तीन दशकपछि दोस्रो संसदीय यात्रामा बराल

हरेक हारलाई सहजै लिने स्वभावका उनी यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार भई विजयी भएका छन् । यो उनको दोस्रो संसदीय यात्रा हो ।

चैत्र २८, २०८२

गंगा बीसी

Baral on his second parliamentary tour after three decades

What you should know

काठमाडौँ — एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यालनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुप्रसाद बराल पराजित भए । ओली प्यालनबाट अधिकांश नेताहरुले चुनाव जित्दा उनी उपाध्यक्ष र केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

हरेक हारलाई सहजै लिने स्वभावका उनी यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार भई विजयी भएका छन् । यो उनको दोस्रो संसदीय यात्रा हो । 

२०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो । नेपालको राजनीतिक इतिहासमा कम्युनिस्टले जितेको त्यो निर्वाचनमा बराल पहिलो पटक सांसद भएका थिए । ०५१ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका उम्मेदवार सत्यनारायण चौधरीलाई पराजित गरी बराल विजयी भएका थिए । त्यसपछि ०५६ मा मोरङ–६, ०६४ को संविधानसभामा मोरङ–४ र ०७० मा मोरङ–३ बाट उम्मेदवार भएका उनी पराजित हुँदै आएका छन् । निरन्तर हार ब्यहोर्दै आएका उनलाई ०७८ मा एमालेले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको थियो । कांग्रेसका गोपाल बस्नेतसँग बराबरी मत ल्याएपछि भएको गोलाप्रथा प्रक्रियामा उनी पराजित भए ।

ओली निकट भएकै कारण उनी ११औं महाधिवेशनअघि उपाध्यक्षमा मनोनीत भएका थिए । त्यसपछि एमालेले उनलाई समानुपातिकतर्फ खस-आर्य समूहबाट एक नम्बर सूचीमा राखियो । एमालेले फागुनको निर्वाचनमा ठूलो हार खाएकै बेला बराल समानुपातिक सांसद बन्ने अवसर पाएका छन् ।उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि ०८१ साउनमा बराल उपाध्यक्षमा मनोनीत भएका थिए । 

२०१४ असार १४ मा ताप्लेजुङ फाक्तालुङ गाउँपालिका–२ (साविक खेजेनिम–५) तमा जन्मिएका थिए । हाल विराटनगर १२ मा बस्दै आएका छ । उनले ०४० देखि ०४५ सम्म भगवती मावि बेलबारी मोरङमा पढाएका थिए ।

पार्टी राजनीतिमा आउनुअघि उनी किसान आन्दोलनमा जोडिएको उनका सहकर्मी नेता केशव बडालले बताए । ‘देशमा बहुदल आइसकेपछि हामी किसान आन्दोलनमा जोडिएका थियौ । ०४७ सालमा राष्ट्रिय सम्मलेनमा महासचिव हुँदा किसान संघको उहाँ केन्द्रीय सदस्य हुनुभयो’ उनले भने, ‘मोरङमा एमालेको संगठन बनाउन गुरुको उल्लेख भूमिका छ । ०५१ आभारभूत रुपमा पार्टी निर्माण गर्ने सवालमा म मोरङमा खटेको थिएँ । दुई महिना सँगसँगै काम गर्‍यौ ।’

हार र जितमा धैर्यताका साथ काम गर्ने नेताका रुपमा बराललाई चिनेको नेता केशव बडालको भनाइ छ । ‘निरन्तरता र धैर्यता गर्न सक्ने गुरुजीको मुख्य विशेषता हो,’ उनले एमालेले बहुदलीय जनवाद सिद्धान्त अघि सार्दा एक अभियन्ताको रुपमा बराल अघि सरे, ‘जबज अघि बढाउने सवालमा मदन भण्डारी, ईश्वर पोखरेल, प्रदीप नेपाल, मलगायत गुरु बराल सँगै थियौं ।’

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बराल पार्टी संगठन निर्माणमा राम्रो दख्खल राख्ने नेता भएको बताए । पार्टी पटक-पटक सरकारमा गए पनि बराल पार्टी कामबाहेक नियुक्तिमा जान चाहेनन् । ‘अहिले समानुपातिक सूचीबाट सांसद हुनुहुन्छ । पार्टीभित्र शालिन र निष्ठावान नेता हो । संगठनमा जोड दिने नेता हो,’ उनले भने, ‘अहिले पनि पार्टीले खटाएको जिम्मेवारीमा निरन्तर हुनुहुन्छ ।’

समानुपातिक सांसदका लागि खस-आर्य क्लस्टरबाट एक नम्बरमा सिफारिस भएका बरालको काँधमा सशक्त प्रतिपक्षको भूमिका निभाउने जिम्मेवारी छ । भन्छन्, ‘हालसम्म निरन्तर रुपमा जनता र समाजसेवामा कार्यरत रहेको छु । मेरो सक्रियता राजनीति सँगसँगै विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि रहेको छ । सामाजिक संघसंस्थाहरुमा रहेर कृषि, प्राविधिक शिक्षा र सीप विकास, गुणस्तरीय शिक्षाको विकासजस्ता अभियानमार्फत समुदायको विकासमा क्रियाशील रहेको छु,’ उनले भने, ‘मुख्य रुपमा प्रतिनिधिसभामा रहेर नेपाल सरकारको कृषि, प्राविधिक शिक्षा र सीप विकासका साथै गुणस्तरीय शिक्षाको क्षेत्रमा नीति निर्माणमा योगदान पुर्‍याउनु मुख्य भुमिका रहनेछ ।’

बराल २०८० देखि २०८२ केन्द्रीय उपाध्यक्ष, २०७४ देखि २०८० स्थायी कमिटी सदस्य, २०७० संगठन विभाग सदस्य, २०५० कोशी अञ्चल इन्चार्ज, २०४९ केन्द्रीय कमिटी सदस्य, २०४५ सचिव नेपाल कम्युनिष्ट पार्टी (माले) संखुवासभा, २०४५ इन्चार्ज (माले) तेह्रथुम,  २०४४ सचिव (माले) मोरङ र २०३३ कम्युनिष्ट संगठनमा सामेल पूर्वको रातो झन्डामा संलग्न थिए ।

महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियन २०३१ सदस्य, २०२९ स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएका थिए ।

त्यस्तै उनी उपाध्यक्ष मदन भण्डारी फाउण्डेशन नेपाल, प्रवर्द्धक तथा सदस्य मनमोहन पोलिटेक्नीक्स, बुढीगंगा, मोरङ र प्रवर्द्धक सदस्य मदन भण्डारी औद्योगिक विश्वविद्यालयमा रहेर काम गरेका थिए ।

गंगा

Link copied successfully