निनुकुमारी कर्णः शिक्षकदेखि संसद्को यात्रा

२०४६ को जनआन्दोलनदेखि निरन्तर संघर्ष गर्दै आएकी निनुकुमारी कर्ण नेपाली कांग्रेसको मधेश महिला क्लस्टरबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।

चैत्र १६, २०८२

आरती पौडेल

Ninukumari Karna: Journey from Teacher to Parliament

What you should know

काठमाडौं — २०४६ सालको जनआन्दोलनको समय थियो । त्यस बखत निनुकुमारी कर्ण कक्षा १० मा पढ्दै थिइन् । जनकपुरबाट आन्दोलन निकै चर्किएको थियो । उनी पनि प्रजातन्त्र प्राप्तिका लागि जनआन्दोलनमा होमिइन् । 
राजनीतिमा संघर्ष गरेकी निनुले धेरै मिहनेतपछि अहिले नेपाली कांग्रेसको मधेश महिला क्लस्टरबाट  समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छिन् । निनु सांसद बनेपछि हरेक क्षेत्रको लागि आवाज उठाउने बताउँछिन् । उनले भनिन्,‘देशका सबै क्षेत्रको बिकृतिको बारेमा सधैं आवाज उठाउनेछु ।’ 

निनु मधेशमा युवाहरुमा बढ्दो लागुऔषध प्रयोगको समस्यालाई रोक्न आवाज उठाउने बताउँछिन् । उनले भनिन्,‘मधेशमा अहिले स्कुल पढ्दै गरेका कलिला बच्चा नै लागुऔषध दुर्व्यसनमा लागेको देखेर मन दुखेको थियो । भविष्यमा जसको काँधमा परिवार, देशको जिम्मेवारी छ,’ उनले भनिन्,‘उनीहरु नै अहिलेदेखि लागुऔषध सेवन गरेको देख्दा निकै दुःख लाग्यो । दुर्व्यसनविरुद्ध आवाज उठाउने र यसको अत्यको लागि जनचेतनामूलक कार्यक्रम र युवालाई राम्रो कामको लागि प्रोत्साहन गर्ने सोच छ ।’

राज्यका हरेक संरचनामा मधेशका दलित, जनजाति र महिलाको जनसंख्याका आधारमा अर्थपूर्ण सहभागिता हुनुपर्ने र अबका दिनमा त्यस कुरालाई सदनमा उठाउने उनको योजना छ । उनले भनिन्,‘हामीले सबै समुदायका महिलालाई राजनीतिमा प्राथमिकता दिनुपर्छ । मधेशी महिलाको सहभागिता न्यून देख्दा निकै नरमाइलो लाग्यो अबका दिनमा समान सहभागिता हुनुपर्नेमा आवाज उठाउने छु ।’

सामाजिक सञ्जालको दुरुपयोगबाट हुने बालविवाह र त्यसले निम्त्याउने समस्या न्यूनीकरण गर्न सधैं लाग्ने उनले सुनाइन् । भनिन्,‘स्कुल पढ्दै गरेका बालबालिकाले सामाजिक सञ्जालको दुरुपयोग गरेर सानैमा विवाह गर्ने जस्ता समस्या तराईमा देखिएका छन्,’ उनले भनिन्,‘यसको बारेमा मैले सकेको आवाज उठाएर, काम गरेर समस्या न्यूनीकरणतर्फ लाग्न आवाज उठाउने छु ।’ 

निनु आफ्ना धेरै योजना र एजेन्डा रहेको सुनाउँछिन् । समाजमा देखिने विकृतिलाई जरैबाट उखाल्न आफुले सक्ने काम गर्ने उनको भनाई छ । अबका दिनमा महिलाहरू शारीरिक र मानसिक रूपमा बलियो हुनुपर्ने र प्राप्त अवसरको सही सदुपयोग गर्नुपर्ने उनले जनाएकी छिन् ।  भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति र संघीयताको रक्षाका लागि आफु सधैं सडक र सदन दुवैमा लड्ने प्रतिबद्धता जनाएकी छिन् । ‘सरकारले गरेको राम्रो कामको समर्थन सधैं गर्नेनै छौं । नराम्रो कामको लागि आवाज उठाउन कहिल्यै पछि हट्ने छैन,’ उनले भनिन् ।

निनुको राजनीतिक पृष्ठभूमिको पारिवारमा हुर्किइन् । उनी महेन्द्रनारायण निधिको नातिनी र विमलेन्द्र निधिको भान्जी हुन् । सानै उमेरदेखि राजनीतिक वातावरणमा हुर्किएकी उनी राजनीतिप्रति चासो राख्ने गर्थिन् । बाल्यकालमा मामा, हजुरबाबालाई जेलमा भेट्न गएको उउनको मनसपटलमै छ । 

एक पटकको कुरा हो, विमलेन्द्र निधि जेल परेका थिए । निनुकुमारी आफ्नी हजुरआमासँग मामा भेट्न पुगेकी थिइन् । उनलाई ‘किन र कसरी मामालाई त्यसरी राखेका हुन् भन्ने भयो ।’ उनले सबै कुरामा चासो राख्न थालिन् । मामा घर जाँदा उनकी हजुरआमाले निनुले सोधेका सबै प्रश्नको उत्तर दिन्थिन् । त घरमा उनका बुबा जो पेशाले शिक्षक थिए । उनले निनुले सोधेका हरेक प्रश्नको उत्तर सहज तरिकाले दिन्थे । निनु ठूली हुँदै गएपछि उनमा राजनीतिप्रति चासो बढ्दै गएको थियो ।

२०४६ सालको जनआन्दोलनको समय थियो । उनी आन्दोलनको क्रममा कक्षा १० पढ्दै थिइन् । तर देशको हितको लागि लड्ने भन्दै आन्दोलनमा लागेकी थिइन् । उनले त्यस समय भूमिगत रहेका विमलेन्द्रको लागि गोप्य पत्र र खबर ओसारपसार गर्ने ‘मेसेन्जर’ का रूपमा काम गरेको आफ्नो बिगत सुनाइन् । उनले भनिन्,‘मैले सूचना दिएको भन्ने शंका लागेर पुलिस चौकीमा बोलाएर खबरदारी समेत गर्नुभएको थियो ।’ तर प्रजातान्त्र प्राप्तिका लागि उनी त्यति कुरामा डगमगाएर पछि भने हट्ने सोचिनन् । उनले भनिन्,‘त्यतिबेला छोरीमान्छेले राजनीति गर्नु हुँदैन भन्ने थियो । म राजनीतिमा लागेको देखेर राजनीति छोरीमान्छेको लागि होइन । डर हुन्छ भनेर बुबालाई भन्न धेरै मान्छे आउँथे,’ उनले भनिन्,‘एक पटक बुबाले पनि डर लागेर होला राजनीति नगर भन्नुभएको थियो । तराईमा छोरीलाई पढाउन समेत हुँदैन भन्ने वातावरणमा हुर्केकी मैले राजनीति गर्दा गाउँकाले के–के भनेर कुरा काट्थे ।’ 

तर निनुले खराब कुराको व्यवस्था गर्दै अगाडि बढिन् । निनुको संघर्ष र राजनीतिप्रतिको चेतका कारण राजनीतिलाई छोड्न हैन । झन् नजिकबाट अगाल्न प्रेरित गर्यो । ‘मैले त्यसै समय प्रण गरेकी थिए, जुन दिन राजनीतिमा आउँछु । त्यस दिनदेखि नै महिलाको राजनीतिक समावेशीताको बारेमा आवाज उठाउँछु,’ उनले भनिन्,‘राज्यका हरेक संरचनामा मधेशी दलित, जनजाति र महिलाको जनसंख्याका आधारमा अर्थपूर्ण सहभागिता बढाउनतर्फ लाग्नुपर्छ भन्ने मलाई सधैं हुन्थ्थो ।’

निनु आफ्नो राजनीतिको सुरुवात २०४६ सालको जनआन्दोलनलाई नै मान्छिन् । विद्यार्थी जीवनदेखि राजनीनितमा होमिएकी निनु नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषाको जिल्ला सदस्य,  त्रि–चन्द्र कलेजको इकाई सदस्य र तराई विद्यार्थी मञ्चको महासचिव भएर काम गरेकी थिइन् । विद्यार्थी जीवनकालमा जनकपुर अञ्चल सम्पर्क समितिमा कोषाध्यक्ष समेत थिइन् । निनु २०७८ यता नेपाल महिला संघको केन्द्रीय सदस्य छिन्। 

२०३० सालमा जन्मिएकी निनुले जनकपुरको सरस्वती माध्यमिक विद्यालयबाट स्कुल तहको अध्ययन पूरा गरेकी थिइन् । त्यसरी स्नातक त्रिचन्द्र क्याम्पसबाट र स्नातकोत्तर जनकपुरको एक कलेजबाट गरेकी थिइन् । 
निनु सामाजिक संघसस्थामा पनि आवद्ध भएर काम गरेको सुनाइन् । उनी महेन्द्र नारायण निधि प्रतिष्ठानको सह–सचिव र कर्ण कायस्थ महिला समाजको महासचिव भएर काम गरेकी छिन् । साथै स्कुल पढ्दादेखि नै स्काउटमा आवद्ध भएर काम गरिरहेको उनले बताइन् ।  

२०५६ मा निनु वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । त्यसपछि केही समय भने राजनीतिबाट टाढा रहिन् । उनले भनिन्,‘विवाह भएपछि सासुआमाले बुहारीले राजनीति नगरोस् भन्नेजस्तो गर्नुभयो,’ उनले भनिन्,‘श्रीमान् र ससुराबुबाले राजनीति गर्न साथ दिनुभएको थियो । तर म त्यसबेला राजनीतिबाट टाढा बसे ।’

उनले टाढा रहने सोचे पनि उनको मनबाट भने राजनीति टाढा जान सकेको थिएन । उनी २०६२/६३ को आन्दोलनमा हरेक दिन सहभागी हुन्थिन् । उनले भनिन्,‘सासुआमालाई बाहिर काम छ भनेर निकन्थे । अनि रत्नपार्कमा आन्दोलनमा सहभागी हुन्थे । कहिले त चौकीमा थुनिएकी पनि छु । बेलुका छोडिदिएपछि घर गएका दिन अझै ताजा छन् ।’

निनुको मनमा राजनीतिप्रतिको रुची सधैं रहिरहेको थियो । आफ्नो खुट्टामा उभिनुपर्छ सोचेर उनी एक दशकजति शिक्षण पेशामा आवद्ध भइन् । साथै परिवारको लागि समय दिइन् । उनले बुढानिलकण्ठ माध्यामिक विद्यालयमा लामो समय पढाइन् । त्यसपछि भने आफ्नो शिक्षण पेशालाई बिट मारेर राजनीतिमा फेरि होमिएकी थिइन् । निनु अहिले प्रतिनिधिसभा सदस्य भएकी छिन् । उनले अहिले केही मानिसले आलोचना गरेकोमा निकै दुःख लागेको सुनाइन् । उनले भनिन्,‘म राजनीतिमा संघर्ष गरेर आएकी थिए । राजनीति नगरी म यत्तिकै संसद भएकी होइन । तर समाजमा कस्तो भाष्य स्थापित गरियो भने म विमलेन्द्र निधिको भान्जी भएको कारण समानुमातिकमा राखियो,’ उनले भनिन्,‘विद्यार्थी जीवनदेखि राजनीतिमा संघर्ष गरेर आएको थिए । तर मेरो राजनीतिक जीवनको बारेमा नबुझी आरोप लगाउँदा नराम्रो महशुष भयो ।’ 

आफुले रााजनीतिमा गरेको संघर्ष अरुले नदेखे पनि आलोचनालाई बेवास्ता गरेर अगाडि बढिरहेको उनले सुनाइन् । उनले भनिन्,‘मेरो गाउँठाउँमा मैले गरेको राजनीतिक संघर्षको बारेमा थाहा छ । मलाई राजनीति बारे सिकाउने मेरो परिवार नै हो ।’ निनु आउँदा दिनमा पनि आफुले सत्यका लागि लड्न कहिल्यै नछोड्ने बताउँछिन्।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully