व्यक्तिगत संघर्ष र सामाजिक विभेद पार गर्दै सरिता महतो अटिजम, महिला अधिकार र समावेशी शिक्षाका मुद्दा लिएर संसद्मा पुगेकी छन्।
What you should know
काठमाडौं — जीवनले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ कुनै योजना, तयारी बिना नै नयाँ जिम्मेवारी सम्हाल्नुपर्छ । सरिता महतोलाई सांसद्को जिम्मेवारी एउटा अप्रत्याशित उपलब्धि हो । उनले यसअघि कहिल्यै राजनीति गरेकी थिइनन्, न त भविष्यमा गर्ने योजना नै थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मधेशी महिलाको प्रतिनिधित्व गर्दै समानुपातिक क्लस्टरबाट उनको नाम सिफारिस भएर सांसद् बनेकी छन् । उनले भनिन्, ‘म राजनीतिबाट टाढा थिएँ । बच्चाको हुर्काइ र पढाइमै संघर्ष गर्दै थिए प्रस्ताव आयो, हुन्छ भने र आज संसद्मा छु ।’
उनको संसद् यात्रा योजनाविहीन भए पनि एजेण्डा स्पष्ट छन् । उनले आफूले भोगेका पीडा र देखेका समस्यालाई नीतिगत रूपमा समाधान गर्ने लक्ष्य लिएकी छन् । हरेक जिल्लामा समावेशी विद्यालय स्थापना, अटिजम भएका बालबालिकाको अधिकार सुनिश्चित, महिला अधिकारको संरक्षण, र घरायसी काममा सीमित महिलालाई रोजगारीतर्फ उन्मुख गराउने न मुख्य एजेण्डा हुन् ।
उनले भनिन्,‘अटिजम भएका बालबालिकालाई शिक्षाबाट बञ्चित हुनुहुँदैन, राज्यले जिम्मेवारी लिनुपर्छ । हरेक जिल्लामा समावेशी विद्यालय खोलिनुपर्छ ।’ उनले महिला सशक्तीकरणलाई पनि एजेन्डाको केन्द्रमा राखेकी छन् । मधेशी समुदायमा महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध कानुनी र सामाजिक रूपमा लड्ने उनको प्रतिबद्धता छ ।
सर्लाहीमा जन्मिइन् सरिता । त्यहीँबाट उनले एसएलसी पूरा गरिन् । उच्च शिक्षाका लागि उनी काठमाडौं आइन् र सीसीआरसी क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरबाट विज्ञान विषयमा प्लस टु गरिन् । त्यसपछि भारतमा गएर उनले बीएचए र एमबीए अध्ययन पूरा गरिन् । उनी विवाहपछि विराटनगर पुगिन् । उनका श्रीमान् न्यूरोसर्जन थिए, तर अचानक उनको मृत्यु भयो ।
३ वर्ष अगाडि श्रीमान्को निधन पश्चात भने उनले धेरै आरोहअवरोह भोगिन् । श्रीमानको मृत्यु भएको १३ दिनको काम गरेपश्चात उनी घरबाट निकालिइन् । त्यसबेला छोरा मात्र चार वर्षको थियो न बोल्न सक्ने, न अन्य हाउभाउ देखाउने । ४ वर्षको छोरासहित घरबारविहीन बन्न पुगेको बताउँदै उनले भनिन्,‘त्योबेला म सँग न घर थियो, न सहारा । श्रीमान् गुमाएको पीडा एकातिर, अर्कोतिर काखमा सानो बच्चा जुन अवस्थ्य थियो ।’
मधेशी समाजमा विद्यमान सामाजिक सोचका कारण घरबाट निस्कनु परेको उनले बताइन् । मधेशमा श्रीमान्को मृत्यु भएपछि महिलालाई परिवारबाट निकाल्ने प्रवृत्तिको सिकार आफु पनि भएको उनले बताइन् । माइतीको सहयोगमा उनी अगााडि बढ्न थालिन् । माइतीको सहयोग रहेको बताउँदै उनले भनिन्,‘श्रीमान्को घरबाट निकालेपश्चात माइतीले नहेर्ने अवस्था पनि छ तर म भाग्यमानी थिए माइतीको साथ सहयोग पाइरहे ।’
छोराको उमेर बढ्दै गए पनि उसको वृत्तिविकासमा कमजेर थियो । छोराले न बोल्ने, न सामान्य व्यवहार देखाउने भएपछि उनी चिन्तित भइन् । उपचारका लागि उनी काठमाडौं आइन्, उपचार पश्चात उनलाई थाहा भयो छोरामा अटिजम रहेछ ।
तीन वर्षको उमेरमा आफ्नो छोरामा अटिजम भएको थाहा पाएपछि सरिता महतोको बाटो नै फरक भइदियो । छोराको अवस्था थाहा पाएपछि उनी अटिजम क्षेत्रका बालबालिकाको विकास र अधिकारका लागि समर्पित हुन पुगिन् ।
त्यसपछि सुरु भयो अर्को संघर्ष । अटिजम भएको बालबालिकाको पालनपोषण, शिक्षामा समस्या थपिएको थियो । छोरालाई पढाउन विभिन्न विद्यालय र थेरापी सेन्टर खोज्न थालिन् । विद्यालयले लिनै मानेनन् । छोरा पढाउन गरेको संघर्ष बताउँदै उनले भनिन्, ‘धेरै विद्यालय र थेरापी सेन्टर धाए राख्न मानेननन् थेरापी सेन्टर अत्यन्त महँगो थियो जुन मैले खर्च गनै सक्दिनथे ।’
व्यक्तिगत पीडा सहदै उनी सामाजिक अभियानतर्फ मोडिइन् । यो समस्या आफ्नो मात्र नभई हजारौं अभिभावकको साझा पीडा भएको महशुष पश्चात अटिजम भएका बालबालिकाको अधिकार, शिक्षा र समावेशीताका लागि आवाज उठाउन थालिन् ।
काठमाडौं महानगरपालिकामा सिटी भोलिन्टियरका रूपमा काम गर्ने अवसर मिल्यो । बालबालिका तथा वातावरणसम्बन्धी परियोजनामा काम गर्न थालिन् । सिनामंगलस्थित सुस्त मनस्थिति तथा पारिवारिक सरसल्लाह केन्द्रमा प्रशासनिक जिम्मेवारी सम्हाल्दै उनले अटिजम भएका बालबालिका र उनीहरूका परिवारका समस्या नजिकबाट बुझ्ने अवसर पाइन् । ६ महिनाको अनुभवले उनलाई अझ स्पष्ट बनायो समस्या उपचार वा शिक्षामा मात्र होइन सामाजिक सोचमा रहको उनले बताइन् । उनले भनिन्, ‘समाजमा अटिजमलाई अझै पनि कलंकको रूपमा हेरिन्छ धेरै अभिभावक बच्चालाई लुकाउन बाध्य छन् ।’
परियोजना सकिएपछि पनि उनी महानगरसँग आवद्ध रहिन् । स्वयंसेवकका रूपमा काम गर्दै उनले समावेशी शिक्षाको वकालत गर्न थालिन् । हरेक विद्यालय समावेशी हुनुपर्छ, अटिजम भएका बालबालिकालाई छुट्टै होइन, समान रूपमा अवसर दिनुपर्छ भन्ने विषयमा उनको जोड थियो । अटिजम भएका विद्यार्थीका लागि सरकारी विद्यालय सञ्चालन गर्नमा धेरै चुनौती पनि उनले देखेकी छन् । आवश्यक जनशक्ति अभाव, पूर्वाधारको कमी, शिक्षकमा प्रशिक्षणको अभाव, र सामाजिक चेतनाको कमी मुख्य चुनौती उनले औंल्याइन् ।
