नेताकी पत्नी भएर अवसर पाएको भनेर आलोचना खेप्दै आएकी उनले संसद्मा जिम्मेवार सांसदको पहिचान स्थापित गर्ने संकल्प लिएकी छन् ।
What you should know
काठमाडौँ — २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले धेरै नयाँ अनुहारलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्यो । त्यसमध्ये एक हुन् सरस्वती लामा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ एक सिट मात्र जिते पनि कानुनी थ्रेसहोल्ड कटाएपछि समानुपातिकतर्फ चार सिट प्राप्त गर्यो । तीमध्ये महिला कोटाबाट लामालाई सांसद बनाउने निर्णय गरियो । यो निर्णयसँगै उनको नाम चर्चा र विवाद दुवैको केन्द्रमा आयो ।
मैले कहिल्यै श्रीमान्को नामका आधारमा पद माग्ने सोच राखिनँ, मेरो विश्वास थियो-योगदानको मूल्यांकन एक दिन अवश्य हुन्छ ।एकथरीले लामो समयदेखि पार्टीमा योगदान दिएकी कार्यकर्ताले अवसर पाएको भन्दै प्रशंसा गरे । अर्काथरीले भने उनलाई राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङकी श्रीमतीका रूपमा चिनाउँदै अवसर प्राप्त गरेको आरोप लगाए । तर लामा यी आलोचनाबाट विचलित देखिँदैनन् । बरु, भन्छिन्, 'आलोचना मेरो लागि प्रेरणा हो। अब म सदनमा सक्रिय भएर काम गरेरै जवाफ दिनेछु ।'
सरस्वती लामाको राजनीतिक यात्रा २०४७ सालबाट सुरु हुन्छ । बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछि उनले राप्रपाको सदस्यता लिइन् । उनका आदर्श नेता थिए- सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द । यी नेताहरूको राजनीतिक शैली र दृष्टिकोणबाट प्रभावित भएर उनी राजनीतिमा सक्रिय भएकी थिइन् । प्रारम्भमा विद्यार्थी संगठनबाट राजनीतिक अभ्यास सुरु गरेकी उनले क्रमशः पार्टी गतिविधिमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिन् ।
यही क्रममा उनले बुद्धिमान तामाङसँग वैवाहिक सम्बन्ध गाँसिन् । त्यसपछि उनको जीवनमा घर र राजनीति सँगसँगै अघि बढ्न थाले । उनले घरायसी जिम्मेवारी र राजनीतिक सक्रियतालाई सन्तुलनमा राख्दै अघि बढिन् । यद्यपि, केही वर्ष उनी औपचारिक पदमा सक्रिय हुन सकिनन्, तर पार्टीसँगको सम्बन्ध कहिल्यै टुटेन । 'मैले कहिल्यै पनि श्रीमान्को नामका आधारमा पद माग्ने सोच राखिनँ,' उनी भन्छिन्, 'मेरो विश्वास थियो- योगदानको मूल्यांकन एक दिन अवश्य हुन्छ ।'
बीचमा पारिवारिक कारणले केही समय सक्रिय राजनीतिबाट टाढा रहनु परे पनि सूर्यबहादुर थापाले राप्रपाबाट अलग भई राष्ट्रिय जनशक्ति पार्टी गठन गरेपछि उनी पुनः सक्रिय भइन् । जनशक्ति पार्टीमा उनी केन्द्रीय सदस्य बनिन् । पछि राप्रपा र जनशक्ति पार्टीबीच एकता भएपछि उनी पुनः मूलधारको राजनीतिमा फर्किइन् । धादिङबाट महाधिवेशन प्रतिनिधि बनेर उनले आफ्नो सक्रियता निरन्तरता दिइन् ।
भारतले लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधस्वरूप भारतीय दूतावासअगाडि गरिएको प्रदर्शनमा उनी पक्राउ परेकी थिइन् ।पार्टीभित्र श्रीमान् पनि सक्रिय भएपछि दुवैजना एकै पदमा प्रतिस्पर्धा गर्नु उपयुक्त नहुने सुझाव पाएपछि उनले केही अवसर त्यागिन् । त्यसपछि उनी महिला संगठनतर्फ केन्द्रित भइन् । महिला विभागको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले संगठनलाई बलियो बनाउन योगदान दिइन् । यही भूमिकाले उनलाई शीर्ष नेतृत्वमाझ चिनाउने काम गर्यो । पछि उनी आमन्त्रित केन्द्रीय सदस्य बनिन् र त्यसपछि निर्वाचित केन्द्रीय सदस्यका रूपमा स्थापित भइन् ।
राजेन्द्र लिङदेन नेतृत्वमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेकी लामाले महिला विभागको अध्यक्ष बन्ने इच्छा राखेकी थिइन् । तर 'एक व्यक्ति, एक पद' को नीतिअनुसार उनले आफ्नो दाबी फिर्ता लिइन् ।
करिब ३५ वर्षको राजनीतिक यात्रामा उनले संघर्षका अनेक चरण पार गरिन् । आन्दोलनका क्रममा कुटपिटसमेत सहनुपर्यो, कहिलेकाहीँ प्रहरी हिरासतमा बस्नुपर्यो । भारतले लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधस्वरूप भारतीय दूतावासअगाडि गरिएको प्रदर्शनमा सहभागी हुँदा उनी पक्राउ परिन् । 'त्यो बेला मलाई कसैकी श्रीमती भनेर होइन, एक कार्यकर्ता भनेर पक्राउ गरिएको थियो,' उनी सम्झन्छिन् ।
आज, जब उनी संघीय संसद्को सदस्य बनेकी छन्, उनीमाथि अझै पनि प्रश्न उठाइन्छ । तर उनी यस्ता टिप्पणीलाई स्वाभाविक ठान्छिन् । 'मेरो योगदान नबुझ्नेहरूले मात्रै यस्तो भन्छन्,' उनी भन्छिन्, 'जसले मेरो यात्रा देख्नुभएको छ, उहाँहरूले यो न्याय भएको मान्नुहुन्छ ।'
औपचारिक रूपमा एसएलसीसम्म मात्र अध्ययन गर्ने अवसर पाएकी लामाले अब देशको कानुन निर्माण गर्ने थलोमा पुगेर जनताको आवाज उठाउने अठोट लिएकी छन् । उनी ढुक्क छिन्, 'अब मेरो पहिचान कसैको श्रीमती होइन, एक जिम्मेवार सांसदको रूपमा स्थापित गर्नेछु ।'
