एमालेबाट खस–आर्य महिला क्लस्टरअन्तर्गत प्रतिनिधिसभामा सांसद बनेकी टुकाभद्र हमालको यात्रा विद्यार्थी आन्दोलन, पञ्चायती शासनविरुद्धको भूमिगत संघर्ष, संगठन निर्माण र महिला नेतृ हुँदै केन्द्रीय राजनीतिसम्म आइपुगेको छ ।
What you should know
लमजुङ — लमजुङको ग्रामीण भेगबाट उठेर राष्ट्रिय राजनीतिमा पुगेको नाम हो, ‘टुकाभद्र हमाल ।’ उनी एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को अध्यक्ष हुन् ।
एमालेबाट खस–आर्य महिला क्लस्टरअन्तर्गत प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी हमालको यात्रा विद्यार्थी आन्दोलन, पञ्चायती शासनविरुद्धको भूमिगत संघर्ष, संगठन निर्माण र महिला नेतृ हुँदै दोस्रोपटक केन्द्रीय राजनीतिसम्म आइपुगेको छ ।
२२ भदौ २०१९ मा लमजुङको दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङमा जन्मिएकी हमाल साधारण कृषक परिवारमा हुर्किइन् । बुबा वीरबहादुर हमाल र आमा विष्णुकुमारी हमालका ५ सन्तानमध्ये उनी कान्छी छोरी हुन् । उनले ग्रामीण जीवनका अभाव, श्रम र विशेषगरी महिलाले भोग्नुपर्ने समस्यालाई नजिकबाट अनुभूति गरेकी छन् ।
गाउँको सामाजिक संरचना, सामुदायिक सम्बन्ध र लैंगिक असमानताले बाल्यकालदेखि नै उनमा परिवर्तनको सोच पलाएको थियाे ।
गाउँकै लक्ष्मी माविमा ७ कक्षासम्म अध्ययन गरेपछि उनी माथिल्लाे कक्षा अध्ययनका लागि चितवनको गीतानगरस्थित अरुणोदय माविमा पुगेकी थिइन् । त्यहीँबाट उनले २०३७ सालमा एसएलसी उत्तीर्ण गरिन् ।
२०३६ सालमा अनेरास्ववियु चितवन जिल्ला कमिटीको कोषाध्यक्ष बनेर औपचारिक राजनीतिक यात्रा सुरु गरेकी हमाल २०३७ साल जेठमा जिल्ला सम्मेलनबाट सचिवमा निर्वाचित् भइन् । पञ्चायती शासनको दमनबीच संगठन विस्तार गर्नु सहज थिएन तर उनी त्यसै समयदेखि जोखिम मोलेर राजनीतिमा हाम फालिन् ।
एसएलसीपछि उनी भूमिगत भइन् । चितवनमा पञ्चयाती दमन बढेपछि पार्टीको निर्णयअनुसार लमजुङ आइन् । लमजुङमै लुकीछिपी संगठन विस्तार, कार्यकर्ता परिचालन र राजनीतिक चेतना फैलाउन थालिन् ।
९ साउन २०३८ मा पार्टी सदस्यता प्राप्त गरेपछि उनको राजनीतिक जीवनले संस्थागत रुप लियो । यही वर्ष मंसिरबाट उनी तत्कालीन नेकपा माले लमजुङ जिल्ला कमिटीको उपसचिव बनिन् । साथै, पुसमा उनी अनेमसंघ जिल्ला कमिटी लमजुङको अध्यक्ष बनिन् । त्यसपछि उनको सक्रियता महिला संगठन विस्तारमा केन्द्रित बन्याे ।
माघ २०३८ देखि गण्डकी–धौलागिरी क्षेत्र जोडेर अनेमसंघको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सचिवको जिम्मेवारी सम्हालिन् । २०४४ सालसम्म निरन्तर संगठन निर्माणमा लागिन् । त्यो समय महिला सहभागिता न्यून रहेको अवस्थामा गाउँगाउँ पुगेर महिलालाई संगठित गर्नु उनको मुख्य कार्यभार थियो ।
चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा २०४५–२०५१ सम्म अध्ययन गर्दा उनी सक्रिय रुपमा राजनीतिमा लागिन् । अध्ययनसँगै संगठन विस्तार, प्रशिक्षण र जनसम्पर्कका कामलाई अघि बढाइन् । २०५४ सालमा उनी नेकपा (एमाले) जिल्ला कमिटी सदस्य भइन् । २०५४ को निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भइन् ।
२०६२ देखि २०६६ सालसम्म पार्टीको गण्डकी अञ्चल कमिटी सदस्यका रुपमा काम गरेकी हमाल २०६६ सालको आठौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित् भइन् । त्यसपछि गण्डकी अञ्चल सह–इन्चार्ज र लमजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहिन् ।
पार्टीको दशौँ र एघारौँ महाधिवेशनबाट पनि केन्द्रीय कमिटी सदस्यमा निरन्तरता पाउनु उनको संगठनात्मक प्रभाव र विश्वास मानिन्छ । त्यही प्रभाव र विश्वासले पार्टीका तर्फबाट २०७० सालमा दोस्रो संविधानसभा सदस्य बनिन् । संविधानसभामा उनले महिला अधिकार, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका विषयमा आफ्ना धारणा राखिन् ।
महिला आन्दोलनमा उनको योगदान अनेमसंघबाट अझ स्पष्ट देखिन्छ । जिल्ला तहबाट सुरु भएको यात्रा राष्ट्रिय नेतृत्वसम्म पुग्दै उनी छैटौँ सम्मेलनबाट उपाध्यक्ष बनिन् । २५–२७ चैत २०७८ मा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट उनी अनेमसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भइन् ।
समानुपातिकबाट प्रतिनिधिसभा सदस्यका रुपमा पाएको जिम्मेवारीलाई उनी पदभन्दा पनि ग्रामीण महिलाको आवाज पुर्याउने दायित्व सम्झन्छिन् । ‘संसद् मेरो लागि केवल पद प्राप्त गर्ने थलोमात्र होइन, जिम्मेवारी बहन गर्ने ठाउँ हो । यहाँ पुग्नु भनेको धेरै महिलाको प्रतिनिधित्व गर्नु हो भन्ने बुझेकी छु,’ उनले भनिन्, ‘ग्रामीण महिलाको आवाज अझै पनि नीतिगत तहमा पर्याप्त मात्रामा पुग्न सकेको छैन । म महिलाको आवाजलाई संसद्सम्म पुर्याएर नीतिमा रुपान्तर गराउने र व्यवहारमा कार्यान्वयन गराउने प्रयास गर्नेछु ।’
समानुपातिक प्रणालीमार्फत आएको प्रतिनिधित्वलाई उनी अवसरका रुपमा हेर्छिन् । ‘समानुपातिक प्रतिनिधित्व केवल समावेशी देखाउने माध्यममात्र होइन, वास्तविक सहभागिता सुनिश्चित गर्ने व्यवस्था हो । म एउटा क्लस्टरको प्रतिनिधि हुँदै संसदमा पुगे पनि सम्पूर्ण महिलाको साझा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्छु,’ उनी भन्छिन् ।
के भन्छन् राजनीतिक सहयात्री?
अनेमसंघकी केन्द्रीय सचिव मीना सिंह रखाल हमाल केवल नेतृमात्रै नभएर संस्थासरह रहेको बताउँछिन् । ‘टुका हमालसँग २०५५ सालमा अनेमसंघको कार्यक्रममा चिनजान भएको थियो । त्यसपछि विभिन्न तहमा सँगै काम गर्ने अवसर पाइयो,’ उनले भनिन्, ‘नजिकबाट बुझ्दा उहाँ केवल नेतृ होइन, एउटा संस्थाजस्तै लाग्छ । जसले आफू मात्रै अघि बढ्ने होइन, अरुलाई पनि सँगै लैजाने सोच राख्नुहुन्छ ।’
रखालका अनुसार राजनीतिमा धेरैले अवसर खोज्छन् तर टुकाले सधैं जिम्मेवारी मात्रै खोज्ने गरिन् । ‘उहाँको सबैभन्दा ठूलो विशेषता भनेको निष्ठा हो । लामो राजनीतिक यात्रामा उहाँमाथि कुनै दाग नलाग्नु, विवादमा नपर्नु र निरन्तर काम गरिरहनु सजिलो होइन । उहाँले यसलाई सम्भव बनाउनुभएको छ ।’
संसद्मा टुकाको उपस्थिति केवल औपचारिकमात्रै नहुने रखाल दाबी गर्छिन् ।
तत्कालीन जिल्ला विकास समितिका सभापति एवं एमाले केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेका अनुसार हमालको राजनीति कुनै आकस्मिक अवसरको परिणाम होइन् । विद्यार्थी आन्दोलन, पञ्चायती दमनविरुद्धको संघर्ष र भूमिगत जीवनबाट निर्माण भएको राजनीतिक पहिचानको निरन्तरता ठान्छन् ।
लमजुङको गाउँबाट सुरु भएको यात्रा पुनः एकपटक संघीय संसदसम्म आइपुगेको छ । टुकाभद्र हमालको यो यात्रा व्यक्तिगत सफलता मात्र नभइ नेपाली महिला आन्दोलन, संगठनात्मक राजनीति र निरन्तर संघर्षको एउटा सशक्त उदाहरण हो । अब संसद्मा उनको भूमिका कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्नसँगै अपेक्षा पनि उत्तिकै बढेको छ ।
