संसद्मा उनका विज्ञान र प्रविधिकेन्द्रित एजेन्डा रहेका छन् । अनि, स्वास्थ्य क्षेत्रको सुधार त छँदैछ।
What you should know
काठमाडौँ — डा. ओजस्वी शेरचन पेशाले बायोकेमेस्ट्री प्राध्यापक र अनुसन्धानकर्ता हुन् । चिकित्सा क्षेत्रमा लामो अनुभव बटुलेकी उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदको रूपमा संसद् प्रवेश गरेकी छन् ।
काठमाडौंको पानीपोखरीमा जन्मिएकी उनले एमबीबीएस अध्ययन पूरा गरेपछि बायोकेमेस्ट्रीलाई आफ्नो विशेषज्ञताको क्षेत्रका रूपमा रोजिन् । यस क्षेत्रमा उनी प्राध्यापन तथा अनुसन्धानमूलक कार्यमा निरन्तर संलग्न रहिन् । राजनीतिमा आउनुअघि नेपाल मेडिकल कलेजमा बिगत दुई बर्षदेखि कार्यरत थिइन् ।
त्यसअघि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दश बर्ष अनुसन्धान र स्वास्थ्य क्षेत्रको सुधारमै केन्द्रित रहेको उनले सुनाइन् । अनुसन्धान, शिक्षण र सेवाको यात्राबाट राजनीतिमा प्रवेश गर्नु देशप्रतिको आफ्नो दायित्व रहेको उनको भनाइ छ।
शेरचन राजनीतिमा आउनुमा भदौ २३ र २४ को जेन-जी आन्दोलन कारक हो । उक्त आन्दोलन पश्चात उनको राजनीतिप्रति चासो बढेको हो । राजनीतिमा आफ्नो आवद्धताबारे बताउँदै उनले भनिन्, 'कुनै न कुनै रूपमा योगदान गर्नुपर्छ भन्ने भावनाले सक्रिय राजनीतिमा आएँ। निति निर्माणमा सक्रिय हुन्छु भन्ने लागेको छ ।'
उनको परिवार नै चिकित्सा क्षेत्रमा जोडिएको छ । शेरचनका बुबा सुक्ष्मजीवविज्ञान (माइक्रोबायोलोजी) प्राध्यापक हुन् भने आमा त्रिभुवन शिक्षण अस्पतालमा पब्लिक हेल्थमा काम गर्थिन् । उनका श्रीमान् पनि चिकित्सक हुन्। बुबाको पथ पछ्याउँदै उनी अनुसन्धानमा सक्रिय रहिन् ।
अनुसन्धान गर्दै जाँदा उनले स्वास्थ्य विज्ञानका नितिगत समस्याहरुलाई नजिबाट नियालिन् । ‘अनुसन्धान गर्दै जाँदा नीतिनिर्माण तहमा पुगेर काम गर्ने प्रेरणा भयो,' शेरचनले भनिन्, 'केही कुराहरू परिवर्तन गर्न चाहन्थें, त्यसका लागि निर्णय गर्ने ठाउँमै (राजनीति) पुग्नुपर्छ भन्ने लाग्यो।'
गैरराजनीतिक परिवारबाट राजनीतिमा प्रवेश गरेकी ओजस्वी पुराना राजनीतिक दलप्रति आकर्षित भइनन् । शेरचनले भनिन् ,‘रास्वपाले नयाँलाई अवसर दिएकाले यहि पार्टीमा आवद्ध हुन पुगे ।’
संसद्मा पुग्दै गर्दा राजनीति र आफ्ना पुरानो पेशाबीच उनले धेरै फरक पाएकी छिन्। पहिले एउटा विषयमा केन्द्रित भएर काम गर्नुपर्ने अवस्थामा अहिले उनीने धेरै विषयबारे जानकारी लिइरहकी छिन् । संसद्मा पुगेपछि नियम–कानुन बुझ्ने, पढ्ने र व्यवहारमा लागू गर्ने प्रयास आफूले गरिरहेको शेरचनको भनाइ छ।
संसद्मा उनका विज्ञान र प्रविधिकेन्द्रित एजेन्डा रहेका छन् । अनि, स्वास्थ्य क्षेत्रको सुधार त छँदैछ।
