धेरैलाई लाग्न सक्छ, लिमा अधिकारी अचानक राजनीतिमा आइन् । तर, उनको जग निकै पुरानो र बलियो थियो । ‘मेरो नसा–नसामा राजनीति बगेको छ भन्दा फरक पर्दैन,’ तत्कालीन नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा गर्वका साथ भन्छिन् ।
What you should know
काठमाडौँ — विराटनगरको उर्वर माटो, जहाँबाट एउटा राजनीतिक पुस्ताले सपना देख्न सिकाएको थियो लिमा अधिकारीलाई । जसले बाल्यकालदेखि नै बाको हात समातेर मोरङका गाउँ–बस्ती चहारिन् । भूमिगत राजनीतिको सकस र पारिवारिक राजनीतिक विरासतलाई नजिकबाट अनुभूत गरिन् ।
तत्कालीन नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको राजनीतिक उतारचढावकी साक्षी लिमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका रूपमा नीति निर्माणको थलोमा उभिएकी छन् ।
उनीसँग एकातिर कम्युनिस्ट आन्दोलनको गहिरो पारिवारिक पृष्ठभूमि छ भने अर्कोतिर आधुनिक व्यावसायिक र व्यवस्थापकीय कौशल । हालै मात्र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सार्वजनिक निर्देशक पदबाट राजीनामा दिएर पूर्णकालीन संसदीय भूमिकामा होमिएकी लिमाको यो यात्रालाई उनका शुभचिन्तकहरू ठान्छन्, ‘यो एउटा सांसदको पद प्राप्ति मात्र होइन, बरू एउटा निष्ठाको विरासतलाई आधुनिकतासँग जोड्ने पुल पनि हो ।’
धेरैलाई लाग्न सक्छ, लिमा अचानक राजनीतिमा आइन् । तर, उनको जग निकै पुरानो र बलियो थियो । ‘मेरो नसा–नसामा राजनीति बगेको छ भन्दा फरक पर्दैन,’ उनी गर्वका साथ भन्छिन् । २०४६/४७ सालको जनआन्दोलनपछि जब देशमा बहुदल आयो, त्यतिबेलादेखि नै उनी बुवा भरतमोहन र ठूलोबुवा मनमोहन अधिकारीहरूको चुनावी अभियानमा सँगसँगै हिँड्न थालिसकेकी थिइन् ।
पाटनका सिद्धिलाल सिंहहरूसँगका ती गोप्य मिटिङहरू, जहाँ बुवाले उनलाई कहिलेकाहीँ साथमै लैजान्थे । ती क्षणहरूले लिमालाई सत्ताको खेलभन्दा पनि राजनीतिको गहिराइ र निष्ठा मिहिन ढंगले बुझायो । स्कुले जीवन लिमाको सिद्धार्थ वनस्थलीमा बित्यो । स्कुल पढ्दै गर्दा उनी बाका राजनीतिक कामबाट प्रभावित भएकी थिइन् । भरतमोहनले २०५१ सालमा अर्थमन्त्री हुँदा ल्याएका 'आफ्नो गाउँ आफैं बनाऔं' जस्ता ऐतिहासिक कार्यक्रमको प्रत्यक्ष साक्षी थिइन् लिमा । अहिले लाग्छ, ‘त्यो बेलाको जस्तो एमाले सधैं कहाँ रह्यो र ?’ हुन त आफू पनि व्यवसायसँगै एमालेका संगठनमा बसेर काम गरिन् । तर सन्तुष्ट भइरहन सकिनन् । उनी वैकल्पिक राजनीतिको यात्रामा मोडिइन् ।
लिमाको व्यक्तित्व केवल राजनीतिक पृष्ठभूमिले मात्र बनेको छैन । उनले चीनको प्रसिद्ध 'हुवाचुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी' बाट कम्प्युटर साइन्समा ब्याचलर्स र एमबीए पूरा गरेकी छन् । चीनमा सिकेको उद्योग व्यवस्थापन र बजारीकरणको सीपलाई उनले नेपाल फर्केपछि व्यवहारमा उतारिन् ।
करिब साढे दुई दशक लामो व्यावसायिक यात्रामा उनले महिला स्वास्थ्य, वेलनेस, हाइड्रोपावर र बैंकिङ क्षेत्रमा अमूल्य अनुभव बटुलिन् । नेपाल चेम्बर अफ कमर्समा १० वर्षसम्म कार्यसमिति सदस्य र महिला चेम्बरको वरिष्ठ उपाध्यक्ष भएर काम गर्दा उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र महिला उद्यमीहरूको सशक्तीकरणलाई मुख्य एजेन्डा बनाइन् । निफ्रा र इमर्जिङ नेपालजस्ता संस्थामा साढे चार वर्ष सार्वजनिक निर्देशकको भूमिका निर्वाह गरेर उनले आफूलाई एक कुशल व्यवस्थापकका रूपमा प्रमाणित गरिसकेकी छन् ।
वैकल्पिक राजनीतिमा भने उनी रास्वपा पार्टी सभापति रवि लामिछानेको भिजनबाट आकर्षित भएको बताउँछिन् । रविको व्यक्तित्व र उनले उठाएका मुद्दाले लिमालाई प्रभावित गर्यो । लिमा रास्वपाको स्थापनाकालदेखि नै जोडिन पुगेकी हुन् ।
पार्टीमा सुरुमा उनले आर्थिक व्यवस्थापन विभाग सम्हालिन् र पछि पार्टीको 'कोषाध्यक्ष' जस्तो महत्त्वपूर्ण र प्राविधिक जिम्मेवारी पाइन् । लिमा राजनीतिमा आर्थिक पारदर्शिता हुनुपर्छ भन्ने मान्यता राख्न्छिन् । उनको दाबी छ- रास्वपा कुनै 'स्वार्थ समूह' को आर्थिक बोझमुनि छैन ।
‘हाम्रा ३ लाखभन्दा बढी सदस्य र शुभेच्छुकहरूको सानो–सानो सहयोगबाटै पार्टी चलेको छ,’ उनी भन्छिन् । पार्टी निर्माणका क्रममा नेतृत्वमाथि भएका राजनीतिक प्रतिशोध र अप्ठ्यारा समयमा उनी एक 'बलियो खम्बा' बनेर पछाडि बसिन्, जसले उनलाई पार्टीभित्र झन् विश्वासिलो पात्र बनायो ।
समानुपातिक सांसदका रूपमा संसद् प्रवेश गरेकी लिमाको अबको बाटो स्पष्ट छ- सामाजिक न्यायसहितको उदार अर्थतन्त्र । नेपालमा रहेका 'पोलिसी ग्याप' पुर्नु नै उनको मुख्य लक्ष्य हो । वातावरण कानुन र विकासबीचको सन्तुलन मिलाउनेदेखि लिएर अनावश्यक कानुन हटाउने र आवश्यक कानुन निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उनी बताउँछिन् ।
‘मेरो वर्षौंसम्मको उद्योग र व्यावसायिक अनुभवलाई अब देशको नीति निर्माणमा लगाउने संकल्प छ,’ उनी दृढताका साथ भनिन् । उसो त भरतमोहन अधिकारी स्मृति फाउन्डेसनमार्फत ज्येष्ठ नागरिक र महिलाहरूको हकमा काम गरिरहेकी लिमाले सामाजिक सेवा र राजनीतिको तालमेललाई सुन्दर ढंगले अगाडि बढाउने प्रयास गरिरहेकी छन् ।
लिमालाई बाहरूले सिञ्चन गरेर निर्माण गरेको पार्टीसँग ठूलो असन्तुष्टि छ । किनकि, पछिल्लो नेतृत्वले त्यसलाई भताभुंग बनाएको आरोप छ उनको । उनलाई लाग्छ, ‘अहिलेका कम्युनिस्ट नेताहरू 'कमाउने' मोहमा जनताप्रति उत्तरदायी बनेनन् ।’ तर, उनी आफ्नो बुवा र ठूलोबुवाहरूको निष्ठाको विरासतलाई मर्न नदिने प्रतिज्ञा गर्छिन् । ‘म त्यो निष्ठालाई सधैं जोगाइ रहनेछु,’ उनको वाचा छ ।
