रीमा विश्वकर्मा : कलाकारिताको घुम्ती हुँदै संसदसम्मको यात्रा

बाल्यकालको लामो समय बुबा–आमाबिना बिताएकी रीमा कलाकारिताको खुड्किलो टेक्दै राजनीतिक यात्रामा आइपुगेकी छन्। संघर्ष र अप्ठ्याराका कैयौँ घुम्ती छिचोलेकी उनले आफ्नो संसदीय भूमिका कसरी निर्वाह गर्लिन् भन्ने धेरैलाई चासो छ।

चैत्र ३, २०८२

समर्पण श्री

Reema Bishwakarma: A journey through the art world to Parliament

What you should know

काठमाडौँ — फिल्म र टेलिभिजनका पर्दाहरूमा चम्किरहेकी अभिनेत्री रिमा विश्वकर्मा अबका दिनमा सदनमा देखिने भएकी छन् । त्यसैले पनि फिल्मकर्मीहरूले गर्विला शब्दहरूमा उनलाई शुभेच्छा प्रकट गरिरहेका छन् । रिमाकी हितैषी मित्र अभिनेत्री केकी अधिकारीले सोमबार प्रेमपूर्वक शब्दहरू व्यक्त गरिन्, 'तिम्रो त्यो निडर आवाज संसदभवनभित्र प्रस्ट सुनियोस् ।’

रास्वपाले समानुपातिक सूचीको दलित महिला क्लष्टरबाट सांसद बनाएपछि अब उनको यात्रा र जिम्मेवारीमा युटर्न आएको छ । हिजो शिशाका पर्दा र स्टेजहरूमा उद्घोषण गर्ने रिमा अब संसदमा जनताका आवाज लिएर उभिने छिन् । नीति निर्माणका प्रक्रियामा सहभागी हुनेछिन् । ‘म त्यहाँ पुगेँ भने दलित र सिमान्त समुदायको आवाज बोल्नेछु । महिलाहरूको आवाज बोल्नेछु । फिल्म क्षेत्रको भविष्यका निम्ति सोच्नेछु,’ निर्वाचनअघि रिमाले कान्तिपुर दैनिकसँग भनेकी थिइन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट राजनीतिक यात्रामा कदम चालेकी रिमा प्रतिनिधिसभा निर्वाचनका लागि सोही पार्टीबाट समानुपातिकतर्फको उम्मेदवार थिइन् । कुलमानले रास्वपामा उज्यालो नेपाल समाहित गर्दा रिमा रास्वपा समानुपातिकतर्फको दलित महिला क्लस्टरको पहिलो नम्बरमा थिइन् ।

पार्टी एकीकरणको १२ दिनमै उज्यालो नेपाल रास्वपाबाट अलग भयो । तर रिमा भइनन् । उनको उम्मेदवारी रास्वपामा अग्रस्थानमै सुरक्षित भयो । कुलमानलाई संकटमा छाडेको भन्दै उनीमाथि आलोचना र टिप्पणी समेत भए । तर, रिमाको अडान थियो, ‘मैले परिवर्तनलाई साथ दिएकी हुँ ।’

Reema Bishwakarma: A journey through the art world to Parliament

चुनावी प्रचारको क्रममा रिमा एकपटक ट्रोल भइन् । स्याङ्जामा चुनावी प्रचारको क्रममा रास्वपाका उम्मेदवारलाई जिताए चुनावपछि रवि र बालेन्द्रलाई उक्त क्षेत्रमा ल्याउने वाचा गरेकी थिइन्। उनले भनेकी थिइन, ‘म एउटा वाचा गर्न चाहन्छु । स्याङ्जा-१ र २ बाट हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने छु ।’

उनका निम्ति वाचा भए पनि धेरैका निम्ति यो सस्तो प्रचार ठहरियो । भिडियो भाइरल भएर ट्रोल भइरहेको बेला उनले कान्तिपुरसँग आशय प्रस्ट्याएकी थिइन्, ‘नेताहरू जहिले पनि चुनावी समयमा मात्रै घरदैलोमा पुग्छन्, त्यसपछि पावर सबै केन्द्रमा मात्रै केन्द्रीकरण हुने गर्छ। त्यो चिजबाट माथि उठेर अब हामीले चुनावभन्दा पनि अगाडि पछाडि आवश्यक परेको खण्डमा केन्द्र धाउने होइन कि पावर नै हामीसम्म आइपुग्नुपर्छ भन्न खोजेको हो ‌।’

अभिभावकविहीन बाल्यकाल

रिमाको बाल्यकाल आमा-बाको छहारीविनै बित्यो । रिमा २ वर्षको हुँदा आमाले उनीसहित दिदी-भाइलाई लिएर बर्दियाबाट काठमाडौं आएकी थिइन् । आमाले उनीहरूलाई काठमाडौंमा होस्टेलमा राखेर पढाउने निर्णय गरिन् । र, आमा कामको खोजीमा भारत गइन् । रिमाले बालाई तस्बिरमाबाहेक कहिल्यै देख्न पाइनन् ।

रिमा बुझ्ने नहुँदै उनका बा कामका सिलसिलामा भारत गइसकेका थिए । बा भारतमा ड्राइभिङ गर्थे । रिमा, दिदी र उनका भाइ काठमाडौंको होस्टेलमा हुर्किए । होस्टेलकालिन उक्त जीवनमा उनले परिवारको न्यास्रो र एक्लोपनको गहिरो अनुभव गरिन् ।

रिमाकी दिदी स्कुले पढाइ पूरा गरेर बर्दियाको गाउँ फर्किइन् । यता होस्टलमा रिमा र भाइ मात्र थिए । ‘चाडबाडको समयमा अरू बालबालिकाहरूलाई घर लैजान अभिभावकहरू आउँथे तर हामीलाई  लिन कोही आउँदैनथे । हामी होस्टेलको छतमा बसेर अरू साथीहरू घर गएको हेर्दै 'बाइ-बाइ' गर्थ्यौं । अनि हाम्रा अभिभावक कहिल्यै लिन आउँदैनन् कि भन्ने डरले रुन्थ्यौं,’ उनी उराठलाग्दा दिन सम्झन्छिन् ।

साथीहरूले रिमाका दिदीभाइलाई ‘अनाथ’ भनेर जिस्क्याउँथे । अनाथ शब्दले उनको मस्तिष्कमा गहिरो चोट पुर्‍याएको थियो त्यतिबेला ।

रिमाको जीवनमा आमा नै एकमात्र अभिभावक थिइन् । सुरुको १ वर्ष त आमाले उनीहरू सँगै बस्न पाइयोस् भनेर त्यही होस्टेलमा केयरटेकरको काम समेत गरेकी थिइन् ।  ‘तर, पछि आर्थिक अभाव र छोराछोरीको भविष्यका लागि कमाउनु पर्ने बाध्यताले आमाले हामीलाई छोडेर भारत जानुपर्‍यो,’ रिमा भन्छिन् । 

रिमा ६ कक्षामा पढ्दा उनका बाको भारतमा सडक दुर्घटनामा निधन भएको थियो । उनले बा बितेको कुरा निकै पछि मात्र थाहा पाएकी थिइन् । सानैमा होस्टेलमा छाडेर गएकी आमासँग रिमाको भेट १० वर्षपछि भएको थियो ।  यो अवधिमा रिमा थुप्रैपटक आमा सम्झेर रोइन् । छट्पटाइन् । कतिपटक त आमाजस्तै देखिने महिलालाई ‘आमा’ भन्दै रोएर अँगालोसमेत हालिन् ।

पछि ८ कक्षा पढ्दा दिदीले रिमा र भाइलाई गाउँ लगेकी थिइन् । त्यहीबेला पहिलोपटक उनीहरूलाई भेट्न आमा आइपुगेकी थिइन् ।

पढाइसँगै काम

रिमाले एसएलसी काभ्रेपलाञ्चोकको नवरत्न सेकेन्डरी स्कुलबाट दिइन् । उक्त विद्यालयमा पुग्नुको मुख्य कारण उनका भाइ प्रभात त्यहीँ पढिरहेका थिए । सँगै एसएलसी दिने योजना बनाएकाले उनी काठमाडौंबाट काभ्रे पुगेकी थिइन् । त्यहाँ जानु अघि उनीहरू काठमाडौंकाे  सिद्धार्थ वनस्थलीमा पढ्थे ।

स्कुले पढाइसँगै रिमामा कलाकारिताको भोकले छोइसकेको थियो । उनी ५-६ कक्षामा पढ्दा नै नेपाल टेलिभिजनमा बाल कार्यक्रम 'होस्ट' गर्थिन् । स्वभावले निकै फरासिली,  हरेक कुराको नेतृत्व गर्ने सामर्थ्य राख्ने, नाच्ने, गाउने र बोल्नमा सधैं अगाडि सर्थिन् ।

एसएलसी सकिने बित्तिकै रिमाको काँधमा ठुलो पारिवारिक जिम्मेवारी आयो । भाइसँगै ललितपुरको प्रयागपोखरीमा कोठा भाडामा लिएर बस्न सुरु गरिन् । त्यो समय उनीहरूसँग कोठामा एउटा बेड, एउटा पानीको फिल्टर र केही थाल-कचौरा मात्र थिए । आर्थिक अभावका बीच रिमाले अध्ययन र कामलाई सँगसँगै अगाडि बढाइन् ।

उनले ललितपुरको पिनाकल एकेडेमीबाट ११ र १२ कक्षाको पढाइ पूरा गरिन् । सोही समयमा उनले डिसी नेपाल अनलाइन टिभी र  महाराजगन्जमा फ्यासन एडिटरको रूपमा काम गर्न थालिन् । रिमा बिहानै ६ बजे कलेज जान्थिन्, ९ बजे कलेजबाट निस्केर सिधै अफिस पुग्थिन् र दिनभरि काम गर्थिन् । उनले आफ्नो र भाइको पढाइ शुल्क मात्र तिरिनन्,  पछि आमा र बहिनीहरूलाई समेत काठमाडौं ल्याएर परिवारलाई एक बनाइन् ।

आमा र रिमाबीचको १० वर्षको बिछोडको अन्तरालमा भारतमा रहँदा उनका अरु २ बहिनीहरू (इशा र आयशा) जन्मिएका थिए । जसकाे बारेमा रिमालाई सुरुमा थाहा नै थिएन । पछि रिमाले कक्षा १२ काे अध्ययन पूरा गरेपछि र कलाकारिताबाट पैसा कमाउन थालेपछि दुवै बहिनीलाई भारतबाट काठमाडौं ल्याइन् । 

कलाकारितामा रस

रिमाले केही समय पत्रकारितामा पनि बिताएकी थिइन् । न्यूज नेपाल नेशनल टेलिभिजनमा काम गरेकी उनी लामो समय भने पत्रकारितामा सक्रिय भइनन् । उनले आफ्नो रुची पहिल्याइन र व्यवसायिक कलाकारिता यात्रा म्युजिक भिडियोबाट उचाईमा पुर्याइन् । उनले गायक क्रिस केसीको म्युजिक भिडियोबाट कलाकारिता यात्रा सुरुवात गरिन् । यद्यपि, उनको पहिलो हिट भिडियो प्रसन्न पौडेलको निर्देशनमा बनेको ‘मेरो दिल छ पोखरामा' र 'कुन रङको कमी थियो र' भए । आलोक नेम्बाङको निर्देशनमा बनेको 'तिम्रो प्रेमले' बोलको गीतले उनलाई थप उचाइमा पुर्‍यायो ।

म्युजिक भिडियोमा जमेपछि उनी चलचित्र क्षेत्रमा प्रवेश गरिन्। उनको 'डेब्यु' चलचित्र हो 'स्वर' । त्यसपछि उनले 'ऋतु' र 'भिसा गर्ल' जस्ता चलचित्रमा काम गरिन् ।

कलाकारसँगै  रिमा एक सफल होस्ट पनि हुन् । उनले एनटिभी टु मेट्रो र नेसनल टेलिभिजनमा लामो समय काम गरिन् । पछिल्लो समय रिमा ‘नेपाल आइडल’, ‘कमेडी च्याम्पियन’ जस्ता चर्चित रियालिटी‌ शोका समेत होस्ट थिइन् ।

अभिनय होस् वा होस्टिङ, आफ्नो कला कौशल देखाएर दर्शकको मन‌ जितेकी रिमा अब संसदीय राजनीतिमा छिन् । यो उनको करिअरको नयाँ परीक्षा समेत हो । हिजो दर्शकको मन जितेकी रिमा, अब जनताको मन जित्न कति सफल हुनेछिन्, आगामी दिनमा उनको उपस्थितिले नै तय गर्नेछ ।

समानुपातिक सासंद-२०८२

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully