संसद्‌मा सुगठनकी खेलाडी रजनी श्रेष्ठ 

बडीबिल्डर खेलाडीका रुपमा रजनी श्रेष्ठले स्वदेश तथा विदेशमा भएका प्रतियोगितामा सहभागी भएर धेरै पदक तथा उपाधि जितेकी छन् । यही चिनारीले उनलाई संसद् प्रवेशको ढाेका खाेलिदियाे ।

चैत्र १३, २०८२

लक्ष्मी भण्डारी

Rajani Shrestha, a player of the formation in Parliament

What you should know

काठमाडौँ — महिला बडीबिल्डर खेलाडी रजनी श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसद बनाएको छ । बडीबिल्डर खेलाडीका रुपमा उनले स्वदेश तथा विदेशमा भएका प्रतियोगिताहरूमा सहभागी भएर धेरै नै पदक तथा उपाधि जितेकी छन् ।

मोरङमा जन्मिएकी रजनीको सानै उमेरमा विवाह भयो । उनको एक छोरा छन् ।

बडीबिल्डर खेलाडी बन्ने सोच उनमा रहरले पलाएको थिएन । ३० वर्षको उमेरतिर उनको स्वास्थ्यमा समस्या देखियो । उपचारका क्रममा धेरै डक्टरलाई देखाउँदा पनि निको भएन । डाक्टरहरूले क्यान्सरको शंका गरे । आफूलाई पनि अब बाँच्दिन होला जस्तो लागेको उनले सुनाइन् । उनले भनिन्, ‘यो समस्याले डिप्रेसनकै तहमा पुर्‍याएको थियो ।’ 

घरमा चिन्तित बनेकाे देखेर एक दिन श्रीमान् समिर श्रेष्ठले जिम जान सल्लाह दिएको र जिम जान थालेपछि शरीरमा देखिएका गाठागुठी हराउँदै गएको उनले बताइन् । जिम र फिटनेसले धेरै रोग निको हुने श्रीमान्‌ले  बताएपछि उनी जिम जान तयार भएकी थिइन् । जिम जान थालेपछि बिस्तारै शारीरिक रुपमा फिट भएको र त्यसपछि विभिन्न प्रतियोगितमा समेत भाग लिन थालेको सुनाइन् । 

यसैबीचमा उनी राजनीतिक र सामाजिक अभियानहरूमा जोडिँदै गइन् । उनकाे सक्रियतालाई देखेर रास्वपाले उनको समानुपातिक सांसद्को सूचीमा नाम राखेर निर्वाचन आयोगमा पठायो । निर्वाचनमा रास्वपा देशभर विजयी भएसँगै उनका लागि पनि संसद् पुग्ने ढोका खुल्यो ।

उनले राष्ट्रिय हुँदै दक्षिण एसियाली, एसियाली र विश्वस्तरका प्रतियोगिताबाट विभिन्न पदकहरू जितिसकेकी छन् । खेलप्रतिको करिब १० वर्षको लगावले उनी देश विदेशमा चिनिइन् । यही पहिचान खेल क्षेत्रमा मात्रै नभएर संसद्सम्म पुग्ने खुट्किलो बन्यो ।

रजनी महिलालाई एउटी आमा, श्रीमती, दिदीबहिनी र बुहारीका रुपमा मात्रै हेर्ने नजर सुधार हुनुपर्ने बताउँछिन् । कतिपय समाजमा छोरीचेलीलाई पुरानै संकुचित सोचले मात्रै हेर्नु मुख्य समस्या भएको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले महिलाले विश्व हाँकिसकेका छन् । हाम्रो समाजले यो बुझ्न जरुरी छ ।’

उनले नेपाली खेलाडीले भोग्दै आएका विषयलाई संसद्मा प्राथमिकताका साथ उठाउने बताइन् । उनले भनिन्, ‘नेपाली खेलाडीलाई पनि विदेशका खेलाडीले जस्तै सम्मान र खेल्ने वातावरण बनाउन भूमिका निर्वाह गर्छु । खेलाडीको बिमा र बुढेसकालका लागि केही आर्थिक सहयोग गर्न मेरो कोसिस रहनेछ । यसका लागि  भरपुर प्रयास गर्छु ।’

रजनीले पार्टीले उठाएका मुद्दा र लक्ष्यलाई मूलमत्रका रुपमा लिएकी छन् । ‘सुशासन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न पार्टीलाई साथ दिनेछु । सरकारी सेवाहरू पूर्ण रूपमा डिजिटलाइज्ड गरी पारदर्शिता सुनिश्चित गर्न आवश्यक छ ।’ यस्तै २०४६ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको छानबिनमा पार्टीले लिएको अडानमा साथ रहने बताइन् ।

उनले शिक्षा, सामाजिक सुरक्षा र आर्थिक सुधारको खाँचो समेत औल्याएकी छन् । शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रणाली लागु गर्न मेरो योगदान रहनेछ । ‘प्रत्येक नागरिकका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी आवश्यक छ । मिटर ब्याज जस्ता शोषणकारी प्रथाको अन्त्य र औसत वार्षिक प्रतिव्यक्ति आय ३०० डलरले वृद्धि गर्ने पार्टीको लक्ष्यमा साथ दिनेछु,’ उनले भनिन्, ‘अर्को गर्नैपर्ने काम भनेको रोजगारी र स्वदेशमै अवसरकाे सृजना हो ।’ विदेश पलायन घटाउन स्वदेशमै नयाँ रोजगारी सिर्जना पनि अहिलेको आवश्यकता हो । 

उनले देश विकासमा मुख्य खम्बाका रुपमा पूर्वाधार र ऊर्जा विकासलाई जोड दिएकी छन् । गुणस्तरीय सडक सञ्जाल विस्तार तथा सुलभ मूल्यमा उच्चगतिको इन्टरनेट सेवा उपलब्ध प्रयास गर्ने उनको भनाइ छ ।

यस्तै, प्रवासी नेपालीका अधिकार र सम्मानको मुद्दालाई पनि अब बन्ने सरकारले बिर्सन नहुने उनको सुझाव छ । विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार सुनिश्चित गर्नुपर्ने, उनीहरूका लागि सुरक्षित लगानीको वातावरण सिर्जना गरी सम्मानसहित स्वदेश फर्किने वातावरण निर्माणमा सरकार लाग्नु पर्ने उनको भनाइ छ ।

लक्ष्मी

Link copied successfully