सामान्य परिवारमा जन्मेकी खिमा छोटो समयमा राजनीतिमा प्रवेश गरी संसद्मा समेत प्रधिनिधित्व गर्ने भएपछि सबै अचम्मित परेका छन् । पार्टी सदस्य भएको पाँच महिनामै उनी सांसद् भएकी छिन् ।
What you should know
दाङ — भदौ २३ गते जेनजी विद्रोह हुँदा खिमा विक भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा काम गर्दै थिइन् । दिनभर भएका घटनाले उनलाई राती निदाउन दिएन । भोलिपल्ट थप आन्दोलनको तयारी भैरहेको थियो । स्वास्थ्यकर्मीको सहायता आवश्यक पर्न सक्ने ठानेर उनी लगायत धेरै स्वास्थ्यकर्मी अस्पतालमा तयारी अवस्थामा बसे । भैरहवामा त्यति ठूला मानवीय क्षति हुने घटना भएनन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलन एवं प्रदर्शनपछि अन्तरिम सरकार बन्यो । एकाएक राजनीतिमा परिवर्तन देखियो । लामो समयदेखि देशभरका नर्सहरू आन्दोलित थिए । आफ्नो अधिकारका सवाल उठाउँदा पनि सरकारले सुनेन । ‘हामीले ठूलो कुरा केही मागेका थिएनौं,’ उनले भनिन्,‘सरकारले निर्णय गरेका कुराहरू नै कार्यान्वयन गर्न माग गरेका थियौं तर सरकरले पूरा गर्न खोजेन ।’
उक्त घटनाले खिमालाई अलि गम्भीर रुपमा सोच्न बाध्य बनायो । नर्सिङ अधिकारका लागि सडकमा आइसकेको मान्छे भोलि संसद्मा गएर आवाज उठाउने बन्न किन सकिँदैन होला र ? यही कुराले उनको सोच एकाएक राजनीतितर्फ केन्द्रित थियो । त्यसअघि उनलाई राजनीतिक कुरा खासै थाहा थिएन, कुनै चासो पनि थिएन ।
यति सोचेपछि उनको मनमा कुनै राजनीतिक दलसँग जोडिएर कानुन निर्माण र कार्यान्वयन तहमा भूमिका खेल्ने इच्छा जाग्यो । उपयुक्त दल छनोट गर्नुपर्ने चुनौती उनीसामु थियो । ‘पुराना दलमा अवसर पाउने र आफ्ना कुराको सुनुवाइ हुने सम्भावना देखिनँ,’ उनले भनिन्, ‘त्यसको विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी नै उपयुक्त मञ्च थियो ।’
रास्वपा नयाँ युवाको आवाज बोकेर आइरहेको जस्तो उनलाई लाग्यो । त्यसपछि कार्तिकमा अनलाइनबाट सदस्यता लिइन् । त्यसपछि निर्वाचनका लागि आकांक्षी उम्मेदवारको फारम भर्ने सूचना आयो । उनलाई पनि त्यसमा सहभागी हुन मन लाग्यो । समानुपातिक उम्मेदवार बन्न ५० हजार रुपयाँ शुल्क थियो । सबै पैसा उनीसँग थिएन । उनले श्रीमान्सँग मागेर थपथाप गरिन् र अनलाइन फारम भरिन् ।
उम्मेदवार हुन चाहनेका लागि आफू को हो र किन सांसद् बन्न खोजेको भन्ने प्रस्तुति दिनुपर्ने थियो । उनी त्यसमा सहभागी भइन् । केही घरदैलो कार्यक्रममा सहभागी भइन् । अन्तमा काठमाडौंमा प्रस्तुति थियो, त्यहाँ पनि आफ्नो प्रस्तुति राखिन् । अन्तमा आन्तरिक मतदान भयो । देशभरका पार्टी सदस्यहरूबाट ९ हजार ८ सय ३५ मत प्राप्त गर्दै उनी बन्दसूचीमा दलित क्लष्टरबाट सात नम्बरमा पर्न सफल भइन् ।
नाम पछाडितिरै भएकाले सांसद् भैहाल्ने कुराको ग्यारेण्टी थिएन । पार्टीले कति मत ल्याउँछ, केही थाहा थिएन । तैपनि उनी केही समय चुनावका लागि होमिने विचार गरिन् । केही महिनाका लागि अस्पतालबाट बिदा लिने निर्णय गरिन् । पुसको अन्त्यतिर अस्पतालबाट चुनावका लागि निस्किन् । ‘म छोडेर निस्केको थिइनँ । फेरि काममा फर्कने गरी लामो बिदामा निस्केकी थिएँ,’ उनले भनिन्,‘मलाई फेरि पनि काममा फर्कनुपर्छ होला नै भन्ने लागेको थियो । अझै पनि अब काममा आउँदिनँ भनेर कुरा हुन पाएको छैन ।’
निर्वाचनमा पार्टीले राम्रै मत प्राप्त गरेपछि २७ वर्षीया खिमा रास्वपाको दलित क्लष्टरबाट समानुपातिक सांसद् भएकी छिन् । अब अस्पतालसँग कुरा गरेर आधिकारिक बिदा हुने योजना रहेको उनले बताइन् । दंगीशरण–२ कलङखोला जन्मेकी खिमाले गत मंसिरमा स्वर्गद्वारी नगरपालिका–३, बाटुले, प्यूठानका पवन सुनारसँग विवाह गरिन् । सुनार प्रहरीको असई छन् ।
उनी राजनीतिमा लागेको कुरा श्रीमान्लाई मात्रै थाहा थियो । आमाबुवालाई उनले केही पनि भनेकी थिइनन् । ‘राजनीति हामीले गर्ने काम होइन भन्ने बुझाइ थियो । त्यही भएर मैले सुरुमा भनिनँ,’ उनले भनिन्,‘निर्वाचनमा होमिएपछि मात्रै थाहा दिएँ ।’ उनी निर्वाचनमा आफ्नै क्षेत्र दाङ–३ मा खटिइन् । प्रत्यक्ष उम्मेदवार कमल सुवेदीलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेर निर्वाचन अवधिभर गाउँगाउँमा खटेको उनले बताइन् ।
अन्तमा निर्वाचनको परिणाम राम्रो आएपछि उनलाई सन्तुष्टि मिल्यो । निर्वाचनअघि प्यूठान घर गएका बेला भिरालो बाटो हिँड्ने क्रममा उनको खुट्टा मर्कियो । केही समय खुट्टाले दुःख दियो तैपनि उनी खुट्टाको दुखाइलाई बेवास्ता गर्दै निर्वाचनमा खटिरहिन् ।
उनले मावि सेन्टर तुलसीपुरमा कक्षा १ मा भर्ना भएर पढाइ सुरु गरेकी थिइन् । ६ कक्षासम्म गाउँकै ज्ञानोदय बोर्डिङ स्कुलमा पढिन् । त्यसपछि फेरि तुलसीपुर फर्केर ७ देखि १० कक्षासम्म ग्रेट अरनिको माविमा पढिन् । २०७३ मा त्यहीँबाट एसएलसी पास गरिन् ।
उनले लर्डबुद्ध नर्सिङ कलेज कोहलपुर बाँकेमा नर्सिङ पढिन् । सन् २०२० मा नर्सिङ सकेपछि केही समय विभिन्न अस्पतालमा काम गरिन् । काम गर्दागर्दै उनलाई विदेश जाने रहर लाग्यो । कन्सल्टेन्सीले नर्सको लाइसेन्सबिना पनि काममा जान मिल्छ भनेपछि उनले विश्वास गरिन् । साढे ५ लाख खर्च गरेर भिजिट भिसामा दुबई गइन् । दुबईमा भनेजस्तो काम भएन, समयमा तलब पाइएन, अनेक झमेला हुन थाल्यो । त्यसपछि उनी ६० दिनमै नेपाल फर्किइन् ।
‘विदेश गएपछि झन् धेरै नेपालको माया लाग्यो । अब नेपालमै फर्केर काम गर्छु भन्ने भयो, अनि नेपाल आएँ,’ उनले भनिन्,‘एक वर्षअघि नेपाल फर्केर भैरहवाको अस्पतालमा काम गर्न सुरु गरें ।’ स्वास्थ्य क्षेत्रमै काम गर्ने योजनाका साथ उनी जागिरमा जोडिएकी थिइन् । ‘चुनावको नतिजा आउँदासम्म पनि काममा फर्कन्छु भन्ने थियो,’ उनले भनिन्,‘सांसद् भैहाल्छु भन्ने थिएन, सकेको योगदान गर्छु, नभए काममै फर्कन्छु भन्नेमा ढुक्क थिएँ ।’
सामान्य परिवारमा जन्मेकी खिमा छोटो समयमा राजनीतिमा प्रवेश गरी संसद्मा समेत प्रधिनिधित्व गर्ने भएपछि सबै अचम्मित परेका छन् । पार्टी सदस्य भएको पाँच महिनामै उनी सांसद् भएकी छिन् । बुवा अवकाश प्राप्त प्रहरी हवल्दार हुन् भने आमा गृहिणी ।
उनी घरकी जेठी छोरी हुन् । भाइ कृषि पढेर इजरायल गएका छन् भने बहिनी फार्मेसी पढिरहेकी छिन् । अस्पतालबाट सिधै संसद् प्रवेश गर्दाको क्षण उनका लागि पनि आश्चर्यजनक नै छ । अब देशका लागि नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको चाहना छ । ‘सडकबाट सदनमा जाने मेरो चाहना पूरा भएको छ,’ उनले भनिन्, ‘अब पार्टीको योजना र नीति अनुसार देशका लागि योगदान गर्छु ।’
