पर्वतारोहणमा कीर्तिमान बनाएका मिङ्मा ग्याबुको संसद यात्रा

भरिया, गाइड, एसिस्टेन्ट गाइड, व्यवसायी हुँदै अहिले आफैं कम्पनी मालिक भएका मिङ्मा ग्याबु रास्वपाबाट भावी प्रधानमन्त्री उद्घोष गरिएका बालेन्द्र शाहको टिमबाट प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेका हुन् ।

चैत्र ३, २०८२

आनन्द गौतम

Mingma Gyabu, who set a record in mountaineering, visits Parliament

What you should know

ताप्लेजुङ — फागुन पहिलो साता मिङ्मा ग्याबु शेर्पा जन्मस्थल फक्ताङलुङ गाउँपालिका मत माग्दै घुमिरहेका थिए । उनीसित नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेर रास्वपा प्रवेश गरेका मिङ्मा डण्डु शेर्पालगायतको टोली थियो । पार्टीले शेर्पा समुदायको बाहुल्य रहेको क्षेत्रमा मत माग्नकालागि मिङ्मा ग्याबुको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनकालागि मतदातासँग हात जोड्ने उनलाई अर्को पनि चटारो थियो, नेपाल आउने पर्यटकसँग समन्वय गर्ने र यो सिजनमा धेरै हिमाल आरोही भित्र्याउने । एकै सिजनमा दुई वटा मेलो परेकाले मिङमा इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जालमा नेपालका हिमालहरुको फोटो, भिडियो पोष्ट गरिरहन्थे भने गाउँघरका मतदातासँग हात जोडेर आफ्नो पार्टीको चुनाव चिन्हमा भोट मागिरहेका हुन्थे । रास्वपाबाट समानुपातिक सूचीको आदिवासी जनजाति पुरुषको तेस्रो नम्बरमा नाम रहेका मिङ्मा ग्याबु प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । 

मिङ्माग्याबु लेलेपको सेकाथुममा जन्मे, हुर्केका हुन् । सांसद चयन भएपछि मिङ्मा ग्याबुको जन्मस्थल लेलेपमा खुसीयाली छाएको छ भने कर्म गर्नेहरुमा अर्को पनि सन्देश पुगेको छ । अहिलेसम्म पालिका अध्यक्षदेखि सांसद, मन्त्रीलगायतका राज्यका निकायमा पुग्न पार्टीको नेता नै बन्नुपर्छ भन्ने बुझाई हटेको साविक लेलेपके गाविस अध्यक्ष समेत भएका ग्याजु भोटिया बताउँछन् । ‘पार्टीको उपल्लो तहमा पुगेकाले मात्रै यस्ता पद पाउँछन् भन्ने मान्यता थियो,’ भोटियाले भने, ‘मिङ्मा सांसद हुँदा आफ्नै पेशा व्यवसाय गरेर पनि राज्य संचालनका निकायमा पुग्न सकिने सन्देश पायौं ।’

मिङ्मा ग्याबुले अहिलेसम्म ८ हजार मिटर माथिका हिमाल ३५ पटक आरोहण गरिसकेका छन् । मिङ्मा ग्याबुको सफलता गाउँलेका लागि सन्देशमूलक र आश्चर्य लाग्दो छ । सरस्वती च्यारीबुक माध्यमिक विद्यालयमा पढ्दापढ्दै २०६२ सालतिर मिङ्मा ग्याबु काठमाडौं गएका थिए । त्यतिबेला गाउँमा माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । काठमाडौंमा लामो समय बस्ने र खाने उपाय थिएन । घर फर्कन खोजेका बेला आउने बाटो बन्दै बन्द थियो । उनले विदेशी पर्यटकको भारी बोक्ने काम पाए । मिङ्मा ग्याबु त्यसलाई आफ्नो अवसरको रुपमा लिन्छन् । भरियाको कामलाई निरन्तरता दिने क्रममा सन् २०१० मा उनले पहिलो पटक सगरमाथाको आरोहण गरे । त्यतिबेला विदेशी नागरिकलाई हिमाल चढाउन शेर्पाको रुपमा गएका थिए । पहिलो प्रयासमै सफल भएपछि उनमा उत्साह झनै बढेर गयो । 

मिङ्मा ग्याबुले अहिलेसम्म ८ हजार मिटर माथिका हिमाल ३५ पटक आरोहण गरिसकेका छन् । यस अवधिमा उनले पाँच वटा कीर्तिमान बनाएर गिनिज बुकमा नाम लेखाएका छन् । सर्वोच्च शिखर सगरमाथा र मनास्लु हिमाल नौ/नौ पटक आरोहण गरेका उनले संसारको सबैभन्दा गाह्रो हिमालको रुपमा परिचित पाकिस्तानमा रहेको विश्वको दोस्रो हिमाल ६ पटक आरोहण गरिसकेका छन् । नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष समेत रहेका उनीसँग १७ वर्षदेखि पर्वतारोहणको क्षेत्रमा काम गरिरहेको अनुभव छ । 

भरिया, गाइड, एसिस्टेन्ट गाइड, व्यवसायी हुँदै अहिले आफैं कम्पनी मालिक भएका मिङ्मा ग्याबु रास्वपाबाट भावी प्रधानमन्त्री उद्घोष गरिएका बालेन्द्र शाहको टिमबाट प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेका हुन् । हिमाली क्षेत्रमा रहेका समस्या र तिनको दिगो समाधानकै लागि राजनीतिमा आएको उनको तर्क छ । आफुजस्ता आरोहीलाई प्रोत्साहित गर्न नीतिगत रुपमा पहल गर्ने उनले बताए ।

‘मैले हिमालमा समस्यै समस्या देखेको छु । यत्तिका हिमाल हुँदा पनि हामीले उद्धारलाई व्यवस्थित गर्न सकिरहेका छैनौं । सगरमाथालगायत विभिन्न हिमालमा फोहोरको विषय मिडियामा आइरहन्छ । यसमा नीतिगत समस्या रहेको छ,’ मिङ्माले भने, ‘दक्ष जनशक्ति उत्पादनमा राज्यले लगानी गर्न सकेको छैन । हाम्रो आवाज नीति निर्माण क्षेत्रमा पुग्नुपर्छ भनेर उम्मेदवार भएको थिएँ र अब पूरा गर्ने ठाउँमा पुगेको छु ।’ 

यस पटकको निर्वाचनमा सगरमाथा र फोर्टिन पिक आरोहण गरेका मिङ्मा ग्याबु समानुपातिक र मिङ्मा शेर्पा संखुवासभाबाट प्रत्यक्षमा उम्मेदवार बनेका थिए । ‘हामीले  इतिहासमै पहिलो पटक अवसर पाएको हो,’ मिङ्मा ग्याबुले भने, संखुवासभाका मिङ्मा थोरै मतले पराजित हुनुभयो, मैले चाही नीति निर्माण गर्ने ठाउँमा पुग्ने अवसर पाए ।’ 

आफू राजनीति मात्रै भन्दा कर्ममा विश्वास गर्ने भएकाले काम पनि सँगसँगै बढाउने उनले बताए । मिङ्मा ग्याबुले भने, ‘अनलाइनबाट हाम्रो धेरै काम हुने भएकाले अब दुवैलाई सँगसँगै लिएर जान्छु ।’ गाउँमा मत माग्नेक्रममा धेरै गुनासा र समस्या सुने/देखेकाले ती मुद्दा पनि सँगै रहेको उनले बताए । ‘गाउँघर धेरै खाली भएका छन् । मानिसहरु गाउँबाट सहर र सहरबाट विदेश गएको पाइयो । यसले हाम्रा सांस्कृतिक कुरा हराउँदै गए,’ मिङ्मा ग्याबुले भने, ‘यी विषयमा काम गर्नुपर्ने छ ।’ जेनजी आन्दोलनपछि आएको यो परिवर्तनबाट रास्वपालाई जनतालाई निराश हुन दिने छुट पनि नभएको मिङ्मा ग्याबुले बताए । 

सरस्वती च्यारिबुक माविका प्रधानाध्यापक ग्यान्जे शेर्पा ताप्लेजुङको पर्यटन क्षेत्रमा राम्रो परिवर्तन आउने आशा लागेको बताउँछन् । ‘हाम्रा नानीले राम्रो विषय पढ्न बाहिर जिल्ला जानुपर्छ, कम्तीमा हाम्रो ठाउँमा शैक्षिक केन्द्रहरु खोले राम्रो हुन्छ,’ उनले भने, ‘विश्वको तेस्रो हिमाल कञ्चनजंघा जाने पैदलमार्ग पनि राम्रो छैन । उहाँले यस्ता विषयमा ध्यान दिनुहोला भन्ने लागेको छ ।’ फरक विधाको व्यक्ति संसदमा पुगेकोमा गाउँ नै गौरवान्वित भएको उनले बताए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully