उनले संसद्मा कृषिमा भइरहेकाे अत्यधिक विषादी प्रयोग प्रतिबन्ध लगाउने बारे र महिला हिंसाविरुद्ध आवाज उठाउने बताएकी छन् । अबका दिनमा कोहि पनि हिंसाबाट पीडित नहुन् भनेर मत राख्ने उनले सुनाइन् ।
What you should know
काठमाडौँ — गंगालक्ष्मी अवाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसबाट समानुपातिक सूचीमा परेकी थिइन् । सबैले त्यसबेलै उनलाई बधाई समेत दिएका थिए । सांसद भएर अब गंगालक्ष्मीले आफ्नो क्षेत्रलाई चिनाउने भइन भनेर भक्तपुरबासी निकै खुसी भएका थिए ।
गंगालक्ष्मीले पनि निर्वाचित हुने पक्कापक्की नै बुझेकी थिइन् । उनले भनिन्, ‘कोट समेत सिलाएकी थिएँ । तर, अन्तिममा सांसदमा परिएन । मन बुझाएर कोट दराजमा थन्काए ।’
सांसद नभए पनि उनले हार भने खाइनन् । ३ दशकभन्दा लामो राजनीतिक गरेकी गंगाले आफ्नो क्षेत्रमा मिहिनेत गर्न कम गरिनन् । उनको यो मिहिनेतलाई यसपटक भने पार्टीले खेर जान दिएन । कांग्रेसले उनलाई यसपटक समानुपातिक सूचीबाट सांसद बनाएको छ ।
उनले भनिन्, ‘भक्तपुरमा म जन्मेदेखि अहिलेसम्म कांग्रेसले जितेको छैन । तर पनि भक्तपुरबाट कांग्रेसको प्रतिनिधत्व गर्दै सदन छिर्न पाउदा खुसी लागेको छ ।’
यसकारण राजनीतिमा प्रवेश
गंगालक्ष्मीले राजनीतिमा आउनुको मुख्य कारण समाज सेवा नै भएको सुनाइन् । ‘काखमा भएको बच्चालाई घरमा छोडेर राजनीति गरेको पुराना दिन अझै यादमा छन् । राजनीतिमा आउने उद्देश्य भनेकै समाज सेवा हो,’ उनले भनिन्, ‘महिला, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिहरू, किसानको साथै समस्त नेपालको सेवा र उनीहरूको आवाज बन्न लागि राजनीतिमा आएकी हुँ ।’
भक्तपुरको सामान्य परिवारमा जन्मिएकी गंगालक्ष्मी सानैदेखि जिज्ञासु र कडा मिजासकी थिइन् । उनको बुबा खेती किसानी र घर निर्माणको काम गर्थे भने आमा पनि घरपरिवार सम्हाल्दै कपडा बुनेर बेच्ने गर्थिन् । परिवारको आम्दानीको प्रमुख स्रोत खेतमा उब्जनी भएका अन्न, तरकारी बेचेर आएको रकम नै हुने गर्थ्यो ।
उनकी आमा छोरीमान्छे आफ्नै खुट्टामा उभिनुपर्छ भन्नेमा विश्वास राख्ने भए पनि त्यतिबेलाको समाज छोरीमान्छे धेरै पढेर के गर्ने हो र ? भन्ने खालको थियो । कहिले काही उनकी आमा पनि घरभित्रको काम जाने भै गयो नी भन्थिन् । हामी त व्यवसाय गरेर खाने मान्छे हो । हिसाबकिताब गर्न जान्ने मात्र भए पुग्छ... आमाले यस्तो भनिरहँदा उनी आमाको भनाइको प्रतिवाद गर्थिन् । जोसुकैले जे भने पनि उनी आफुले चाहेको काम पुरा गरेरै छोड्थिन् ।
आफु भित्रको क्षमता पहिचान गर्दै उनी उद्यमी, कृषिविज्ञ साथै अहिले कांग्रेसको समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधिसभा निर्वाचित भएकी छिन् ।
संसद्मा पुगेपछि के कुरा राख्ने भनेर उनले लामो लिस्ट बनाएकी छन् । उनले भनिन्, ‘कृषिमा अत्याधिक विषादीको प्रयोग भइरहेको छ । म अर्गानिक इन्स्पेक्टर पनि भएकाले विषादीको प्रयोग बारे चिन्तित छु । प्रतिबन्ध गरिएका विषदी समेत प्रयोग भइरहेको छ । अब यी विषय संसद्मा उठाउँछु ।’
यस्तै, संसदमा महिला हिंसाविरुद्ध आवाज उठाउनुका साथै अबका दिनमा कोहि पनि पीडित नहुन् भनेर मत राख्ने उनले सुनाइन् ।
उद्यमीहुँदै सांसद बनेकी गंगालक्ष्मी
गंगालक्ष्मी कानुन विषय पढेर वकिल बन्न चाहन्थिन् । उनको सपना न्याय क्षेत्रमा लाग्ने थियो । एसएलसीपछि उनले कानुन पढने निर्णय गरेकी थिइन् । त्यहि सोचका साथ नेपाल ल क्याम्पस पुगेकी थिइन् । तर, उनकी आमाले काठमाडौं जानआउन, कानुन पढाउने खर्च धान्न नसक्ने बताएपछि रोकिइन् ।
कानुन पढ्ने योजना रोकिएपछि उनले राजनीतिशास्त्र पढ्ने निर्णय गरिन् । उनले भक्तपुर बहुमुखी क्याम्पसमा भर्ना गरिन् । कलेज गएकै दिन विभिन्न पार्टीका विद्यार्थी नेताले पार्टीको प्रचारमा गरिरहेको देखेपछि उनी पनि राजनीतिमा लागिन् । कलेजमा उनले आफ्नो नाम नेविसंघमा लेखाएकी थिइन् । उनले भनिन्,‘मेरो दाईले बिपीको सिद्धान्त, महात्मगान्धीको पुस्तकहरू पढ्नु हुन्थ्यो । मैले पनि सबै पुस्तक पढेकी थिए । त्यहिबाट प्रभावित भएर मेरो लोकतन्त्रप्रति आस्था बढेको थियो ।
गंगालक्ष्मीले एसएलसीपछिको खाली समयमा कपडा बुन्ने तालिम लिएकी थिइन । यही सिपलाई निरन्तरता दिने सोचसहित उनले तिब्बती ऊनीबाट लुगाफाटो बुनाइ उद्यम सञ्चालन गरिन् ।
यही क्रममा उनले ३०० जना महिलालाई बुनाईसम्बन्धी तालिम र रोजगारी दिएको सुनाइन ।
क्याम्पसबाट स्नातकोत्तर सकिएलगत्तै आफैले पढेको भक्तपुर बहुमुखी क्याम्पसमा पढाउने मौका पनि पाइन् । उनले केही वर्ष त्यहाँ काम पनि गरिन् । पछि दिगो उर्जा व्यवस्थापनमा पीएचडी समेत गरेकी छन् ।
‘कल्चर ब्रेकर’ अर्थात गंगालक्ष्मी
गंगालक्ष्मीले त्यससमय समाजमा जरा गाडिएर बसेको चलनलाई समेत तोडेकी थिइन् । ‘बिहे गरेर अर्काको घर जाने छोरीमान्छे’ उनलाई उक्त शब्दले बारम्बार मन दुखाएको थियो । त्यसैले मिहिनेत र संघर्ष गरेर कमाएको पैसाले २०५८ सालमा बिहे अगाडि नै घर बनाइन् । घर बनाएको एक वर्षपछि २०५९ सालमा वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । उनले भनिन्, ‘जुन घर बनाएकी थिए त्यहि घरमा बिहे गरेर बसेका थियौं । समाजले गर्नेभन्दा फरक गरे । त्यसैकारण मलाई ‘कल्चर ब्रेकर’ पनि भन्ने गर्छन् ।’
गंगालक्ष्मीले २००७ सालमा ‘पर्माकल्चर’ अध्ययन पनि गरेकी थिइन् । उनले भनिन्, ‘किसान परिवारमा जन्मिएकाले सानैदेखि कृषिमा लगाव थियो । तर, पढ्न जाने बेलामा अनुभव सुनाउँदा भने ‘फेक किसान’को ट्याग दिइयो । त्यसैले पर्माकल्चर पढे ।’
यसले उनलाई कृषिको गहिराईसम्म बुझ्न मद्दत गर्यो । उनलाई दिगो शैलीमा खेतीपाती गर्न वा कृषि बारे बुझ्न मद्दत गरेको थियो । उनले नेपालका ६० भन्दा बढी जिल्लामा पुगेर कृषि र उद्यमसम्बन्धी तालिम दिएकी छन् ।
नेपालमा मात्र नभएर भारतको विभिन्न स्थानमा पुगेर समेत अर्गानिक फार्मिङ तालिम दिएको उनले बताइन् । त्यसबेला उनले बिषादीमुक्त अभियान नै चलाएको सुनाइन् ।
देश विदेश पुग्दा हरेक समुदाय बारे धेरै कुरा नजिकबाट बुझ्ने मौका पाएको सुनाइन् । उनले भनिन्, ‘तराई पुग्दा महिलालाई गर्ने व्यवहार निहाल्थे । हुम्लामा पुग्दा महिलाले भोग्नु परेको छाउपडी प्रथा नियाल्थे । यो देखेर पितृसत्तात्मक सोच हटाउन म बोल्नै पर्छ भन्ने लाग्थ्यो ।’ यही कारण पनि राजनीतिमा लागेको उनले सुनाइन् ।
कृषि क्षेत्रमा उठाएको आवाज, उनले गरेका संघर्षको मुल्यांकन गर्दै सरकारले २०८० सालमा ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएकी थिइन् । उनी अध्ययनका लागि नेदरल्यान्ड, क्यानडा, जापानलगायतका मुलुकमा समेत पुगेकी छन् ।
राजनीतिक यात्रा
२०४६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी गंगालक्ष्मीले निकै संघर्ष गरेपछि मात्रै यहाँ आइपुगेकी हुन् । भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला संघको जिल्ला उपसभापति, केन्द्रीय सदस्य, संगठन विभागको सदस्य हुँदै १४औँ महाधिवेशनमा उनी केन्द्रीय कार्यसमितिको सदस्य भएकी थिइन् ।
