संघर्षबाट खारिएकी विष्णुमाया विक संसद्‌‌काे यात्रामा

परिवारकी कान्छी छोरी विष्णुमाया विक अहिले सांसद भए पनि बाल्यकालदेखि भाेग्दै आएका दु:ख, पीडाले उनलाई बाटो बिराउन दिँदैनन् । उनले भनिन्, ‘प्रतिनिधिसभा सदस्य बनेर आएको छु । मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्दो पहल गर्ने सोच छ ।’

चैत्र १३, २०८२

सम्झना रसाइली

Bishnumaya, exhausted by struggle, travels to BK Parliament

What you should know

तनहुँ — १५ असोज २०३० मा शुक्लागण्डकी नगरपालिका–९ सालबेँसीघारीमा जन्मिएकी विष्णुमाया विकलाई थाहा छ दु:ख र संघर्ष के हाे भनेर । अभावकाबीच आमा फुलमती विक र बुबा हरिलाल विकले ४ सन्तानलाई कसरी हुर्काए भन्ने उनले देखेकी मात्रै छैनन् भाेगेकी समेत छन् ।

परिवारकी कान्छी छोरी विष्णुमाया अहिले सांसद भए पनि बाल्यकालदेखि भाेग्दै आएका दु:ख, पीडाले उनलाई बाटो बिराउन दिँदैनन् । 

आर्थिक रुपमा अत्यन्तै कमजोर परिवारमा जन्मिएकी उनको बाल्यकाल निकै कष्ठपूर्ण रह्‌याे । दुःख, अभाव र संघर्षलाई बालखैदेखि नजिकबाट भोगिन् । जति कठिन अवस्था भए पनि उनले पढाईलाई निरन्तरता दिइन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

पढाइमा अब्बल उनी १ देखि १० कक्षासम्म दोस्रो हुनु परेन । जेहेन्दार विद्यार्थी भएकाले छात्रवृत्तिका कारण निःशुल्क पढ्ने अवसर पाइन् । छात्रवृत्ति नपाएको भए उनको पढाइ विद्यालय तहमै रोकिन्थ्यो । पठनपाठन निःशुल्क भए पनि कापीकलम किन्नका लागि उनले आफूभन्दा साना कक्षाका भाइबहिनीलाई ट्युसन पढाउने गर्थिन् । विकले ६/७ कक्षादेखिनै आफूलाई चाहिने खर्च जुटाउन थालिसकेकी थिइन् । 

उनले गाउँकै प्राथमिक विद्यालयबाट आधारभुत तहको पढाई पूरा गरिन् । माध्यमिक तहको शिक्षा गाउँफर्कोदय मावि ढोरफिर्दीबाट पुरा गरिन् । त्यसपछि पृथ्वीनारायण क्याम्पसबाट उच्च शिक्षा पुरा गरिन् ।

विद्यार्थी जीवनबाटै उनमा राजनीतिक चेत थियो । २०४५ सालदेखि विद्यालयमै अनेरास्ववियू पाँचौंको सदस्य भएर उनले राजनीतिक यात्रा सुरु गरिन् । २०४९ सालमा पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटी सदस्य भइन् भने सोही वर्ष एमालेको पार्टी सदस्यता लिइन् । २०५१ मा अखिलको राष्ट्रिय परिषद् सदस्य, २०५४ मा अनेरास्ववियू राष्ट्रिय परिषद् सदस्य भइन् ।

२०५६ सालमा विहेवारी गरी तेह्रथुम पुगिन् । विवाहपश्चात पनि उनी पार्टी राजनीतिमा सक्रिय रहँदै २०६० सालमा एमाले तेह्रथुम जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघ जिल्ला कमिटी उपसचिवको जिम्मेवारी सम्हालिन् ।

२०६३ सालमा कोशी अञ्चल कमिटी सदस्य, २०६३ मा अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्जलगायत पार्टीले दिएको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा अगाडि बढाइन् । 

दशौं र एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित तथा तेह्रथुम जिल्ला इन्चार्ज हुँदै २०८२ मा प्रतिनिधिसभा निर्वाचनमा एमालेबाटबाट समानुपातिक सदस्यमा निर्वाचित भइन् ।

विवाहपछिको करिब ६ वर्ष उनले तेह्रथुमस्थित एक निजी विद्यालयमा शिक्षकका रुपमा समेत काम गरिन् । पछि शिक्षण पेशालाई छाडेर पूर्ण रुपमा राजनीतिमा सक्रिय भइन् ।

माइती शुक्लागण्डकी–९ तनहुँ र घर तेह्रथुम रहे पनि हाल उनी श्रीमान् र छोरीसँग काठमाडौंमा बसोबास गर्छिन् । 

झुपडीमा जन्मिएर अभाव, दुःख र संघर्ष पार गर्दै शिक्षा र राजनीतिक चेतनाका आधारमा देशको केन्द्रीय राजनीतिसम्म पुग्नु जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेको उनी बताउँछिन् । उनले भनिन्, ‘त्यो झुपडीमा जन्मेर पनि पढ्न सकियो, राजनीतिक चेतना आयो र त्यही चेतनाले आज यहाँ ल्यायो । त्यसमा  मेरो आमाबुबाप्रति गर्व लाग्छ ।’

उनले भनिन्, ‘प्रतिनिधिसभा सदस्य बनेर यहाँ आएको छु । अबका दिनमा मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्दो पहल गर्ने सोच छ ।’

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully