व्यवसायबाट राजनीतिमा फड्को मारेकी प्रमिला कुलुजु

व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी प्रमिला कुलुजु राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी छन्, उनको प्राथमिकता महिला सशक्तीकरण हो।

चैत्र २०, २०८२

प्रकृति दाहाल

Pramila Kuluzu, who made the leap from business to politics

What you should know

काठमाडौँ — उद्यमशीलताको बाटो हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने नयाँ पुस्ताका प्रतिनिधि हुन् - प्रमिला कुलुजु । व्यवसायिक अनुभव समेटेकी उनले अब नीति निर्माण तहसम्म आइपुगेकी छन् । साथै उनी अहिले संसद् प्रवेश गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै समानुपातिक प्रणालीबाट उनी सांसद बनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनादेखि नै संगठनमा आबद्ध भएकी कुलुजुको लामो राजनीतिक यात्रा छैन । उनी कुनै राजनीतिक पृष्ठभूमिबाट पनि आएकी होइनन् । देशको अवस्था नजिकबाट बुझ्दै सुधारका लागि प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न हुनुपर्ने सोच आएकाले उनी यस पार्टीमा आबद्ध भएको बताइन् । राजनीति प्रवेश गर्ने योजनाबारे उनले भनिन्, ‘देश सुधार्न नयाँ पुस्ता अघि बढ्नुपर्छ भन्ने लागेर राजनीतिमा आएको हुँ । राजनीति मार्फत नै समाज र देश सुधार्न सकिन्छ भनेर राजनीतिमा प्रवेश गरेँ ।’

उनी पार्टीको संस्थापन केन्द्रीय सदस्यसहित रास्वपाको महिला विभागकी उपप्रमुख तथा संस्थापक केन्द्रीय सदस्य हुन् । पछिल्लो निर्वाचनमा पार्टीले पाएको उल्लेखनीय मतलाई उनी उत्साहसँगै चुनौतीका रूपमा लिएकी छन् । ‘जनताले पार्टीले केही गर्छ भनेर मत दिएका छन्, त्यो अपेक्षा पूरा गर्नु नै सबैभन्दा ठूलो जिम्मेवारी हो, तर चुनौती पनि उत्तिकै छ,’ उनले भनिन् ।

भक्तपुरको कमलविनायककी उनी आदिवासी समुदायको प्रतिनिधित्व गर्दै संसद्मा पुगेकी हुन् । संसद्मा पुग्दा आफ्नो राजनीतिक यात्रालाई समावेशी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको बताइन् । राजनीतिसँगै व्यवसायमा पनि क्रियाशील कुलुजु कपडा व्यवसाय गर्छिन् । उनले ह्यान्डमेड कपडा उत्पादनदेखि ह्यान्डिक्राफ्टको काम गर्दै आएकी छन् । उनी ब्युटिसियन पनि हुन् ।

महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै रोजगारी सिर्जना गर्ने काममा उनको अग्रसरता छ । महिलाहरूलाई रोजगारी दिने मुख्य उद्देश्य रहेको बताउँदै उनले भनिन्, ‘महिलालाई आत्मनिर्भर बनाउनु मेरो प्राथमिकता हो । आर्थिक सशक्तीकरणमा महिलालाई अगाडि बढाउनु छ ।’

उनको प्रमुख एजेण्डामध्ये महिलालाई रोजगारीका अवसर उपलब्ध गराउने, सीप विकासमार्फत आत्मनिर्भर बनाउने र स्थानीय कला–संस्कृतिको संरक्षण गर्नु रहेका छन् । भक्तपुरको मौलिक कला र संस्कृतिको जगेर्नामा उनले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन् ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully