चैत्र ५, २०८२

गौरव पोखरेल

Khushbu, who returned from her studies in the UK, visits Parliament

What you should know

काठमाडौँ — सात वर्षअघि बेलायतको किंस्टन विश्वविद्यालयमा अध्ययन सकेर स्वदेश फर्किँदा झापाकी खुश्बु ओलीसामु अनेक अवसर थिए । प्रतिष्ठित विश्वविद्यालयको डिग्रीसँगै सामाजिक संस्थामा काम गरेको अनुभवसमेत भएकी उनले जुनसुकै अन्तर्राष्टि्रय संस्थामा काम गर्न सक्थिन् ।

तर, खुश्बुले आफ्नै गाउँमा फर्किएर कृषि क्षेत्रमा केही प्रयास गर्ने सोचिन् । आफ्नो घर सुरुङ्गाबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पुरानो सदरमुकाम झापामा अधिकांश कृषि पेसामा आबद्ध थिए । कहिले समयमा मल नपाइने, कहिले सिँचाइ अभाव त कहिले बाढीले बालीलाई सोत्तर बनाइदिँदा उनीहरू सधैं पीडामा थिए ।

‘कृषिमा केही गर्नुपर्छ भन्ने भएपछि मैले क्रप इन इन्डिया नामक संस्थासँग जोडिएर काम गर्न थालेकी थिएँ । त्यसका लागि मैले आफ्नै घरछेउको गाउँ रोजेँ,’ उनी सम्झन्छिन्, ‘किसानसँगै बसेर काम नगरी उनीहरूको समस्या बुझिँदैन भन्ने लाग्यो, त्यसैले गाउँमै बसेर काम गर्न थालेकी थिएँ ।’

त्यसबेला उनले किसानमा एउटा गम्भीर समस्या पनि देखिन् । रासायनिक मलको बढ्दो प्रयोगसँगै गाउँका किसानलाई क्यान्सर लागिरहेको थियो । ‘मैले भेटेका किसानमध्ये धेरैलाई क्यान्सर भएको थाहा पाएपछि प्राङ्गारिक मल प्रयोग गर्नेबारे अभियान नै चलाएँ,’ उनले भनिन्, ‘सीमा क्षेत्र भएकाले धेरै भारतीय पनि खेती गर्न नेपाल आउने रहेछन् । त्यसरी आउनेहरूले जथाभावी मल प्रयोग गर्थे, जसले माटोको उर्वराशक्तिसँगै ज्यानमै समेत असर गरिरहेको थियो ।’

किसानले खेपिरहेको पीडामा स्थानीय तह र सरकारको भने कुनै ध्यान थिएन । कतिसम्म भने बालीमा कहिले असिनापानी त कहिले किराको प्रकोपले क्षति गर्दा सरकारी निकायले लगत संकलनसमेत गर्दैनथ्यो ।

‘किसान जताततै पीडामा थिए । जसोतसो उब्जनी हुँदा पनि उत्पादनले मूल्य पाउँदैनथ्यो,’ खुश्बुले थपिन्, ‘त्यसपछि मलाई लाग्यो, किसानको आवाज बोल्न संसद्मा जानुपर्छ, उनीहरूको आवाज सुनिने ठाउँमा पुग्नुपर्छ ।’

उनले त्यसअघि नेपालमा सडक र जेलमा रहेका व्यक्तिहरूको पुनर्स्थापनामा काम गरिसकेकी थिइन् । उनले जेलमा रहेका कैदीबन्दीका लागि फुटबल प्रतियोगिता गराएरसमेत चर्चा पाइन् । नेपाल फुटबल संघ र एसियन फुटबल संघसँग मिलेर उनले ‘प्रिजन फुटबल’ प्रतियोगिता गराएबापत दुईपटक ‘एएफसी ड्रिम एसिया अवार्ड’ पाइसकेकी थिइन् । 

‘त्यो सबै पृष्ठभूमिले मलाई राजनीतिमा आउन सजिलो भयो । मैले बुझेका कुरामा राजनीतिक रूपमै हस्तक्षेप गर्छु भन्ने भयो,’ उनले भनिन् ।

सुरुमा उनले स्वतन्त्र रूपमा राजनीति अघि बढाउने सोचेकी थिइन् । त्यसैले आफ्नो घरसमेत रहेको झापा क्षेत्र नं. ४ मा २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । त्यो चुनावमा ओलीले ५ हजार १० मत ल्याइन् भने एमालेका एलपी साँवा लिम्बु २९ हजार ३१५ मतका साथ विजयी भए । कांग्रेसका देउमान थेबे दोस्रो र रास्वपाका शम्भु ढकाल तेस्रो भए ।

जेन-जी आन्दोलनपछिको परिस्थितिमा २१ फागुनमा भएको चुनावसम्म आइपुग्दा भने उनी राष्टि्रय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरिसकेकी थिइन् । त्यतिबेला राप्रपामा राजेन्द्र लिङ्देनको नेतृत्व आएकाले पुस्तान्तरणको सन्देशसमेत गएको थियो ।

राप्रपा प्रवेश गरेपछि १५ चैतमा भएको राजावादी आन्दोलन होस् वा राजसंस्था पुनस्र्थापनाको माग गर्दै भएका अन्य आन्दोलनमा उनी सक्रिय सहभागी हुन्थिन् । पार्टीको एजेन्डा बुझाउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत आफ्ना कुरा राख्थिन् ।

Khushbu, who returned from her studies in the UK, visits Parliament

राप्रपाले २०८१ चैतको अन्तिम साता बल्खुमा गरेको सभामा उनले आफ्नो टि–सर्टमा कांग्रेस–एमाले–माओवादीलगायत दलहरूले गरेको भ्रष्टाचारको सूचीसहित रचनात्मक विरोध प्रदर्शन गरेकी थिइन्। बीचमा ‘काण्ड’ लेखेर ललितानिवास, वाइडबडी, सुडान, भुटानी शरणार्थी, ओम्नी, गिरीबन्धु, सुनकाण्डलगायत लेखिएको टि–सर्ट लगाएर आन्दोलनमा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पहिले झापा-४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बुलाई यसपालि भने राप्रपाले समानुपातिकतर्फ राख्यो । रास्वपाको लहरबीच राप्रपाका ज्ञानेन्द्र शाही मात्र प्रत्यक्षतर्फ निर्वाचित हुँदा पार्टीले समानुपातिकबाट ४ सिट पायो । त्यसमा पार्टीले खसआर्य महिलातर्फ उनलाई छानेपछि ओलीको संसदीय यात्रा सुनिश्चित भएको छ ।

तर, धेरैले उनलाई प्रश्न सोधिरहन्छन्, ‘नयाँ पुस्ताको राजनीतिज्ञ भएर किन पछाडि फर्किने एजेन्डा बोक्ने पार्टीमा लागेको ?’ एकपटक एमाले अध्यक्ष केपी ओलीलेसमेत सोही विषयलाई लिएर उनीप्रति कटाक्ष गरेका थिए ।

ओली भने सीमान्त गाउँमा जाँदा देखिएको धर्मान्तरणको समस्याका कारण आफूले देश हिन्दुराष्ट्र हुनुपर्छ भन्ने सोच राखेर सोही एजेन्डा बोक्ने पार्टीलाई साथ दिएको बताउँछिन् ।

‘त्यो गाउँ पिछडिएको वर्ग र सन्थाल समुदाय धेरै भएको ठाउँ हो, त्यहाँ अनेक लोभमा धर्मान्तरण भइरहेको रहेछ,’ उनले भनिन्, ‘त्यस्तो अवस्थामा आधुनिकताको नाममा धर्म, संस्कृति र इतिहास नबचाउने पार्टीतिर लाग्नु हुँदैन भन्ने लाग्यो ।’

फेरि देशमा शून्यता हुँदा कसरी विदेशी शक्तिले चलखेल गर्छन् भन्ने बुझेकाले संवैधानिक राजसंस्था आवश्यक छ भन्ने मत आफू राखेको उनी बताउँछिन् । ‘राप्रपाले सक्रिय होइन, अभिभावकीय राजसंस्था भनेको छ,’ उनले भनिन्, ‘राप्रपाले लोकतन्त्रसँग सम्झौता गर्दैन, तर देशको अभिभावकका रूपमा राजा चाहिन्छ ।’ 

विश्वका थुप्रै देशमा राजा भएको उदाहरण दिँदै खुश्बु समाजलाई एकीकृत गराउनसमेत ‘हिन्दु सम्राट’ आवश्यक रहेको मत राख्छिन् । ‘राजतन्त्र हटेपछि समाज कहिल्यै एकीकृत छैन, अत्यधिक घृणा र अराजकता छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘नेपाललाई एउटै पहिचानमा जोड्न पनि हिन्दु अधिराज्य हुनुपर्छ र त्यसका लागि हिन्दु सम्राट चाहिन्छ भन्ने मेरो मान्यता हो ।’

राजा हुँदा विश्व समुदायले गर्ने व्यवहारसमेत फरक हुने विश्वास व्यक्त गर्दै उनी थप्छिन्, ‘राजसंस्था भनेको निर्दलीय हुन्छ, कुनै व्यक्ति विशेषको हुँदैन । यो देशको गरिमासँग जोडिएको कुरा हो । राजा हुनु भनेको विश्व समुदायले हामीलाई गर्ने व्यवहार फरक हुनु हो भन्ने पनि बुझ्नुपर्छ ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully